नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले आइतबार संसदको लाइभ सुनियोजित ढंगले काटिएको आशंका गरेका छन्।
आइतबार प्रतिनिधि सभा चल्दै गर्दा त्यहाँको प्रत्यक्ष प्रशारण भएको थिएन। यद्यपि संसद भवनमै रहेको मिडिया सेन्टरमा भने प्रशारण आएको थियो। युट्युबमा भने प्रशारण भएको थिएन।
सापकोटाले त्यसपछि शंका व्यक्त गरेका हुन्।
‘आजको संसदको लाइभ काटियो। त्यहाँ हाम्रो गम्भीर आशंका छ,’ उनले भने।
आइतबारको संसद बैठकमा विपक्षी दल र सत्ता पक्षबीच चर्चाचर्की भएको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेट स्थगित गरे। बैठक अझै सुरू भएको छैन।
‘भित्र उस्तै भए त सत्तापक्षका माननीयजीहरूको त हामी प्रतिपक्षीका सांसदलाई भम्टिने र भौतिक आक्रमण नै गर्ने उहाँहरूको क्रियाकलाप थियो। त्यो देखेरै सभामुख पछि हट्नुभयो,’ उनले भने, ‘जसरी पनि रूलिङ गर्ने भनेर आउनुभएको सभामुख पछि हट्नुभएको छ। संसद बैठक स्थगन गर्नुभयो,’ उनले भने।
सांसद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली असहिष्णु गैरजिम्मेवार बन्दै गएको र शुक्रबारका घटनाप्रति संवेदनशील नरहेको बताएका छन्।
‘उहाँ यी सबै कुराप्रति संवेदनशील हुनुहुन्न। यसले झन् बढी जटिलता बढेर गयो भन्ने लाग्छ। हामीले नमागे पनि आज सरकारले आएर जवाफ दिनुपर्ने हो। सिंगै देशलाई आश्वस्त पार्नुपर्ने होइन? सरकार कसरी जाँदै छ। व्यवस्थाका विरूद्ध गतिविधि भएको छ। हत्या, लुटपाट मच्याइएको छ। नेपाली जनतालाई शान्ति, सुरक्षा, सुव्यवस्था, अमनचयन कसरी कायम राख्ने भनेर आश्वस्त पार्नुपर्ने होइन?,’ उनले भने।