सभापति शेरबहादुर देउवाले अबको महाधिवेशनमा आफ्नो समूहबाट सभापति उठ्ने व्यक्ति नतोकेपछि नेपाली कांग्रेसका संस्थापन समूहका ‘११ भाइ’ मध्येका अधिकांश नेताहरू आ-आफ्नो ढंगले तयारीमा जुटेका छन्।
१५ औं महाधिवेशनका लागि सभापति पदमा नेता शेखर कोइराला र महामन्त्री गगन थापाको मात्रै चर्चा हुने गरेको भन्दै संस्थापन पक्षका ११ जना नेताहरू बूढानीलकण्ठ पुगेर सभापति देउवालाई भेटेर समूह एकढिक्का राख्न र समूह नेता तोक्न आग्रह गरेका थिए।
यो पनि: अबको सभापति को हो भन्दै देउवाकहाँ पुगे कांग्रेसका नेताहरू
तर सभापति देउवाले अबको महाधिवेशनबाट आफूले कसलाई समर्थन गर्ने हो भन्ने आफ्नै समूहका नेताहरूलाई भेउ नै दिएका छैनन्। भावी नेतृत्वबारे सभापति देउवाले मुख नखोलेपछि ती नेताहरू पनि अहिले जिल्ला दौडाहा गर्दैछन्। ‘म पनि सभापतिको दौडमा छु’ भन्ने सन्देश दिने र आफ्नो लोकप्रियताको ‘पानी नाप्ने’ उनीहरुको दौडको मुख्य धेय देखिन्छ।
नेता शेखर कोइराला र महामन्त्री गगन थापा विभिन्न कार्यक्रमका आवरणमा महाधिवेशनकेन्द्रित जिल्ला दौडाहामा लागेपछि नेता कृष्णप्रसाद सिटौलाको अगुवाइमा देउवा पक्षका नेताहरू गत फागुन २ गते बूढानीलकण्ठस्थित देउवा निवासमा जमघट भएका थिए।
उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री प्रकाशमान सिंह, शशांक कोइराला, सहमहामन्त्री उमाकान्त चौधरी, प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य एनपी साउद र बालकृष्ण खाण देउवा निवास पुगेका थिए।
समूहलाई एकढिक्का राख्ने नेताहरूका कुरामा सभापति देउवा सकारात्मक देखिए पनि भावी नेतृत्वबारे भने उनी खुलेनन्। सभापति देउवाले अहिले नै १५ औं महाधिवेशनका लागि आफ्नो समूहको नेता तोक्ने छनक नदेखेपछि सभापति पदका आकांक्षीहरूले आफ्नो ढंगले तयारी अघि बढाएका हुन्।
१४औं महाधिवेशनमा सभापति जित्न देउवालाई नै हम्मेहम्मे परेको थियो। उनले दोस्रो चरणमा मात्र जितेका थिए। देउवा नउठ्दा र उनको समूहबाट सबैले मान्ने एउटा उमेदवार नउठाउँदा आफ्नो समूहबाट सभापति जित्न कठिन हुने चिन्ता उनीहरूलाई छ।
२०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको कांग्रेसले १५ औं महाधिवेशनको कार्यतालिका ल्याएको छैन। अहिले क्रियाशील सदस्यता नवीकरणका काम भइरहेका छन् तर नयाँ क्रियाशील सदस्यता वितरण सुरू नै गरिएको छैन। महाधिवेशनको प्रस्थान विन्दु क्रियाशील सदस्यता विषय नै टुंगो नलागेकोले केन्द्रीय समितिबाट महाधिवेशन कार्यतालिका नआएको हो।
सभापति देउवासहित पदाधिकारीहरू समयमै महाधिवेशन हुने दाबी गर्न छाड्दैनन् तर प्राविधिक तथा व्यवस्थापकीय पाटो हेर्दा समयमै महाधिवेशन हुने छाँट देखिन्न। तर पनि देउवा पक्षका ११ नेतालाई आफ्नो समूहको नेता छान्ने हतारो छ। यसका कारण छन्।
