राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा प्रदर्शन र आमसभा गर्ने भएको छ।
विभिन्न ठाउँबाट र्याली बल्खुमा पुगेर आमसभामा रूपान्तरित हुनेछ।
आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका शीर्ष नेताहरूले सम्बोधन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
राजसंस्था पुनर्स्थापना, संघीयता खारेजीलगायत एजेन्डासहित राप्रपाले प्रदर्शन र आमसभा गर्न लागेको हो।
राप्रपाले पार्टी वा राष्ट्रिय झन्डा लिएर प्रदर्शन र आमसभामा आउन अपिलसमेत गरेको छ।
राप्रपाले भृकुटीमण्डपमा कार्यक्रमका लागि अनुमति मागे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्यस क्षेत्रमा शिक्षक लगायतको आन्दोलन रहेको भन्दै सुरक्षाका कारण देखाएर बल्खु वा सिफल चौरमध्ये एक ठाउँमा कार्यक्रम गर्न भनेको थियो।
भृकुटीमण्डप-माइतीघर-बबरमहल क्षेत्रमा नेपाल शिक्षक महासंघ, सहकारी र लघुवित्त पीडित तथा राष्ट्रिय जनमोर्चाले प्रदर्शन र कार्यक्रम गर्दै आएका छन्।
राप्रपाले बल्खुमा कार्यक्रम गर्ने बताएको छ।
पछिल्लो समय चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन हिंसात्मक भएपछि सुरक्षा निकायले यस्ता प्रदर्शन शान्तिपूर्ण होस् भन्ने चाहेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सोमबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै पार्टीले गर्ने कार्यक्रम शान्तिपूर्ण हुने बताएका छन्।
राप्रपाले बल्खुमा कार्यक्रम गर्ने भएपछि मंगलबार त्यस क्षेत्रको यातायात व्यवस्थापनमा ट्राफिक प्रहरी पनि खटिएको छ।ट्राफिक व्यवस्थापनका लागि विभिन्न ठाउँमा डाइभर्सन गरिएको प्रहरीको भनाइ छ।
त्यसबाहेक अन्य सुरक्षाका लागि पनि जिल्ला प्रहरी परिसर काठमाडौंले रणनीति बनाएको एसएसपी विश्व अधिकारीले जानकारी दिए।
‘आज विभिन्न ठाउँमा प्रदर्शन छ। शिक्षक, जनमोर्चाको पनि लगनखेलबाट आउने कार्यक्रम छ। राप्रपाको बल्खुमा छ,’ उनले भने, ‘तीनकुनेको जस्तो नहोला तर हामी जस्तोसुकै परिस्थिति आए पनि तयार नै छौं।’
राप्रपाले पनि कार्यक्रम शान्तिपूर्ण आयोजना गर्ने प्रतिबद्धता जनाएको उनले बताए।
‘उहाँहरूले शान्तिपूर्ण तरिकाले सहकार्यमा प्रदर्शन गर्छौं। घुसपैठ हुँदैन। केही आवञ्छित गतिविधि गर्ने शंकास्पद व्यक्तिहरू भए आफै प्रहरीलाई बुझाउँछौं भन्नुभएको छ,’ उनले भने।
बल्खुमा आवश्यकता अनुसार प्रहरी परिचालन गरेको पनि उनले बताए।
चैत १५ गते भएको तीनकुनेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो। त्यस्तै २० जनालाई गोली लागेर घाइते भएका थिए।
प्रहरीले तीनकुने घटनामा संलग्न भएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा लगायतलाई पक्राउ गरेको छ। अहिले ७० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरिसकेको छ।
बल्खु प्रदर्शनले यी ठाउँमा हुन सक्छन् डाइभर्सन
डाइभर्सन गरिने मुख्य स्थानहरू:-
• खसी बजार – मकालु - कलंकी चोक- बाफल
• बल्खु चोक- कुलेश्वर- कालीमाटी चोक- टेकु
• कीर्तिपुर- सुन्दरीघाट- सानेपा- एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू
• त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सितापाईला, चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर।
कार्यक्रममा सहभागी हुन सवारी साधन लिएर आउने व्यक्तिहरूले पार्किङ गर्ने स्थानहरू :-
त्रिभुवन विश्वविद्यालय गेटदेखि चोभार सडक
सानेपा करिडोर सडक (दुवै तर्फ)
चोभार सुख्खा बन्दरगाह
नयाँ बसपार्क
सितापाइला - बाफल सडक खण्डमा एक लाइन