नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
बुधबार बसेको एमालेको ५३ औं सचिवालय बैठकको निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको बताए।
उनका अनुसार साउन २ गते पोलिटब्युरो बैठक बोलाउने निर्णय छ।
'पोलिटब्युरो बैठकमा भदौमा हुने विधान अधिवेशनबारे छलफल हुनेछ,' उनले भने, 'विधान अधिवेशनमा तीनवटा प्रस्ताव प्रस्तुत गर्ने निर्णय भएको छ। प्रस्तावहरू अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले गर्नेछन्।'
ओलीले राजनीतिक प्रस्ताव, पौडेलले विधान संशोधन र पोखरेलले संगठनात्मक प्रस्ताव पेस गर्नेछन्।
त्यस्तै सचिवालय बैठकले राप्रपा र रास्वपालाई संसदमा अनावश्यक व्यवहार प्रदर्शन नगर्न आग्रह गर्ने निर्णय गरेको छ।