काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा भएको स्ववियु निर्वाचनबारे उच्च अदालत पाटनमा रिट परेको छ।
हालै क्याम्पसमा सहमतिमै स्ववियु निर्वाचन भएको थियो। तर केही विद्यार्थी संगठन र स्वतन्त्र समूहहरूले आफूहरूको जानकारीबिनै समिति घोषणा गरेको भन्दै विरोध गरेका थिए।
उम्मेदवार र मतदाताहरूसँग कुनै छलफल र सहमतिबिना निर्वाचन समितिले स्ववियु कार्यसमिति घोषणा गरेको भन्दै उक्त समिति खारेज गर्न तथा विद्यार्थीहरूको मताधिकार सुनिश्चित गर्न माग गर्दै अदालतमा आइतबार रिट परेको हो।
नेविसंघका उम्मेदवार विनोदराज जोशी, स्वतन्त्र उम्मेदवार हर्क बोहरा, अखिल क्रान्तिकारी बहुमतका विवेक मयाल, अखिल समाजवादी (विप्लव) का जगदीश गिरी, नेविसंघकी शारदा पौडेल, अखिल क्रान्तिकारीका पासङ लामाले रिट दिएको नेविसंघ केन्द्रीय प्रवक्ता सुरज सेजुवालले जानकारी दिए।