प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बोली हिजोआज फेरिन थालेको छ।
नयाँ वर्षको छेकोमा अध्यक्ष दाहालले सरकार परिवर्तन हुने कुरा मात्र गरेनन्, सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले लिनुपर्नेसम्म भन्न भ्याएका थिए।
तर वैशाख २१ गतेसम्म आउँदा प्रचण्डले चाहेजस्तो कांग्रेस-एमाले गठबन्धनमा दरार आएन। बरू प्रधानमन्त्री केपी शर्मा ओली र सभापति देउवाले पटक-पटक भेटेर कुराकानी गर्दै स्थिरताकै सन्देश दिएका छन्।
कांग्रेस-एमाले गठबन्धनले नै निरन्तरता पाउने देखेपछि हिजोआज अध्यक्ष प्रचण्डको बोली फेरिएको छ।
‘हामी सरकारमा जानुपर्ने हुन सक्छ’ भन्दै आएका अध्यक्ष प्रचण्ड ‘सरकारमा ध्यान छैन’ भन्न थालेका छन्।
गत चैत २८ गतेदेखि प्रचण्डले सार्वजनिक रूपमै ओली सरकार अब धेरै नटिक्ने अभिव्यक्ति दिन थाले।
सोही दिन इमेज टेलिभिजनका पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले ‘अब सरकारको नेतृत्व ठूलो पार्टी पनि, शान्ति सम्झौताको हस्ताक्षरकर्ता र इमान्दार पनि भएकोले कांग्रेसले लिनुपर्ने’ बताए।
‘शेरबहादुर देउवाजी सिधासिधा बोल्नुहुन्छ, इमान्दारिताका साथ जे भन्नुहुन्छ, उहाँका गल्ती छन्, विचारमा हाम्रा अन्तर छन् तर पनि उहाँले केपी ओलीजीले जस्तो धोका, जालझेल, षड्यन्त्र जान्नुहुन्न भन्ने लाग्छ,’ देउवाको प्रशंसा गर्दै प्रचण्डले भनेका थिए।
पत्रकार खरेलले एक दुई महिनाभित्र सरकार र राजनीतिक कोर्स परिवर्तन हुने सम्भावना तथा प्रधानमन्त्री ओलीको बाँकी कार्यकालबारे पनि अध्यक्ष प्रचण्डलाई प्रश्न गरेका थिए।
जबाफमा प्रचण्डले भनेका थिए, ‘समय त म तोक्न चाहन्न, समय तोक्नु उचित हुँदैन। त्यो कुनै पनि बेला हुन सक्छ। केपी ओलीले बाँकी एक वर्षे कार्यकाल पूरा गर्नुहुन्छ जस्तो मलाई लाग्दैन।’
यो अन्तर्वार्तामा दिएका कुरालाई थप बल दिने गरी चैत ३१ गते चितवनमा प्रचण्डले ओली सरकारले फेरि टिप्पणी गरे।
राजनीतिमा नयाँ घटनाक्रम विकसित भएको दाबी गरेका प्रचण्डले आफूले नयाँ अनुभवका आधारमा नयाँ वर्षमा नयाँ सरकार बन्न सक्ने आकलन गरेको अभिव्यक्ति दिएका थिए।
‘परिस्थिति यस्तो बन्दैछ कि ओली नेतृत्वको यो सरकार धेरै अघि जान सहज छैन, त्यसकारण कुनै पनि सम्भावना छ,’ प्रचण्डले त्यसदिन भनेका थिए।
शिक्षकदेखि चिकित्सकहरूसम्म विभिन्न माग राखेर सडकमा उत्रिएको सन्दर्भ जोडेका अध्यक्ष प्रचण्डले परिस्थिति गम्भीर र पेचिलो बन्दै गएको पनि बताएका थिए।
नयाँ वर्ष लाग्यो। अध्यक्ष प्रचण्डले राजनीतिक परिस्थिति फेरिने भाषण गर्न छाडेका थिएनन् तर परिस्थिति त्यसअनुकूल बनिरहेको पनि थिएन।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सरकारका कमीकमजोरी छन् भने सच्याएर जान सकिने अभिव्यक्ति दिएका थिए भने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीमै प्रश्न उठाएका थिए। नेता शेखर कोइरालाले सरकारले फिटिक्कै सुशासन दिन नसकेकोमा आलोचना गरेका थिए।
सत्ता साझेदार प्रमुख दलका शीर्ष नेताहरूको अभिव्यक्तिकै आधारमा अध्यक्ष प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्न सक्ने अभिव्यक्ति दिएका हुन् कि कांग्रेस नेताहरूले उनलाई ग्रीन सिग्नल दिएका थिए अहिलेसम्म खुलेको छैन।
यसबीच, वैशाख ७ गते कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी परराष्ट्र मन्त्री आरजु राणा देउवासँगै थाइल्याण्डको बैंकक उडे। सभापति देउवा स्वास्थ्य उपचारका लागि बैंकक गएको उनको सचिवालयले बताइरहे पनि त्यहाँ राजनीतिक कुराकानी भएको देउवा स्वदेश फर्केपछि नयाँ सरकार बन्ने चर्चासमेत हुन थाल्यो।
सरकार परिवर्तन हुने हल्लाले त्यसबेला तरंग नै ल्याएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डमै रहेका देउवासँग वैशाख ११ गते बेलुकी फोनमा कुराकानी गर्नुपर्यो।
