राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद स्वर्णिम वाग्लेले अध्यागमन कार्यालयका कर्मचारी तीर्थराज भट्टराईको गृहमन्त्री रमेश लेखकका मर्निङ वाक गर्ने पार्टनर रहेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले छानबिनको घेरामा रहेका सहसचिव भट्टराईमाथि मर्निङ वाक गर्ने पार्टनरले छानबिन गर्न नसक्ने बताएका हुन्।
‘तीर्थराज भट्टराई त उहाँ (गृहमन्त्री रमेश लेखक) को मर्निङ वाक गर्ने पार्टनर हो, अर्केड कोलनीमा कसरी छानबिन गर्नुहुन्छ?,’ उनले प्रश्न गरे।
गृहमन्त्री लेखक हाल भैँसेपाटीस्थित मन्त्रीक्वाटरमा बस्दै आएका छन्। त्यसअघि उनी अर्केड कोलनीमा बस्थे।
भट्टराईमाथि हाल अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा छानबिन गरिरहेको छ। रास्वपाले यसमा गृहमन्त्री लेखकसम्मको संलग्नता हुनसक्ने भन्दै राजीनामा माग गरेको छ।
यस्तै सरकारले मंगलबार मन्त्रिपरिषदको बैठकमार्फत् छानबिन गर्न समिति गठन गरेको छ।
पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा ‘अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति २०८२’ बनेको छ।
रास्वपाले समितिका नेतृत्वकै पृष्ठभूमिमा शंका रहेको बताएको हो।
‘विगत १० वर्षदेखि उहाँ सत्ताको प्रिय पात्र हुनुहुन्छ। सात वर्ष परराष्ट्रको सचिव बन्नुभयो। तीन वर्ष मुख्यसचिव बन्नुभयो। र रहस्यमय ढंगबाट बहिर्गमन हुन्छ। राष्ट्रिय सुरक्षा सल्लाहकार बन्नुहुन्छ। त्यसपछि एक/दुई दिनमा निवृत्त हुन लाग्नुभएका अर्को मुख्यसचिव आउनुहुन्छ। त्यो समयमा १० औं करोड/अर्बौंको टेलिकम माफियाद्वारा रचिएका घोटालाहरू भएका छन्। त्यसैले शंकरदास बैरागी अहिलेका निगाह प्राप्त नेताहरूको गुडबुक्समा रहनुपर्ने, स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ। उहाँले यो जिम्मेवारी लिनुहुन्न,’ उनले भने।
यस्तै, उनीमाथि ‘सक्षम निकाय’ ले नै छानबिन गरिरहेको बताए।
‘सक्षम निकायको राडारमा हुनुहुन्छ। स्वयम् सक्षम राडारमा भएका व्यक्तिले कसको छानबिन गर्ने?,’ उनले सोधे।
उनले उक्त समिति स्वीकार गर्न नसकिने भन्दै संसद बहिष्कार गरी बाहिरिएको थियो। पछि संसद बाहिर आएर पनि वाग्लेले टालटुले समितिले काम गर्न नसक्ने बताएको थियो।
हाल सरकारले बनाएको समितिमा सात जना सदस्य छन्। उक्त समितिमा सहसचिवहरू अर्थ मन्त्रालयका तीर्थराज सिलवाल, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट अरूणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालय मणिरत्न शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रदिप कोइराला र गृहमन्त्रालयबाट आनन्द काफ्ले सदस्य सचिव छन्।
समितिलाई ३ महिनाको समय दिइएको छ।