सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकमा दलहरूबीच नै सहमति नजुटेकाले टुंगो नलागेको बताएका छन्।
बुधबार झापा पुगेका सभामुख घिमिरेले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा विधेयक चाँडो टुंगिन सुरूमा दलहरू एकमत हुनुपर्ने बताएका हुन्।
अहिले उपसमितिमा छलफल भइरहेको विधेयकमा १८ सय संशोधन परेको छ। यसलाई टुङ्ग्याउन राजनीतिक दलहरुबीच सहमती हुनुपर्नेमा उनीहरुबीच नै मतभेद भएकाले तत्काल विधेयकमाथि कुनै कारबाही हुन सकेको छैन,' उनले भने।
हिउँदे अधिवेशनमै शिक्षा विधेयक टुंग्याउने प्रयास भएको तर शिक्षामन्त्रीको अस्वस्थताका कारण एक महिना उपसमितिमा छलफल हुन नसकेको उनले बताए।
सभामुख घिमिरेले शिक्षकहरूका माग पनि स्पष्ट नभएको बताए।
'माग राखेर सरकारको ध्यानाकर्षण गर्नु एउटा कुरा भयो तर वार्तामै बस्दिन भन्नु राम्रो कुरा भएन। वार्ताको वातावरण बन्नुपर्ने थियो,' उनले भने।
उनले शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने उनीहरुको हठ तर्कसंगत नभएको बताए।
'किनभने शिक्षा ऐनको लागि विधेयक संसदमा पुग्नुपर्छ। संसदले विधेयक पास गर्नुपर्छ। संसदमा विधेयक पुग्नका लागि सम्बन्धित समिति छलफल गरी संसदमा पठाउनु पर्छ,' उनले भने।
सभामुख घिमिरेकाअनुसार शिक्षा उपसमितिले विधेयकबारे छलफल गरी समितिमा पठाउन वैशाख २५ गतेसम्मको समय सीमा छ। त्यसपछि पनि समितिमा छलफल हुन्छ। समितिले पास गरेर विधेयक संसदमा पठाउने हो।
फेरि बजेट अधिवेशनमा छलफलले सरकारको नीति तथा कार्यक्रमले प्राथमिकता पाउँछ। यो हिसावमा जेठ महिनाभर पनि विधेयक पारित भएर ऐनको रुप लिनसक्ने नदेखिएको उनले बताए।
शिक्षहरुको माग तलव वृद्धि, ग्रेड विद्धिलगायतका विभिन्न शिर्षकमा राज्यलाई आर्थिक भार पार्ने खालका रहेकाले यस्तो माग जायज नरहेको सभामुख घिमिरे बताउँछन्।
‘राज्यले धान्नै नसक्ने गरी संविधानविपरित जाने यस्ता माग गर्न युक्तिसंगत हुँदैन,‘सभामुख घिमिरेले भने, 'तर पनि समस्या समाधान गर्ने वार्ताको माध्यमबाट नै हो। देशको क्षिक्षा प्रणाली र अर्थतन्त्रबीच रहेर ऐन आउने कुरा हो, शिक्षकहरुले बुझेकै छन्।’
सभामुख घिमिरेको भनाइअनुसार माग सम्बोधन गर्ने भने पनि सरकारले शिक्षकहरुको माग जस्ताको त्यस्तै रुपमा पूरा गर्न सक्ने अवस्था छैन। ‘माग पूरा गर्न सरकारको प्रयत्न भइरहँदा आन्दोलन गर्नु र वार्तामा बस्दिनँ भन्नु सही होइन’, सभामुख घिमिरेले भने।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले १५ दिनदेखि आन्दोलन गरिरहेका छन्। नेपाल शिक्षक महासंघ राष्ट्रिय कार्यसमितिको नेतृत्वमा गत चैत २० गतेदेखि काठमाडौंको माइतीघर मण्डलमा आन्दोलन भइरहेको छ। एक सातासम्मको शान्तिपूर्ण मागमा सरकारले कुनै चासो नदेखाएपछि शिक्षकहरुले चैत २६ गतेदेखि शैक्षिक हड्ताल गरी आन्दोलनलाई थप तिब्रता दिएका छन्।
आन्दोलनका क्रममा सरकार र शिक्षक महासंघबीच दुई पटक वार्तासमेत भइसकेको छ। पछिल्लो पटक सरकारले वार्ताका लागि आग्रह गरेपनि ऐन जारी नभएसम्म वार्तामा नबस्ने भन्दै शिक्षकहरु आन्दोलनमै सक्रिय भइरहेका छन्। —न्युज एजेन्सी नेपाल