दुई वर्षअघिको घटना हो, दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा त्यसदिन स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत मतदान जारी थियो। झण्डै पाँच सय मत खसिसकेको थियो।
त्यहीबेला नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समुह झडपमा उत्रिए। एकछिन अघिसम्म शान्तिपूर्ण रूपमा भइरहेको मतदान कार्यक्रम एकाएक बिथोलियो।
त्यसबेला पनि स्ववियु सभापतिका उम्मेद्वार थिए, प्रमोद भण्डारी। तर, त्यसबेला उनी नेविसंघको एउटा समुहको मात्रै प्रतिनिधित्व गर्थे। त्यसबेला नेविसंघकै प्रभास लामिछाने पनि उम्मेद्वार थिए। चल्दाचल्दैको मतदान झडपले रोकिएपछि चुनावी नतिजा आएन। स्ववियुमा छानिन खोज्नेहरूको रहर अधुरै रह्यो।
यसपटक भने नेविसंघले उनै प्रमोद भण्डारीकै नेतृत्वमा राप्ती बबई क्याम्पसमा एकतर्फी जित हासिल गरेको छ। संयोग कस्तो भने, अघिल्लोपटक प्रमोद नेविसंघको एउटा समुहबाट उम्मेद्वार भए जसरी नै यसपटक भने नेविसंघकै लेखमणि खत्री (लक्ष्मण) प्रमोदका मुख्य प्रतिस्पर्धी थिए।
नेविसंघले प्रमोदलाई टिकट दिएपछि अन्य सबैजसो संगठनको साथ लिएर खत्री सभापतिको उम्मेद्वार बनेका थिए। यसपटक दोस्रोपटक चुनाव लडिरहेका प्रमोदले बाजी मारे। आफूले प्रतिस्पर्धीभन्दा दोब्बर मत मात्रै ल्याएनन्, सिंगो प्यानल नै जिताएको श्रेय पनि पाइरहेका छन्।
भण्डारीले निकटतम प्रतिस्पर्धी खत्रीलाई ३४८ मतान्तरले पराजित गर्ने क्रममा ७३७ मत प्राप्त गरेका थिए। सबैजसो वाम विद्यार्थी संगठनहरूको समर्थनमा उम्मेद्वार बनेका खत्रीले भने ३८९ मत प्राप्त गरेका छन्।
स्ववियु सभापतिमा निर्वाचित प्रमोद एमबिएस दोस्रो समेष्टरको परीक्षा दिएर तेस्रो सेमेष्टरको प्रतिक्षामा रहेका विद्यार्थी हुन्।
तुलसीपुर उपमहानगरपालिका– १० राइखलियानका प्रमोद जुम्ल्याह मध्येका जेठा हुन्। उनी भाइ प्रबिणभन्दा थोरै अघि जन्मिएको हुँदा गाउँ, घर-परिवार र साथीहरू सबैले उनलाई ‘ठूले’ भनेर चिन्छन्। तीनै ‘ठूले’ ले दोस्रो प्रयासमा क्याम्पसमा ठूलो जित निकालेका छन्।
प्रमोद र प्रबिण दाजुभाइलाई पहिलोपटक देख्ने मात्रै होइन सधै देख्नेहरू पनि झुक्किन्छन्। उस्तै शारिरीक बनोटका कारण देख्नासाथ उनीहरूलाई पहिचान गर्न कठिन हुन्छ।
सँगसँगै हिँड्ने, पढ्ने बाहेक उनीहरू टिकटकमा समेत सँगै नाचिरहेका हुन्छन्। घरदेखि कक्षाकोठासम्म सधैं सँगै हुने भाइ प्रविण यसपटक दाइको चुनावी अभियानका एक मुख्य सारथी थिए।
एमाले, माओवादी (केन्द्र), नेकपा (बिप्लव) लगायत सबै अखिलविरूद्ध एक्लै नेविसंघ चुनावी मैदानमा थियो। नेविसंघ बाहेक सात राजनीतिक संगठनहरूलाई पराजित गर्दै प्रमोद नेतृत्वको नेविसंघ प्यानलले राप्ती बबईमा जित हात पारेको श्रेय उनी सिंगो नेविसंघ र पार्टी नेतृत्वलाई दिन्छन्। 
‘यो जित मेरोभन्दा पनि सबै इमान्दार विद्यार्थीको हो,’ प्रमोदले भने।
उनले विशेषगरी तुलसीपुर उपमहानगरपालिकाका कांग्रेस नगर सभापति सुरेश हमालदेखि सबैको साथबाट जित सम्भव भएको प्रतिक्रिया दिए।
‘मेरो उदेश्य राजनीतिभन्दा पनि विद्यार्थीका लागि सहज वातावरण निर्माण गर्दै क्याम्पसलाई पश्चिम 'दाङकै गुणस्तरिय शिक्षाको हब' बनाउन सक्दो सहयोग पुर्याउनेछु,’ उनले भने।
यसो त केन्द्रदेखि क्याम्पसम्मै फैलिएको कांग्रेसभित्रको गुटबन्दी प्रमोदकै परिवारमै लागु भएको देखिन्छ।
उनका हजुरबा रेशमबहादुर भण्डारी पुराना कांग्रेस नेता हुन्। उनी अहिले पनि संस्थापन पक्षधर मानिन्छन्। नेता रेशम भण्डारी केन्द्रीय सदस्य गेहेन्द्र गिरीका नजिक छन्। तर, नाति प्रमोद भने अर्का केन्द्रीय सदस्य दीपक गिरी नजिक छन्। उनी संस्थापनइतरका नेता हुन्।
उनका हजुरबुबालाई नातिको जितको खुसी मनाउन फरक गुटले रोकेन। उनले कलेजमै पुगेर नातिलाई बधाई दिए।
‘विद्यार्थीको पक्षमा राम्रो काम गर्नू, नेविसंघको मान राख्नू,’ उनले भने।