प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि भारत र पाकिस्तानबीच हात हालाहालको स्थिति बनेको तर उक्त स्थिति लडाइँमा परिणत हुन नपाओस् भनेर आफूहरूले कामना गरेको बताएका छन्।
२५६९ औं बुद्ध जयन्तीका अवसरमा सोमबार लुम्बिनीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘झण्डैझण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन। संयमका लागि धन्यवाद छ।’
उनले सुरूदेखि नै नेपालले भारत र पाकिस्तानबीच तनावको स्थिति विस्तार हुन नपाओस् भनेको पनि बताए।
‘यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्यौं, उहाँहरूसँग पनि कुरा गर्यौं। नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेरि पनि केही केही आरोप प्रत्यारोपको स्थिति छ। अर्थात् बुद्धका शान्तिको सन्देशहरूको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, परिवारको शान्तिका लागि छ र सबै कुराका लागि शान्तिको महत्व छ,’ प्रधानमन्त्री ओलीले भने।