भारत र पाकिस्तानबीच जारी आक्रमण चाँडै बन्द हुने आशा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्।
पत्रकार सम्मेलनमा भारत-पाकिस्तानबीच सुरू भएको आक्रमणबारे सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, 'मैले आक्रमणबारे भर्खरै सुनेँ। दुई मुलुकबीच दशकौंदेखि द्वन्द्व छ। मेरो आशा छ अहिलेको आक्रमण चाँडै सकिने छ।'
अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पनि भारत पाकिस्तानबीच सुरू भएको आक्रमणलाई अमेरिकाले नजिकबाट हेरिरहेको बताएका छन्।
भारतको आक्रमणमा परी ८ पाकिस्तानीको मृत्यु
भारतले बुधबार बिहान पाकिस्तानमाथि आक्रमण गरेको थियो। भारतले गरेको मिसाइल आक्रमणमा परेर ८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ।
भारतको रक्षा मन्त्रालयले भारतमाथि आक्रमण गर्न आतंकवादीहरूले प्रयोग गरिरहेका ९ विभिन्न स्थानहरूमा आफ्नो आक्रमण सीमित रहेको बताएको छ।
गत महिना भारतको कश्मीरमा आतंकवादीहरूले गरेको हमलामा २६ जनाको मृत्यु भएको थियो, जसमा एक नेपाली पनि परेका थिए। भारतले यसको प्रतिशोध लिने चेतावनी दिँदै आएको थियो। बुधबार पाकिस्तानका विभिन्न स्थानहरुमा भएको आक्रमण त्यसैको प्रतिक्रिया हो भन्ने अनुमान गरिएको छ।
पाकिस्तानले भारतीय आक्रमणको जवाफ दिने पनि बताएको छ।
भारतका ५ ‘फाइटर जेट’ खसालेको पाकिस्तानी सेनाको दाबी
पाकिस्तानको सेनाले भारतका ५ वटा फाइटर जेट खसालेको दाबी गरेको छ।
फ्रान्समा निर्मित तीनवटा राफेल विमान र दुइटा रुसमा बनेका लडाकु जहाज खसालेको उसले दाबी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
भारतीय विमानहरूले पाकिस्तानमाथि आक्रमण गरेपछि आफूहरुले पनि भारतीय विमानमाथि आक्रमण गरेर खसालेको पाकिस्तानी सेनाले जनाएको छ।
विमान खसालेको पाकिस्तानी दाबीबारे भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यदि यो पुष्टि भयो भने, यो भारतीय सेनाको लागि दशकौँपछिको सबैभन्दा ठूलो क्षति हुनेछ भनेर रोयटर्सले लेखेको छ।
राफेल लडाकु विमान भारतीय सेनाको आधुनिकीकरण गर्ने योजना अन्तर्गत भारतले किनेको हो।
भारतीय वायुसेनासँग ३६ वटा राफेल लडाकु विमान छ।