स्ववियुको निर्वाचनमा पनि नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघभित्र मतभेद देखिएको छ।
स्ववियु चुनावमा भाग लिन संघसंगठन दर्ताका क्रममा नेपाल विद्यार्थी संघका नाममा विभिन्न क्याम्पसमा दुई वटा संस्था दर्ता गर्न निवेदन परेका छन्।
जसले गर्दा कुन आधिकारिक हो पहिचान गर्न स्ववियु निर्वाचन समितिलाई केन्द्रीय अध्यक्षको चिठी कुर्नुपर्ने अवस्था छ।
अध्यक्ष दुजाङ शेर्पाले विभिन्न क्याम्पसहरूमा नेविसंघको आधिकारिक पक्ष खुलाउने गरी चिठी नै पठाएका छन्।
नेविसंघका समानान्तर इकाइ समिति भएका क्याम्पसमा स्ववियु चुनावमा भाग लिन भन्दै दुई वटा संस्था दर्ताका लागि निवेदन परेका हुन्।
अध्यक्ष शेर्पाको चिठीसहित संस्थापन पक्षले स्ववियु चुनावमा भाग लिन नेविसंघ दर्ता गराउँदा संस्थापनइतर समूहले समानान्तर इकाइ सभापतिको अगुवाइमा नेविसंघकै नाममा र कतै स्वतन्त्र समूह बनाएर दल दर्ता निवेदन दिएका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पससहित आधा दर्जन क्याम्पसमा नेविसंघका दुई पक्षले चुनावमा भाग लिने प्रयोजनका निम्ति संस्था दर्ताका लागि निवेदन दिएका हुन्।
त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा अध्यक्ष दुजाङ शेर्पाको चिठीसहित विष्णु बडेलाले नेविसंघ दर्ता गराउँदा समानान्तर समितिबाट नेविसंघकै किशोर भण्डारीले पनि दल दर्ता निवेदन दिएका हुन्।
नेपाल कमर्स क्याम्पस मीनभवनमा अध्यक्ष शेर्पाको चिठीसहित सरोज तिमल्सेनाले संस्था दर्ता गर्दा समानान्तर समितिबाट रवि रोकायले निवेदन दिए भने थापाथली क्याम्पसमा पुष्कर शाहीले अध्यक्ष शेर्पाको चिठीअनुसार संस्था दर्ता गर्दा समानान्तर समितिबाट सुवास पाठकले पनि निवेदन दिए।
महेन्द्र मोरङ क्याम्पस विराटनगर, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जलगायत क्याम्पसमा पनि नेविसंघका संस्थापन र संस्थापनइतर पक्षले बेग्लाबेग्लै संघ दर्ताका लागि निवेदन दिए।
साथै समानान्तर समिति भएका अन्य केही क्याम्पसहरूमा स्वतन्त्र समूहका नाममा नेविसंघको असन्तुष्ट पक्षले समूह दर्ता गराएका छन्।
नेविसंघभित्र पछिल्लो समय पार्टीको गुटको छाया देखा परेको छ।
पार्टी केन्द्रीय समितिले दिएको जिम्मेवारीअनुसार सभापति शेरबहादुर देउवाले नेविसंघको १२ औं महाधिवेशन गराउन भन्दै दुजाङ शेर्पा नेतृत्वमा तदर्थ समिति गठन गरेका थिए।
चैतभित्र महाधिवेशन गर्न पार्टीले निर्देशन दिए पनि नेविसंघ महाधिवेशनको सुरसार छैन। सदस्यता वितरण गर्ने क्रममा मतभेद देखिँदा महाधिवेशन नै प्रभावित बनेको छ।
नेविसंघ केन्द्रीय समिति ७५६ सदस्यीय छ। यसमा दुई सय जनाभन्दा बढी केन्द्रीय सदस्य नेता शेखर कोइरालानिकट छन्। कोइरालाले नै दिएका नामअनुसार सभापति देउवाले उनीहरूलाई केन्द्रीय सदस्य बनाएका थिए।
तर सदस्यता वितरण र जय नेपाल कपलगायत तयारी गर्दै गर्दा नेविसंघभित्र विवाद देखा पर्यो।
नेता कोइरालानिकट विद्यार्थीहरूले केन्द्रीय सदस्य प्रेमिका राना मगरको नेतृत्वमा समानान्तर गतिविधि गर्दै आएका छन्।
अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीलाई लिएर उनीहरूले पटक-पटक विज्ञप्ति नै जारी गरेका थिए भने पार्टी अनुशासन समितिमा उजुरी दिएका थिए। अध्यक्ष शेर्पा पनि आफूमाथि आरोप लगाइएकोले छानबिनको मागसहित पार्टीमा निवेदन दिन पुगेका थिए।
सदस्यता वितरणका लागि क्याम्पसहरूमा केन्द्रीय प्रतिनिधि तोक्दा अध्यक्ष शेर्पाले कोइराला पक्षका नेविसंघ केन्द्रीय सदस्यलाई जिम्मेवारी नदिएको आरोप पनि छ। त्यहीँबाट विवाद झन् बढ्दै दुई समूहबीच आरोप-प्रत्यारोपमा पुगेको थियो।
यो पनि: शेखर-गगन समूहको फुटले नेविसंघमा एकता बिथोल्यो: प्रवक्ता सेजुवाल
केन्द्रीय प्रतिनिधि तोक्दा कोइराला पक्षले ४० प्रतिशत मागेका थिए र आफूहरूले नै केन्द्रीय प्रतिनिधिको नाम दिने भनेका थिए तर महामन्त्री गगन थापा पक्षका नेविसंघले आफूहरूलाई कम्तीमा २० प्रतिशत केन्द्रीय प्रतिनिधि चाहिने माग राख्यो र लियो पनि। त्यसपछि कोइरालापक्षका नेविसंघ असन्तुष्ट छन्।
नेविसंघभित्र देखा परेका मतभेद मिलाउन पार्टीले खासै चासो दिएको छैन। महाधिवेशन गराउन निर्देशक समिति बनाए पनि उक्त समितिले पनि हस्तक्षेपपूर्ण काम गरेको देखिँदैन।
विवाद ज्युँका त्युँ रहेपछि नेविसंघमा समानान्तर गतिविधि भइरहेका छन्। क्याम्पसहरूमा समानान्तर समितिहरू गठन गरिएका छन्, विवाद हुँदा दुई पक्षबीच झडपसमेत हुने गरेको छ।
चैत ५ गते हुने स्ववियु चुनावमा नेविसंघलाई जिताउन कांग्रेसले सातै प्रदेशमा नेताहरूलाई समन्वय गर्ने गरी जिम्मेवारी पनि दिएको छ।
कोशीमा सहमहामन्त्री भीष्मराज आङ्देम्बे, मधेसमा सहमहामन्त्री महेन्द्र यादव, बागमतीमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) र गण्डकीमा सहमहामन्त्री जीवन परियारलाई खटाएको हो।
लुम्बिनीमा केन्द्रीय सदस्य चन्द्र भण्डारी, कर्णालीमा केन्द्रीय सदस्य जीवनबहादुर शाही र सुदूरपश्चिममा केन्द्रीय सदस्य एनपी साउदलाई समन्वय गर्ने गरी खटाइएको छ।
तर समन्वय गर्ने जिम्मेवारी पाएकाहरूले नेविसंघभित्रका यस्ता विवाद समाधान गर्न भूमिका नखेलेको गुनासो नेविसंघभित्रै हुने गरेको छ।
महामन्त्री विश्वप्रकाश शर्माले स्ववियु निर्वाचनकेन्द्रित गरी प्रदेश र जिल्ला कार्यसमितिलाई परिपत्र गरेका छन्। स्ववियु चुनावका लागि क्याम्पसहरूमा नेविसंघबाट टिम बनाउनेदेखि जिताउन गर्नुपर्ने तयारीसम्म परिपत्रमा समेटिएको छ।
स्ववियु चुनावमा कांग्रेसले कसैसँग पनि तालमेल नगर्न भनेको छ तर नेविसंघलाई नै एकताबद्ध गर्न सकेको छैन।
दुई वर्षअघि भएको स्ववियु चुनावमा नेविसंघले ११३ क्याम्पसमा सभापति जितेको बताएको थियो।
यसपालि मतभेद देखिएकोले नतिजामा प्रभाव पार्ने चिन्तासमेत नेविसंघभित्र देखिएको छ। केन्द्रीय सदस्य भुवन भट्टले संगठनभित्र देखा परेका मतभेद नेतृत्वले हल गरी एकताबद्ध भएर स्ववियु चुनावमा होमिनुपर्ने बताए।
