नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणको छानबिन गर्न बनाइएको समितिले गम्भीर ढंगले काम गर्नुपर्ने बताएका छन्।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सरकारले बनाएको समितिले गम्भीर ढंगले छानबिन गर्नुपर्ने बताए।
‘राज्यका निकायहरूमा देखिएका समस्या, विगतदेखि वर्तमानसम्म के हुन्? कसरी हुन्? कहाँनिर यो ग्रे एरिया छ, जसले गर्दा विभिन्न अपराधहरू हुने गरेका छन्, यो कुरामा सत्य तथ्य ढंगले अध्ययन गरोस्, छानबिन गरोस्, जनताको भावनाअनुसार सुझाव तथा प्रतिवेदन प्रस्तुत गरोस्। हाम्रो अपेक्षा छ,’ उनले भने, ‘यसमा गम्भीर ढंगले छानबिन भएन र अविश्वासहरू पैदा भए निश्चय पनि सार्वजनिक रूपमा जनताले निगरानी गरिरहेको छ। आलोचना हुन्छ। प्रमुख प्रतिपक्षी दलको तर्फबाट पनि निगरानी, खबरदारी गरिराख्नेछौं।’
उनले भिजिट भिसासम्बन्धी देखिएका समस्याहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको हुँदा निष्पक्ष, पारदर्शी, प्रमाण र तथ्य संगत होस् भन्ने अपेक्षा रहेको बताए।
सरकारले गठन गरेको ‘अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति २०८२’ लाई माओवादी केन्द्रले स्वीकार गरेको छ। उक्त समितिको अध्यक्षता पूर्वमुख्य सचिव शंकरदास बैरागीले गरेका छन्। त्यस्तै अन्य ६ जना हालका सहसचिव पनि सहभागी छन्।
उक्त समितिलाई ३ महिनाको समय दिइएको छ।