नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका मन्त्रीहरूसँग काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाह्रो परेको भए आफ्नै टिम बनाउन सुझाव दिएका छन्।
महामन्त्री शर्माले प्रधानमन्त्री ओलीलाई काम गर्न गाह्रो परेको भए जो प्रधानमन्त्री उसकै पार्टीबाट मात्रै मन्त्री रहने गरी टिम बनाउने विकल्पमा जान सकिने बताएका हुन्।
यो पनि:
शिक्षकहरूका माग केही घन्टाभित्रै सम्बोधन गर्ने वातावरण बनाउन देउवाले दिए महामन्त्रीहरूलाई जिम्मेवारी
ओली नेतृत्वको सरकारलाई कायमै राख्ने पक्षमा कांग्रेस रहेको उनको भनाइ थियो। साथै कांग्रेसका मन्त्रीहरू बाहिर आउने, कांग्रेस सदनमा सत्तापक्षमै बस्ने र भविष्यमा कांग्रेसले सरकारको नेतृत्व लिँदा पनि एमालेको समर्थनमा कांग्रेसले आफ्नै मन्त्रीहरूको टिम बनाउने गरी जान सकिने शर्मा बताउँछन्।
‘जो प्रधानमन्त्री उसैको टिम, यसमा सहमत होऔं। कांग्रेसका मन्त्रीहरूका कारण काम गर्न गाह्रो भयो भने प्रधानमन्त्रीलाई भन्नुपर्यो। एमालेको प्रधानमन्त्री हुँदा एमालेको टिम दिने सबै मन्त्रीहरू। बरू, अरू साना दललाई गाँसौँला, कांग्रेस बाहिरिने। कांग्रेस बाहिरिँदा विपक्षीको बेन्चमा होइन, सत्ता पक्षको बेन्चमा बस्ने, सरकारलाई साथ दिने, कमजोरीप्रति प्रश्न गर्ने। भोलि कांग्रेसको प्रधानमन्त्री बन्ने बेलामा कांग्रेसको टिम हुन्छ, एमालेले बाहिर बसेर सरकारलाई सहयोग गर्छ, कमीकमजोरीप्रति प्रश्न गर्छ,’ न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शर्माले भने।
उनले ओली नेतृत्वको अहिलेको सरकार कायमै रहनुपर्ने भए पनि कार्यशैली बदल्नुपर्नेमा जोड दिए।
‘सरकार सफल हुने भनेको मौन धारणा गरेर हो र? सरकार सफल हुने त कमजोरी केलाएर हो नि! आफू संलग्न भएको सरकारको सफलताको लागि सरकार यहाँ तिमी चुक्दैछौ, यहाँ तिमी चुक्दैछौ, यहाँ तिमी ढिलाइ गर्दैछौँ भनेर बोल्ने कर्तव्य त पार्टीका पदाधिकारीहरूको बन्छ नि!,’ उनले भने।
यो पनि: सरकारका कमीकमजोरी मलाई सुनाउनुस्, म प्रधानमन्त्रीलाई सुनाउँछु: देउवा