नेपाली कांग्रेसका नेता शेखर कोइरालाले २०८२ को मंसिर मसान्तभित्रै पार्टीको १५ औं महाधिवेशन हुनुपर्ने बताएका छन्।
कांग्रेस मोरङ-काठमाडौं सम्पर्क समितिले बत्तिसपुतलीमा शुक्रबार गरेको अन्तर्क्रियामा बोल्दै कोइरालाले समयमै महाधिवेशन गर्न दबाब दिनुपर्ने बताए।
‘सामाजिक सञ्जालमा दिनदिनै तपाईंहरू केही न केही लेखिराखेको म देख्छु, मेरो तर्फबाट एउटा कुरा लेखिदिनुस्, नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ को मंसिर मसान्तभित्रै हुनुपर्छ भनेर लेख्नुस् त कति प्रेसर पर्दो रहेछ। यस्तो प्रेसर पर्छ कि त्यो प्रेसर कसैले खेप्नै सक्दैन।’
उनले पार्टीलाई महाधिवेशनले चलायमान बनाउने पनि बताए। ‘को जित्छ को हार्छ भन्ने कुरा होइन, पार्टीलाई महाधिवेशनले चलायमान बनाउँछ,’ उनले भने, ‘कांग्रेस नागरिकहरूको पार्टी हो, हामी महाधिवेशन र मुलुककै आर्थिक विकास गर्न सक्छौं।’
उनले २०७८ को मंसिरमा १४ औं महाधिवेशन भएकोले त्यसको चार वर्षमा महाधिवेशन हुनुपर्ने बताए।
‘१४ औं महाधिवेशनमा शेरबहादुर देउवाजी र म चुनाव लडेको हो, मैले हारेको हो तैपनि हामीबीचमा तिक्तता छैन, उहाँ नै सभापति हो,’ उनले भने, ‘हामी २०८४ को चुनावमा एकढिक्का भएर जानुपर्छ, कांग्रेसले एक्लै पनि लड्न सक्छ।’