नेपाली कांग्रेसकी सांसद नागिना यादवले बजेटको समयमा संसदीय समितिमा विधेयकमाथिको छलफल नराख्न आग्रह गरेकी छन्।
मंगलबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन्।
समयको चापलाई हेरेर समितिको बैठक राख्न आग्रह गरिन्।
समितिमा आज नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बधमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल थियो।
संसद बैठक पनि आज नै बस्ने र बजेटको बारेमा पनि छलफल गर्नुपर्ने भएकाले बजेट सेसनमा विधेयकमाथि संसदीय समितिमा छलफल नगर्न आग्रह गरिन्।
यसले संशोधनकर्ता सदस्यहरूले पनि राम्रोसँग संशोधनबारे छलफल गर्न नपाउने बताइन्।
उनले भनिन्, ‘समयको व्यस्ततालाई हेरौँ। समयको पावन्दी पनि हेरौँ। बरू बिदाको दिन बोलाउनुस् हामी आउँछौं तर बजेटको सेसनको बेलामा बोलाउँदा संशोधनकर्ताहरू पनि आउनु हुन्न। हामीले पनि जति महत्व दिनुपर्ने हो त्यो दिन सक्छौँ कि सक्दैनौँ।’
समितिमा पनि विधेयकलाई राम्रो बनाउनका लागि आवश्यक समय दिन नसकिने स्पष्ट पारिन्। —न्युज एजेन्सी नेपाल