यो कुराकानी भएको भोलिपल्ट सभापति देउवा र परराष्ट्र मन्त्री आरजु राणा स्वदेश फर्किए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री राणाले थाइल्याण्डमा आफू सहभागी कार्यक्रमबारे जानकारी गराइन्। केही प्रश्न भए सोध्न भनिन्, पत्रकारहरूले सरकार परिवर्तनकै चर्चामा केन्द्रित रहेर प्रश्न सोधे।
जबाफमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी परराष्ट्र मन्त्री राणाले भनिन्- केही समय मौनता भयो भने न्युजहरू आउने गर्छ, अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन, यो कसैले मनोरञ्जनका लागि चलाएको हल्ला हुनसक्छ।
उनी यतिमै रोकिइनन्।
‘सरकार परिवर्तन गर्न त नेपालभित्रै बसेर गर्नुपर्ने होला, विदेशमा गएर यहाँको सरकार त परिवर्तन हुँदैन। हामी आफै छक्क पर्यौं, न्युजहरू हेर्दा। यसबारेमा सभापतिज्यू र प्रधानमन्त्रीज्यूबीच टेलिफोनमा कुराकानी पनि भएको छ, यस्तो केही पनि छैन,’ परराष्ट्र मन्त्री राणाले भनेकी थिइन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बूढानीलकण्ठस्थित घर फर्कदै गरेका सभापति देउवालाई पनि पत्रकारहरूले कांग्रेस-एमाले गठबन्धनबारे प्रश्न सोधे।
आन्दोलनमा रहेका शिक्षकहरूका माग पूरा गर्न सरकार गम्भीर नभएको र गभर्नर नियुक्ति ढिलाइ भएकालगायत सन्दर्भ जोडेर पनि कांग्रेस-एमालेबीच दरार आएको त्यसबेला चर्चा चलेको थियो।
सभापति देउवाले पनि एमालेसँग कुनै खटपट नभएको प्रतिक्रिया दिए। ‘गठबन्धन जस्तो छ ठिक छ, केही भएको छैन,’ सभापति देउवाले भने।
सत्ता समीकरण नै परिवर्तन हुन्छ भन्ने छ अहिले भनेर पत्रकारले सोधेको प्रश्नमा वैशाख १२ गते सभापति देउवाले भने, ‘कसले भन्यो मलाई थाहा छैन।’
सभापति देउवाले थौरै शब्दमै गठबन्धनमा समस्या नरहेको जिकीर गरे, जसले गर्दा सरकार परिवर्तनका हल्लालाई चिर्ने काम गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले नै टिप्पणी गरेका थिए।
तर अध्यक्ष प्रचण्ड भने पार्टी संसदीय दल बैठकमा पनि ‘सरकारमा जान पर्ने हुन सक्छ’ भन्दै थिए। वैशाख ११ को संसदीय दल बैठकमा अध्यक्ष प्रचण्डले ‘प्रमुख प्रतिपक्षी दल भनेको वेटिङ गभर्मेन्ट पनि हो, सरकारमा जानुपर्ने हुन सक्छ’ एक माओवादी सांसदले बताइन्।
यसबारे प्रमुख सचेतक हितराज पाण्डेले भने कांग्रेस सभापति देउवाले थाइल्याण्ड जाने बेला आफूलाई फोन गरेको कुरा अध्यक्ष प्रचण्डले बताएको उल्लेख गरेका थिए।
‘अहिले हामी सरकारमा जाने होइन भनेर मैले बाहिर पनि भनेको छु। तर जाने होइन भनेर कहिल्यै पनि जाने होइन भनेर कहीँ बाचा बन्धन गरेको छैन नि! बाचा बन्धन गर्ने कुरा पनि होइन। शेरबहादुर देउवा बाहिर जानु भएको छ। उपचारका लागि। आउनु भएको छैन। कुराकानी केही पनि भएको छैन भनेर उहाँले भन्नुभयो,’ अध्यक्ष प्रचण्डका भनाइ उद्धृत गर्दै उनले भनेका थिए।
गत वर्ष असार १७ गते कांग्रेस-एमालेबीच आलोपालो प्रधानमन्त्री हुनेसहित ७ बुँदे सहमति भएको थियो। त्यसबेलादेखि अध्यक्ष प्रचण्डले कांग्रेस-एमाले गठबन्धन ‘अप्राकृतिक, अलोकतान्त्रिक र अपादर्शी’ रहेको आरोप लगाएका थिए। गठबन्धन नै अप्राकृतिक भएकोले अब चल्दैन भन्ने निष्कर्ष उनको थियो।
तर अध्यक्ष प्रचण्डका पछिल्ला भाषण सरकार परिवर्तनबाट बदलिएर पार्टी नै रूपान्तरण गर्नेतिर जोड छ।
अध्यक्ष प्रचण्डले माओवादीबारे सामाजिक सञ्जालमा पनि राम्रो माहोल बन्दै गएको भन्न भ्याएका छन्।
'सोसल मिडियामा पाँच सात महिना अघिसम्म हाम्रो हालत करिब करिब गए गुज्रेको थियो। अहिले हेर्दा हेर्दै साथीहरूले के-के गर्नुभयो। अब सोसल मिडियामा पनि एक नम्बरतिर उकालो लाग्दै छौं,' प्रचण्डले भने, 'देशैभरि सक्रियता बढेको छ, म खुशी छु।'
साथै उनले सरकारमा जाने कुनै रूची नभएको बताएका छन्। मजदुर दिवसमा गत बिहीबार काठमाडौंमा भएको कार्यक्रममा उनले यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने रूचि नभएको बताए।
'हामी अब फेरि एकचोटी यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने हामीलाई कुनै रुचि छैन, हामी जनता र हाम्रो वर्गसँगै ठिक छौँ। तपाईँहरू कन्फ्युजनमा नपर्नुहोला,' अध्यक्ष प्रचण्डले भने।