पहिलो, देउवा अब कांग्रेस सभापति पदमा फेरि उम्मेदवार हुन पाउँदैनन्। विधानले नै त्यो रोकिदिएको छ। धारा ५७ मा पार्टीको सबै तहको कार्यसमिति सभापति निरन्तर दुई पदावधिभन्दा बढी सोही पदमा उम्मेदवार हुन पाउने छैन भन्ने लेखिएको छ। देउवा १३ औं र १४ औं महाधिवेशनबाट कांग्रेसको सभापति चुनिएका थिए।
अब १५ औं महाधिवेशनमा देउवा सभापति पदमा उम्मेदवार नै हुन नपाउने भएपछि उक्त समूहभित्रबाट सभापतिको उमेदवार को हुने भन्ने खुलदुली छ। देउवालाई १० औं महाधिवेशनदेखि सहयोग गर्दै आएका गोपालमान श्रेष्ठदेखि १३ औं र १४ औं महाधिवेशनमा सहयोग गरेका कृष्णप्रसाद सिटौलासम्मले यो समूहबाट १५ औं महाधिवेशनमा सभापति हुने आकांक्षा राखेका छन्, सँगै देउवाको आशीर्वाद पनि खोजेका छन्।
देउवाले सजिलैसँग आफ्नो उत्तराधिकारी तोक्ने सम्भावना देखिँदैन। उनले सभापतिको उत्तराधिकारी कसैले तोक्ने होइन, महाधिवेशनबाट चुनिने हो भन्न थालेका छन्।
गत मंसिर २१ गते विराटनगर विमानस्थलमा पत्रकारले सभापति देउवालाई ‘तपाईंको उत्तराधिकारी गगन थापा हो?’ भनेर सोधेका थिए। देउवा जबाफ दिन्छन्, ‘उत्तराधिकारी भन्ने बेकारको कुरा हो, घोषणा मैले गर्ने हो र? महाधिवेशनमा हुन्छ, हाम्रोमा महाधिवेशनले गर्छ।’
यो पनि: देउवालाई प्रश्न- तपाईंको उत्तराधिकारी गगन थापा हो?
पत्रकारलाई यति प्रष्ट जबाफ दिएका सभापति देउवाले फागुन २ गते आफ्नो समूहमा रहेका ११ नेतालाई भने उत्तराधिकारीबारे कुनै भेउ दिएनन्, पेटबोलीमै कुरा राखे। देउवाको यो शैलीले उनको समूहबाट सभापति हुन आकांक्षा राखेका नेताहरू आफै 'फिल्ड'मा उत्रिने निर्णयमा पुगेका हुन्।
'फिल्ड'मा उत्रिएर ‘पानी नाप्न’ सुरू गरेका '११-भाइ' मध्येका नेता हुन् सभापतिका तीव्र आकाक्षी- शशांक कोइराला।
बिपी पुत्रसमेत रहेका पूर्वमहामन्त्री शशांक पनि १५ औं महाधिवेशनमा सभापति उठ्ने तयारीमा छन्। उनले यो कुरा लुकाएका छैनन्। गत पुस २८ गते दाङमा भएको कार्यक्रममा शशांकले आफूमात्रै नभई शेखर र गगन लगायतका नाम पनि सभापतिका लागि चर्चामा आएको बताएका थिए।
यो पनि: कांग्रेस सभापतिका लागि म, शेखर र गगन लगायतको चर्चा चल्दैछ
‘आउँदो महाधिवेशनमा पार्टी सभापतिका लागि कुरा चलिरहेको छ, म पनि लड्छु कि भन्ने प्रश्नहरू छन्। शेखर दाइ हुनुहुन्छ, गगन थापालगायत अरू पनि छन्,’ शशांकको भनाइ थियो।
शशांकले पनि पछिल्लो समय जिल्ला दौडाहलाई जारी राखेका छन्।
उनले पार्टी सभापतिमा लड्छु भन्नेहरूको कार्यक्रम के हो भनेर कार्यकर्ताले सोध्नुपर्ने र आफूलाई सोधे भनिदिने पनि अभिव्यक्ति दिन्छन्। तर महामन्त्री छँदा नै उनको कार्यशैलीलाई लिएर त्यसबेला कांग्रेसभित्रै आलोचना हुने गरेको थियो।
शशांक १४ औं महाधिवेशनमा मौन बसे, दाजु शेखरको पक्षमा खुलेनन्। शेखर र शशांक सँगै बसेर पत्रकार सम्मेलन गर्ने भने पनि बालुवाटार पुगेका शशांक त्यहीबाट हेलिकप्टर चढेर संखुवासभा पुगेपछि देउवालाई सहयोग गर्न खोजेको रूपमा अर्थ्याइएको थियो।
