राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चार वटा निर्णय गरेको छ।
बैठकले जेठ १५ देखि एक हप्तासम्म चलेको राजसंस्था पुनस्र्थापनाको आन्दोलन उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ।
बैठकले आन्दोलनका कार्यक्रमलाई अझ सशक्त ढंगबाट यथासम्भव चाँडो निरन्तरता दिईनुपर्छ भन्ने बैठकको धारणा रहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
'भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति, हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी तथा सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ गत जेठ १५ गतेबाट सुरू भएको जनआन्दोलनमा उत्साहजनक सहभागिताको निम्ति पार्टीका कार्यकर्ता र आमजनतामा राप्रपा नेपाल आभार व्यक्त गर्दछ। आन्दोलनमा देखिएको जनसमर्थनको राप्रपा नेपाल उच्च मूल्यांक गर्दछ,' बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
त्यस्तै बैठकले आन्दोलनमा सरकारले दमन र निरंकुश कार्यशैली अपनाएको भन्दै राप्रपा नेपालले निन्दासमेत गरेको छ।
'आन्दोलनमा बढ्दो जनसहभागिताबाट त्रसित सरकारले सिंगो काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता र बिनाहातहतियार भेला हुन पाउने अधिकारको उपहास गरेको छ,' विज्ञप्तिमा भनिएको छ।
एक हप्तासम्म चलेको आन्दोलन उपलब्धिमूलक भएको भन्दै राप्रपा नेपालले आन्दोलनका कार्यक्रमलाई अझ सशक्त ढंगबाट यथासम्भव चाँडो निरन्तरता दिनुपर्ने बताएको छ।
यसका लागि काठमाडौं उपत्यकाका विभिन्न पालिकाहरूमा विरोध प्रदर्शन, घरदैलो लगायत कार्यक्रमहरू सञ्चालन गर्न नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिलाई आग्रह गरेको छ।
उपत्यकाबाहिर देशका विभिन्न भागहरूमा जनप्रदर्शनको आयोजना गर्नुपर्ने, संयुक्त जनआन्दोलन समितिको संरचनालाई स्थानीय तहसम्म विस्तार तथा प्रतिवद्ध एवं जुझारू युवा जमात तयारी जस्ता कार्यहरूलाई तत्काल कार्यान्वयन गरिनुपर्ने धारणा अघि सारेको छ।
'यसतर्फ संयुक्त जनआन्दोलन समिति र त्यसमा आवद्ध रहेका सबै दलहरू तथा समूहको राप्रपा नेपाल ध्यान आकर्षित गर्छ। जनआन्दोलनलाई सशक्त ढंगबाट अघि बढाउने कार्यमा राप्रपा नेपालले निरन्तर अग्रणी भूमिका निर्वाह गर्नेछ,' विज्ञप्तिमा उल्लेख छ।