विशेष अदालतको ६ न्यायाधीश सम्मिलित इजलासले अदालतको अवहेलना मुद्दामा दृष्टि मिडियाका प्रकाशक, सम्पादक र संवाददातालाई बयानका लागि उपस्थित हुन आदेश दिएको छ।
मंगलबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले बयानका लागि बोलाएको हो।
अदालतले विपक्षी प्रकाशक शम्भुलाल श्रेष्ठ, सम्पादक एमपी सुब्बा र समाचारका संवाददातालाई आफै अदालतमा उपस्थित भएर बयान दिन आदेश जारी गरेको हो।
गत असार ८ गते दृष्टि साप्ताहिकले ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकासित गरेको थियो।
उक्त समाचारविरूद्ध नवराज सापकोटासहितले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए। अदालतले कम्पनीको हकमा प्रतिनिधिमार्फत जवाफ पेस गर्न र अन्य तीन जनालाई बयानका लागि तीन दिनभित्र उपस्थित हुन आदेश दिएको हो।
मुद्दामा सुनुवाइ गर्दै अदालतले ‘यसमा के कसो भएको हो? निवेदन/प्रतिवेदन माग बमोजिम यस अदालतको अवहेलनामा किन कारबाही र सजाय हुनु नपर्ने हो? यस अदालतको अवहेलनामा कारबाही र सजाय हुनु नपर्ने भए सोको आधार कारण र प्रमाणसहित यो आदेश र समाह्वान म्याद प्राप्त भएको मिति समयबाट बाटोको म्यादबाहेक तीन दिनभित्र र सो म्याद थाम्न थमाउन समेत नपाउने गरी दृष्टि मिडिया प्रालिको हकमा कानुन बमोजिमको प्रतिनिधि र विपक्षीहरू शम्भुलाल श्रेष्ठ, एमपी सुब्बा तथा सम्बन्धित समाचारको संवाददाताको हकमा आफैं यस अदालत समक्ष बयान गर्न उपस्थित हुनू।’
यस्तै अदालतले अर्को आदेश जारी नभएसम्म उक्त समाचार नहटाउन र कुनै पनि स्वरूप परिवर्तन नगर्न आदेश दिएको हो।
‘प्रकाशित र प्रसारित गरिएको समाचार सामग्री जे जुन अवस्थामा छ, सोही अवस्थामा राख्नू, सो सामग्री नहटाउनू, परिवर्तन, परिमार्जन इत्यादि केही पनि नगर्नू, नगराउनू भनी विपक्षीहरूको नाममा यो आदेश जारी गरिएको छ,’आदेशमा उल्लेख छ।