शशांकनिकट नेताहरूले सभापति देउवाले आफूले पार्टी नेतृत्व छाड्नुपर्दा ‘बिपीको पार्टी बिपीकै छोरालाई बुझाउने’ भन्ने गरेको दाबी गर्छन्। तर यो कुरा लामो समय देउवासँगै रहेका नेताहरू भने स्वीकार गर्दैनन्। शशांकलाई भने १५ औं महाधिवेशनमा सभापतिमा देउवाको समर्थन मिल्छ भन्ने लागेको छ। त्यसैले उनी जिल्ला-जिल्लामा पुगेर नेता, कार्यकर्ता भेटघाट गर्दैछन्।
सभापति पदको आकांक्षा व्यक्त गर्दै जिल्ला पुग्न थालेका अर्का नेता हुन्- प्रकाशमान सिंह।
उनले आइतबार सुर्खेत पुगेर १५ औं महाधिवेशनमा पनि सभापति लड्ने संकेत गरे। उनी १४ औं महाधिवेशनमा सभापति उम्मेदवार बनेर ३७१ भोटमात्रै ल्याए। त्यसपछि दोस्रो चरणमा सभापति पदमा देउवालाई सघाए। कांग्रेसमा सभापति चुनिन ५० प्रतिशत बढी भोट ल्याउनुपर्छ। धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन्छ।
सभापति सहयोग माग्न देउवा १४ औं महाधिवेशनका बेला सिंहनिवास चाक्सीबारी पुगेका थिए। देउवालाई सहयोग गरेका सिंह त्यसयता देउवा पक्षमै छन्। सरकारमा पार्टीबाट नेतृत्व गरेर उपप्रधान तथा सहरी विकास मन्त्री छन्।
सिंहले २०७८ मंसिरको १४ औं महाधिवेशनमा सभापति पदमा उठेकोले अब त्यसभन्दा तल उठ्ने कुरा नहुने उल्लेख गर्दै १५ औं महाधिवेशनमा फेरि सभापति उठ्ने संकेत गरेका हुन्।
तपाईं सभापतिमा उठ्ने १०० प्रतिशत हो भन्ने पत्रकारको प्रश्नमा जबाफ दिँदै गणेशमान सिंहका पुत्रसमेत रहेका पूर्वमहामन्त्री प्रकाशमानले भने, ‘म ग्रासरूटबाट आएको हुँ, लिगेसी पनि छ। जिल्लाबाट नेतृत्व सम्हाल्दै महामन्त्री र उपसभापतिसम्म भएँ, संसदीय दलको उपनेता पनि भएँ। अब संसदीय दल नेता, प्रधानमन्त्री र सभापति हुन बाँकी छ।’
फागुन २ मा अबको सभापति उम्मेदवार तोक्नुपर्यो भन्दै सिंह पनि बूढानीलकण्ठ पुगेका थिए।
सिंह, विमलेन्द्र निधि र शशांकले एकअर्काका घरमा 'लन्च मिटिङ' गर्दै १५ औं महाधिवेशनको आन्तरिक तयारी पनि गर्ने गरेका छन्। १४ औं महाधिवेशनका बेला पनि उनीहरूले यस्तै बैठक बारम्बार गरे पनि सभापतिमै निधि र सिंह दुवै प्रतिस्पर्धामा उत्रिएका थिए।
यो पनि: निधि, सिंह र कोइरालाको आलोपालो 'लन्च मिटिङ'
अहिले सिंहको गुट पनि एकजुट छैन। १४ औं महाधिवेशनमा सिंह प्यानलमा उपसभापति उठेर पराजित सुजाता कोइराला अहिले शेखर कोइरालानिकट भइसकेकी छन्। महामन्त्री जितेका विश्वप्रकाश शर्माको ट्युनिङ अर्का महामन्त्री गगन थापासँग मिलेको छ।
सिंहले आफूलाई नै देउवा समूहबाट भावी सभापति उम्मेदवार बनाउनुपर्ने ठोस कुरा देउवासँग राखेका छैनन्।
उनीनिकटका नेताहरू भन्छन्, ‘उहाँ उपप्रधानमन्त्री हुनुहुन्छ, सभापतिकै मन जितेर त्यो जिम्मेवारी दिइएको होला। महाधिवेशन आउन धेरै नै समय बाँकी छ, अहिले नै उहाँ मलाई नै उत्तराधिकारी तोक्नुपर्छ भन्ने पक्षमा हुनुहुन्न, विगतमा एक्लै उभिएको पनि हो, फेरि पनि उभिनुहोला। अहिले नै देउवालाई किन दबाब दिने र!’