‘नेविसंघभित्रै एकता नदेखिँदा यसले स्ववियु चुनावमा पनि असर पार्न सक्छ, नेतृत्वले बेलैमा विवाद समाधान गरेर एकताबद्ध भएर चुनावमा जानुपर्छ,’ उनले भने, ‘मतभेद हल गर्न नसक्दा समूहका नाममा नेविसंघकै साथीहरू स्ववियु चुनावमा जानुपर्ने अवस्था आउनु दु:खद छ, संगठन र पार्टी नेतृत्वको पनि बेलैमा यसतर्फ ध्यान जान जरूरी छ।’
नेविसंघ प्रवक्ता सुरज सेजुवालले नेपाल ल क्याम्पससहित विभिन्न क्याम्पसमा दल दर्ताको क्रम चलिरहेको बताए। ‘फागुन १९ गते कतिपय क्याम्पसमा दल दर्ता भएन, नेपाल ल मा फागुन २२ गते दल दर्ता हुन्छ, चुनाव हुने सबै क्याम्पसमा नेविसंघले दल दर्ता गर्छ,’ उनले भने।
कुनै क्याम्पसमा नेविसंघ दुई वटा दर्ताका लागि निवेदन परेका छन् भने केन्द्रीय सभापति दुजाङ शेर्पाले आधिकारिक चिठी पठाउने उनले बताए।
‘निर्वाचन समितिमा एकै संगठनबाट दुई वटा दल दर्ताका लागि निवेदन परेको हुन सक्छ, यस्तो निवेदन आएका खण्डमा निर्वाचन समितिले कुनचाहिँ आधिकारिक हो भनेर सोध्छ, हामी लेखेर पठाउँछौं,’ प्रवक्ता सेजुवालले भने, ‘एउटै संगठन दुइटा दर्ता भयो भन्ने हल्ला पनि छ, एउटै संगठन दुइटा दर्ता हुँदैन त्यो व्यवस्था छैन, निवेदन आउन सक्ला, तर दर्ता हुँदा एउटै हुन्छ र मतपत्र आउँदा एउटा मात्रै हुन्छ।’
स्ववियु चुनावमा नेविसंघ एकताबद्ध भएर जाने र त्यो वातावरण बनाइने उनले बताए। चुनाव तयारीका लागि १४ वटा समिति संयोजक तोकिसकेको पनि उनले बताएका छन्।
टिकट वितरण, भागबन्डा, क्याम्पसहरूमा केन्द्रीय प्रतिनिधि तोक्ने विषयमा नेविसंघले आन्तरिक छलफल पनि गरिरहेको छ।
‘कुन क्याम्पसमा शेखर समूहसँग, कुन क्याम्पसमा गगन थापा पक्षसँग मिलेर जाने भन्ने जस्ता विषयमा संस्थापन पक्षले आन्तरिक छलफल गरिरहेको छ,’ नेविसंघका एक नेताले भने, ‘टिकट वितरणको चरणमा पुगिसकेका छैनौं।’
स्ववियु चुनावका लागि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा २२ वटा संघसंस्था र समूह दर्ता भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका सदस्य सचिव पशुपति अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
स्ववियु चुनावका लागि नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा (एमाले) निकट अनेरास्ववियु, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) लगायत संघसंगठन दर्ता भएका छन्।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल, अखिल क्रान्तिकारी, अनेरास्ववियु समाजवादी, नेपाल क्रान्तिकारी विद्यार्थी, राष्ट्रिय प्रजातन्त्रवादी विद्यार्थी संगठन, अखिल समाजवादी, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं, अखिल नेपाल विद्यार्थी युनियन, लोकतान्त्रिक विद्यार्थी संघ, अनेरास्ववियु (पाँचौं), विद्यार्थी जनमत संघ, नेपाल विद्यार्थी मोर्चा, नागरिक विद्यार्थी समाज, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियनलगायत दर्ता भएका छन्।
स्ववियु निर्वाचनमा सभापति, सचिव, कोषाध्यक्षलगायत केही सदस्य प्रत्यक्ष र उपाध्यक्ष, सहसचिव र केही सदस्यहरू समानुपातिकबाट पनि चयन हुनेछन्। उम्मेदवार हुन २८ वर्ष नकटेको हुनुपर्नेछ। फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ।