राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन सार्ने निर्णय भएको छ।
बिहीबार केन्द्रीय कार्यालय च:मतिमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति सार्ने निर्णय गरेको हो।
रास्वपाले वैशाख २५ देखि २७ गतेसम्म चितवनमा प्रथम महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर केन्द्रीय समिति बैठकले प्रथम महाधिवेशन २०८२ फागुन ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको हो।
२०८२ असोजसम्म वडा अधिवेशन, कार्तिकसम्ममा पालिका अधिवेशन, मंसिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने र २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने सर्वसम्मतले निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ। ७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भइसकेको छ। ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको र सातै प्रदेशमा समिति गठन भएको उनले बताए।