पूर्वउपसभापति विमलेन्द्र निधि पनि १५ औं महाधिवेशनमा सभापति पदका आकांक्षी हुन्। तर उनले यो कुरा खुलेर भनिसकेका छैनन्। १४ औं महाधिवेशनका बेला उनले बेग्लै सम्पर्क कार्यालय खोलेर महाधिवेशनकेन्द्रित गतिविधि गरेका थिए तर यसपालि त्यो चरणमा पुगिसकेका छैनन्, कार्यकर्ता भेटघाटमै छन्।
१४ औं महाधिवेशनका बेला देउवा सभापति नलडून, आफूलाई छाडुन् भन्नेमा थिए निधि। तर देउवा सभापति लड्ने भएपछि उनले त्यो समूह छाडे र आफ्नै प्यानलसहित उम्मेदवारी दिए। १३ औं महाधिवेशनका बेला सभापति देउवाले अर्को महाधिवेशनमा सहयोग गर्ने वचन दिएको र त्यो पूरा नहुने स्थिति देखिँदा निधिले बेग्लै प्यानल खडा गरेका थिए। तर निधि सभापतिमा पराजित भए। उनले जम्मा २५० मत ल्याएका थिए। दोस्रो चरणमा निधिले पनि देउवालाई नै सहयोग गरे, त्यसपछि उनी देउवा समूहमै छन्।
गत फागुन २ मा बूढानीलकण्ठमा निधि र सिंहबारे पनि कुरा भएको थियो। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले १४ औं महाधिवेशनमा दोस्रो चरणमा सभापति देउवालाई सहयोग गरेकोले निधि र सिंह पनि यही समूहमै रहेको जिकिर गरेका थिए।
निधि-शशांक र प्रकाशमानले १५ औं महाधिवेशनकेन्द्रित गरी असोज र पुसमा गरी दुई पटक छलफल गरिसकेका छन्। उनीहरूले छलफलको दायरालाई फराकिलो बनाउँदै जाने निष्कर्ष निकालेका थिए। निधि पनि १५ औं महाधिवेशनमा सभापति आकांक्षासहित जिल्लाहरू पुगेर कार्यकर्ता भेटिरहेका छन्।
यो पनि: कोइराला, सिंह र निधि भेटको अन्तर्य
देउवा समूहबाट सभापति पदको अर्को प्रबल दाबेदार हुन्- उपसभापति पूर्णबहादुर खड्का।
खड्का लगातार दुई पटक उपसभापति भइसके। कृष्णप्रसाद भट्टराईका अनुयायी खड्काले १५ औं महाधिवेशनमा आफू सभापति उठ्नेबारे अहिलेसम्म मुख खोलेका छैनन्। रूपन्देहीमा आइतबार खड्कालाई पत्रकारले सभापति उठ्ने हो भनेर सोध्दा उनले घुमाउरो तरिकाले संकेतसम्म गरे, प्रष्ट भनेनन्। नेविसंघ हुँदै आएका देउवा पार्टी सभापति बनेको र आफू पनि त्यसै गरी काम गर्दै आएकोले त्यो स्थानमा पुग्न सक्ने उनको भनाइ थियो।
उनी सभापति देउवासँग निकट रहेर काम गरिरहेका छन्। उनको नेतृत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान प्रशिक्षण प्रतिष्ठानले विभिन्न ठाउँमा प्रशिक्षण दिइरहेको छ, पछिल्लो समय उनी यस्तै कार्यक्रमका लागि जिल्लाहरूमा पुगेका छन्। यही क्रममा खड्का आइतबार रूपन्देहीमा पुगेका थिए।
यस्ता प्रतिष्ठानहरूलाई पार्टीभित्र गुट निर्माण गर्ने थलोका रूपमा पनि लिने गरिन्छ तर खड्काले भिन्न गुट सञ्चालन गरेको नदेखिएको कांग्रेस नेताहरू बताउँछन्।
दुई पटक उपसभापति भइसकेकोले अब उनी स्वभाविक रुपले देउवा समुहबाट सभापति पदका आकांक्षी हुन्। उनी पार्टी संगठन बलियो बनाउनुपर्ने अभिव्यक्ति दिइरहन्छन् भने सभापति देउवाका कार्यशैलीमा आलोचना गरेको खासै सुनिएको छैन।
