प्रतिपक्षी दल आम जनता पार्टीका सांसद प्रभु साहले तराईमा सशस्त्र प्रहरीले ज्यादती गरेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद साहले बुधबार रौतहटको घटना सुनाउँदै तराईमा सशस्त्र प्रहरीको ज्यादती बढेको बताएका हुन्।
उनले बुधबार कटहरिया बजारबाट आउँदै गरेका टेगडाहाका अनुठारा यादव र रामयुनिस साह सशस्त्र प्रहरीको ज्यादतीमा परी घाइते भएको बताए।
'तस्करको चक्करमा उनीहरूको मोटरसाइकलमा ठोकेर मोटरसाइकल नै ध्वस्त बनाइएको छ। त्यसमा सवार दुवै जना अहिलेसम्म बेहोस् छन् आइसिसूमा भर्ना छन्,' उनले भने।
सांसद साहले सशस्त्र प्रहरीको त्य ज्यादतीबारे गृहमन्त्रीले जबाफ दिनुपर्ने बताए।
घाइतेहरुको उपचारको जिम्मा पनि सरकारले लिनुपर्ने उनले बताए। त्यसमा संलग्न प्रहरीहरूलाई कारबाही गर्नुपर्ने पनि उनको माग छ।
उनले भन्सार नबुझाएकै कारण कुनैपनि सामान चोरीको नहुने बताए।
'भन्सार नबुझाएकै कारण चोरीको सामान हुन्छ भने आयकर नबुझाउनेहरूको पनि खोस्नुस्। सम्पत्ति नबुझाउनेहरूको सम्पत्ति खोस्नुस्। ठूला बडाहरुले कर लुकाउँदा नखोस्ने तर भन्सार नबुझाएकै नाउँमा दिनदहाडै डकैती गर्ने, लुट्ने र कमिशन बाँढ्ने। ४५ प्रतिशत कमिशनकै चक्करमा आज तराईका मान्छेहरू दिनदहाडै लुटिरहेका छन्। कोही साहारा छैन,' उनले भने।