भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मू-काश्मिरस्थित पहलगाममा आतंकवादी हमलामा मारिएका सुदिप न्यौपानेका परिवारलाई भेटेका छन्।
आइतबार राजदूत श्रीवास्तव मृतक न्यौपानेको बुटवलस्थित घरमा पुगेका हुन्।
घर पुगेर परिवारजनमा उनले समवेदना प्रकट गरेका थिए।
भारतीय सरकारले आतंकवादीहरूविरूद्ध लड्ने र न्याय दिने पनि उनले वाचा गरेका थिए।
‘उहाँले परिवारलाई आतंकवादविरूद्धको लडाई र पहलगाम आतंकवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकारको दृढ प्रतिबद्धता रहेकोबारे आश्वासन दिनुभएको छ,’ काठमाडौंस्थित भारतीय राजदूतावासले एक्समा लेखेको छ।
गत अप्रिल २२ मा सुदिप न्यौपाने परिवारसहित पहलगाममा घुम्न पुगेका थिए। आतंकवादी समूहले उनीसहित २६ जनाको हत्या गरेको थियो।