‘देउवा समूहबाट उपसभापति पूर्णबहादुर खड्का नै सभापतिको उम्मेदवार हो भन्ने लाग्छ,’ कांग्रेसका एक पूर्वपदाधिकारीले भने। खड्का लामो समयदेखि देउवा समूहमै छन्। उनी १४ औं महाधिवेशनमा २१२१ मतसहित उपसभापति चुनिए। त्यसबेला ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए।
राजनीतिको किनारामा पुग्दै गरेका पुराना नेता गोपालमान श्रेष्ठ पनि सभापतिको आकांक्षी छन्।
देउवालाई असजिलो पर्दा आफूले भरथेक गरेकोले देउवाले पनि आफूलाई त्यो गुन तिर्नुपर्ने उनको एकसुत्रीय माग छ। देउवाले श्रेष्ठलाई यसअघि संगठन विभाग प्रमुखको जिम्मेवारी दिए पनि यसपालि भने खासै जिम्मेवारीमा छैनन्। उनी राजनीतिको मुलधारबाट किनारा लागेका छन्। उनले राष्ट्रिय सभा सदस्य टिकट खोजेका थिए, देउवाले दिएनन्।
देउवाले पार्टी फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाउँदा पनि साथ दिएका श्रेष्ठ कांग्रेस सभापति बन्न देउवाले सहयोग गरूँन् भन्ने चाहन्छन्।
कांग्रेस प्रजातान्त्रिकमा श्रेष्ठ दुई वर्षसम्म कार्यवाहक सभापति रहे, त्यसबेला देउवा जेलमा थिए। देउवालाई अप्ठेरो पर्दा गुन लगाएको र भुइँदेखि दु:ख गरेर आएकोले अब सबैको साथ र सहयोग पाउने आशा श्रेष्ठमा देखिन्छ।
बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत काम गरेकोले सबैलाई मिलाएर लैजान सक्ने खुबी आफूमा रहेको श्रेष्ठले दाबी गर्ने गरेका छन्।
यतिमात्र होइन, पार्टीमा कर्णाली, दलित, महिला र जनजातिलाई स्थान दिएर समावेशीता भित्र्याएको जससमेत श्रेष्ठले लिने गरेका छन्। श्रेष्ठले जिल्ला दौडाहाजस्ता गतिविधि भने गरेका छैनन्। तर ११-भाइसँग मिलेर दबाब दिन देउवाकहाँ गएको बेला मुखनै खोलेर आफू सभापति बन्नुपर्ने दाबी प्रस्तुत गर्नेमा उनी एक्ला थिए।
नेपाली राजनीतिका चतुर खेलाडी कृष्णप्रसाद सिटौला पनि सभापतिको दौडमा छन्। देउवा समूह एकढिक्का राख्न पछिल्लो समय मेहनत गर्नेमा पर्छन्-सिटौला। उनकै अगुवाइमा फागुन २ मा ११ भाइ एकढिक्का बनाउन र भावी नेतृत्व तोक्न मागसहित देउवा निवास बूढानीलकण्ठ पुगेर साढे २ घन्टा छलफल गरे।
सिटौला १३ औं महाधिवेशनमा सभापति लडे पनि पराजित भए र दोस्रो चरणमा देउवालाई नै सघाए। १४ औं महाधिवेशनमा सिटौला सभापति उठेनन् तर आफ्नो समूह सेटल गर्न लागे। महामन्त्रीमा देउवा टिमबाट प्रदीप पौडेललाई उठाए, उनी पराजित भए। सिटौला पक्षबाट केही केन्द्रीय सदस्य भने जिते।
१३ औं र १४ औं महाधिवेशनमा देउवालाई सभापति जिताउन भूमिका खेलेका सिटौला १५ औं महाधिवेशनमा देउवाकै समर्थनमा सभापति बन्न त चाहन्छन् तर अहिले नै सभापति उठ्छु भनेर घोषणा गरिसकेका छैनन्। बरू देउवालेनै त्यस्तो घोषणा गरिदिउन् भन्ने उनको चाहाना छ।
कांग्रेसमा सभापति जित्न र काम गर्न ‘टिम’ चाहिने उनले तर्क गर्दै आएका छन्। आफूसँग रहेको शक्तिले मात्रै कांग्रेस धान्न नसक्ने उनको जिकिर रहने गरेको उनी निकट नेताले सुनाए।
उनी क्रियाशील सदस्यतासम्बन्धी विषय छिटो टुंगो लगाएर ०८४ को चुनावअघि नै महाधिवेशन हुनुपर्ने पक्षमा छन्।
