नेकपा (माओवादी) केन्द्रको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसिरहेको छ।
अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार पदाधिकारी बैठक बिहान साढे आठ बजेदेखि सुरू भएको हो।
बैठकमा सर्वोच्च अदालतले माओवादीका उपाध्यक्ष अग्नि सापकोटाविरूद्ध दिएको उत्प्रेषण आदेशबारे छलफल हुनेछ।
‘समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको छ,’ आचार्यले भने।
बुधबार सर्वोच्च अदालतले द्वन्द्वकालीन घटनमा माओवादीका उपाध्यक्ष सापकोटाविरूद्ध परेको उजुरीमाथि अनुसन्धान अघि बढाउन आदेश दिएको थियो।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले उक्त आदेश जारी गरेको थियो।
सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए।
सापकोटालाई हत्याको आरोप लगाइएको जाहेरीमा अनुसन्धान गर्न आदेश माग गर्दै दिइएको रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन थियो।
उनीमाथि २०६२ सालमा तत्कालीन माओवादीको अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप छ। अपहरण गरेर लगिएका लामाको शव दुई महिनापछि गाडिएको अवस्थामा काभ्रे बुढाखानीमा फेला परेको थियो।
लामाको हत्यामा सापकोटा र पूर्वराज्यमन्त्रीसमेत रहेका सूर्यमान दोङको संलग्नता रहेको भन्दै लामाकी श्रीमती पूर्णिमाया लामाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएकी थिइन्।
सो जाहेरी दरखास्तलाई प्रहरीले दरपीठ गरेको थियो। सत्यनिरूपण तथा मेलमिलाप आयोगमा पठाउनुपर्ने भन्दै प्रहरीले दरपीठ गरिदिएपछि लामा सर्वोच्च गएकी थिइन्। लामाको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो। आदेशपछि प्रहरीले जाहेरी दर्ता गरेको थियो।
द्वन्द्वकालीन घटनाबारे न्याय निरूपण गर्न टिआरसी आयोग बनेर प्रक्रिया अघि बढिरहँदा सर्वोच्च अदालतको आदेशले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन मद्दत नगर्ने बताइरहेको छ।
यसबारे धारणा बनाउन माओवादी केन्द्र छलफलमा जुटेको हो।