प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मदन जयन्तीका अवसरमा काठमाडौंमा दिएको मन्तव्य अनेक अर्थले चर्चायोग्य रह्यो।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्ने कार्यक्रम भएकाले नेकपा (एमाले) का नेता कार्यकर्ताले ७४ औं मदनजयन्तीलाई उत्सुकतापूर्वक हेर्नु स्वाभाविकै भइहाल्यो।
प्रत्युत्पन्नमतिका धनी एमाले अध्यक्षसमेत रहेका ओलीले के बोल्छन् भन्ने चासो पनि उत्तिकै सान्दर्भिक थियो।
किनभने आठौं महाधिवेशनपछि एकै कित्तामा उभिएर एकार्कालाई पार्टी र राजकीय सत्ताको शिखरमा पुर्याउन सहयोगी भूमिका निर्वाह गरेका ओली र भण्डारी कित्ताकाट गरेरै जाने हुन् कि भन्ने आशंका एमालेवृत्तमा व्याप्त थियो।
त्यसकारण पनि सभागृहमा एमाले कार्यकर्ताको घुइँचो बढेको स्पष्टै देखिन्थ्यो।
सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले मदन पनि लाञ्छनामुक्त नरहेको भन्दै पुराना कुरा कोट्याए। समयक्रममा पार्टी नेतृत्वले अनेक लाञ्छना र झूट व्यहोर्नुपर्ने भन्दै आफूमाथि अहिले उठाइराखिएको प्रश्नहरूको सामान्यीकरण गर्न खोजे।
एमालेले अवलम्बन गर्दै आएको जनताको बहुदलीय जनवादका प्रणेता मानिएका मदन भण्डारीमाथि २०४६ सालपछि महासचिवका रूपमा आउँदा फुत्त दुलाबाट बाहिर निस्किएर राजनीतिका मूल प्रवाहमा आएको भन्ने गरिएकोबाट उनले प्रसंग सुरू गरेका थिए।
त्यसपछि प्रधानमन्त्री ओलीले मदन भण्डारीविरूद्ध चारवटी श्रीमती विवाह गरेको र सहकारी ठगेर हिँडेको भन्नेसम्मको झूटा लाञ्छना लगाइएको प्रसंगसमेत कोट्टयाएका थिए।
नेपाली राजनीतिका अनुज पुस्ताले कतै नपढेको र थाहासमेत नपाएको विषय प्रधानमन्त्रीले किन उप्काए होलान् भनेर एमाले कार्यकर्ताको मनमा अहिले खुल्दुली मच्चिएको छ।
‘एमाले निकै अप्ठ्याराहरूसँग जुध्यो। यसमाथि हमला, निन्दा, यसको विरोध, यसका नेताहरूको विरोध भइरह्यो। उसबेला पनि मदन भण्डारीलाई भनेकै हो–फुत्त दुलाबाट निस्किएर नेता हुन पाइन्छ? भनेकै हो। मदन भण्डारी फुत्त दुलाबाट निस्किएर नेता हुनुभएको थिएन। भूमिगत काम गरेको धेरै भएको थियो,’ उनले यसो भन्दै पुराना कुरा कोट्याउन थालेका थिए।
उनले अगाडि भने, ‘मदन भण्डारीका सन्दर्भमा धेरै लाञ्छना लगाइए, चरित्र हत्या गरिए। चारवटी कि कतिवटा श्रीमती छन् भनेर आरोप लगाइयो। यस्तो कुराहरू पनि बोलियो। यसको प्रमाण कसले खोज्न जाने होला? बोलियो! बोलियो अनेक दुर्वाच्य! अनेक बोलियो! सहकारीमा ठगेर हिँडेको आदि इत्यादि भनेर आरोप लगाइयो! सहकारीको ठग भनेर! कुनै आधार, साइनो, सम्पर्क केही पनि थिएन। कुनै सम्पर्क सम्बन्ध नभएका विषयमा शतप्रतिशत झूट, लाञ्छनाहरू लगाइए।’
अध्यक्ष ओलीले केही सिलसिला त त्यसपछि पनि चलेको बताए।
‘अनेक सिलसिला चले? हामीले त्यसको सामना गर्दै गयौं। पार्टीमाथि असाधारण हमला भयो। त्यसको सामना गर्यौं,’ उनले भने।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आयोजित जबजको तीन दशक विषयक गोष्ठीबाट एमालेमा दुई कार्यकाल उपाध्यक्ष भइसकेकी विद्यादेवी भण्डारीले आफू पार्टीमा फर्किएको घोषणा गरेकी थिइन्।
नवौं महाधिवेशनपछि एकछत्र पार्टी चलाउँदै आएका ओलीको विद्याको आगमनसँगै स्वीकार्यताको दायरा साँघुरिने नै छ। आफूलाई निर्विकल्प नेताका रूपमा प्रस्तुत गरिरहेका ओलीलाई भण्डारीले चुनौती दिइरहँदा असुरक्षित महसुस गर्न थालेका हुनसक्छन्।
त्यसकारण पनि ओलीले मदनबारेका पुराना कुरा कोट्याएको हुनसक्ने एमालेका कतिपय नेताहरूको बुझाइ छ।
यो पनिः विद्या भण्डारीलाई छेउमा राखेर ईश्वर पोखरेलले खोलेको 'फायर'