लामो समयदेखि देउवाको भित्री टिमका सदस्य हुन्- पार्टी प्रवक्ता प्रकाशशरण महत।
१४ औं महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्री लडे पनि पराजित भए। उनले १५५६ मत मात्रै ल्याएका थिए। जबकि महामन्त्रीमा गगन थापाले ३०२३ र विश्वप्रकाश शर्माले १९८४ मत ल्याएर चुनिए। महामन्त्री पराजित उनै महतलाई देउवाले केन्द्रीय सदस्य र प्रवक्तामा 'स्पेश' दिए।
महतले पनि १५ औं महाधिवेशनमा सभापतिमा आकांक्षा देखाएका छन्। उनी विभिन्न जिल्ला पुगेर पार्टी गतिविधिमा संलग्न रहे पनि सभापति उठ्ने घोषणा भने गरिसकेका छैनन्, संकेत भने दिएका छन्। देउवा समूह एकढिक्का रहने र यो समूहबाट उम्मेदवारी रहने महतको भनाइ छ।
अहिले सभापतिका लागि चर्चामा आएका नामभन्दा आफू पनि कमजोर नरहेको भन्दै सभापति लड्ने संकेत महतले दिएका हुन्।
यो पनि: कांग्रेस नेतृत्वका लागि कुनै पनि कोणबाट आफूलाई कम ठान्दिनँ : प्रकाशशरण महत
बूढानीलकण्ठमा उनीसहित ‘११ भाइ’ ले देउवासँग छलफल गरेको भोलिपल्टै फागुन ३ गते चितवन पुगेका महतले भनेका थिए, 'जहाँसम्म योग्यताको प्रश्न छ, जति पनि साथीभाई म-म भनेर हिँड्नुभएको छ, उनीहरूभन्दा कुनै पनि कोणबाट, कुनै पनि पृष्ठभूमिबाट कम मैले आफूलाई ठानेको छैन।'
यीसहित पूर्वउपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री उमाकान्त चौधरी, केन्द्रीय सदस्य एनपी साउद, बालकृष्ण खाण पनि विभिन्न पदका आकांक्षी छन्। उनीहरूले पनि जिल्ला दौडाहा गरिरहेका छन्।
१३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमात्रै उठेका शेखर कोइरालाले त्यसै बेलादेखि जिल्ला दौडाहालाई जारी नै राखेका छन्। उनी प्राय: जिल्लाहरूमै पुगिरहेका हुन्छन्। जिल्ला पुग्दा कोइरालाले सकेसम्म फरक गुटका किन नहुन्, जिल्ला सभापति र पदाधिकारीहरूसँग छलफल गर्छन्।
गत मंसिर १८ मा शेखरले कोशी प्रदेशका पालिका प्रमुख भेला गरे। १३७ पालिकामध्ये ११३ पालिका प्रमुख उक्त भेलामा आएका थिए। कोइरालाले पुस ५ मा धनगढी पुगेर सुदूरपश्चिम प्रदेशमा रहेका ९ जिल्ला कांग्रेसका सभापतिहरूसँग पनि बेग्लाबेग्लै छलफल गरेका थिए।
उनले १४ औं महाधिवेशनमा ‘एकपटक यसैपटक’ नारासहित सभापतिमा उम्मेदवारी दिएका थिए। तर उनले १५ औं महाधिवेशनमा पनि सभापति पदमा लड्ने घोषणा गरिसकेका छन्। आफू र गगन थापा सँगै रहेको बताइरहेका शेखरले १५ औं महाधिवेशन तयारीकेन्द्रित जिल्ला दौडाहालाई जारी राखेका छन्। शेखर र गगनबीच करिब दुई वर्षदेखि समूह बैठकमा छलफल भने भएको छैन।
महामन्त्री गगन थापाले पनि जिल्ला दौडाहालाई प्राथमिकता दिएका छन्। पछिल्ला दुई सातामा थापा १० भन्दा धेरै जिल्ला पुगेका छन् र विभिन्न कार्यक्रममा भाग लिएका छन्। यस्ता भेलामा थापाले आफू कुनै पनि गुटमा नरहेको र महाधिवेशनमा आफै टिम बनाउने छनक दिने गरेका छन्। उनले १४ औं महाधिवेशनमा पनि आफूले नै टिम बनाएको उल्लेख गर्दै अब आफू जहाँ उभियो त्यहीबाट टिम बन्ने संकेत गरेका छन्।
महामन्त्रीको हैसियतमा थापाले जिल्लाहरूमा भएका कार्यक्रममा सहभागीता जनाएपछि सभापति देउवा पक्षका केही पूर्वपदाधिकारीहरूले भने असन्तुष्टि जनाएका छन्। सांगठानिक र पार्टी गतिविधिमा पनि महामन्त्री थापा हाबी हुन खोजेको भन्दै सभापति देउवा पक्षका केही नेता असन्तुष्ट छन्।
महाधिवेशन नियमित प्रक्रिया भएको र त्यो बेला समूहहरू बन्ने सामान्य भएकोले पार्टीका नेताहरूको छलफल, ऊर्जा र बहस अहिलेदेखि नै त्यतैतिर केन्द्रित गर्न नहुने थापाको भनाइ छ।
उनले महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेकोले विधानले तोकेको समय सीमाभित्र महाधिवेशन हुने बताउने गरेका छन्। २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनबाट आफू महामन्त्री निर्वाचित भएको र जिम्मेवारीअनुसार काम गर्दै १५ औं महाधिवेशन सम्पन्न गराउने थापाको भनाइ छ।
‘म अहिले कांग्रेसको महामन्त्री छु, मेरो जिम्मेवारी भनेको १५ औं महाधिवेशनसम्म पार्टीका सबै काम गरेर सफलतापूर्वक आउँदो महाधिवेशन गराउने हो। त्यो जिम्मेवारीमा म केन्द्रित छु। अहिले नै १५ औं महाधिवेशन लाग्ने बेला भएको छैन भन्ने ठान्छु। महाधिवेशनको उम्मेदवारीबारे चर्चा गर्ने समय आइसकेको छैन,’ जिल्ला दौडाहामा थापाले भन्न छुटाउँदैनन्।
१३ औं महाधिवेशनमा थापा कृष्णप्रसाद सिटौला प्यानलबाट महामन्त्री उठेर पराजित भए। १४ औं महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्री उठेर ३०२३ मतसहित चुनिए। जबकि देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका शेखरले १८५५ मत ल्याएका थिए। त्यसबेला ४६२३ मत खसेको थियो।
देउवा २७३३ मतसहित सभापतिमा चुनिएका थिए। पहिलो चरणमा सभापति लडेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङले पनि दोस्रो चरणमा देउवालाई नै सहयोग गरेका थिए। त्यसैले उनीहरूलाई देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए।
सभापतिमा पहिलो चरणमा पाँच जना उम्मेदवार हुँदा ५० प्रतिशत मत कटाउन देउवालाई ८२ मत पुगेको थिएन। त्यसबेला देउवा पक्षले सिटौला पक्षसँग मिलेर प्यानल खडा गरे पनि पहिलो चरणमा सभापति देउवाले जित्न सकेका थिएनन्। सिटौला पक्षबाट अपेक्षित मत नआएको गुनासो त्यसबेला देउवा पक्षको थियो।
१४ औं महाधिवेशनमा तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल सभापति पदका उम्मेदवार हुन खोजेका थिए। संस्थापनइतर समूहका नेताहरूसँग घरघर चहार्दै दिनहुँजसो बैठक गरे पनि सहमति जुट्न सकेको थिएन। अन्तिममा पौडेल पछि हटे र संस्थापनइतर समूहकै शेखर कोइराला र प्रकाशमान सिंहले उम्मेदवारी दिँदा भोट बाँडिएको थियो।
रामचन्द्र पौडेल पनि त्यसबेला कसैको पक्षमा खुलेनन्। उनको निवास बोहराटार पुगेर देउवाले सहयोग मागे। औपचारिक रूपमा देउवालाई सहयोग गरेको नबताए पनि पौडेलमाथि त्यसबेला मौन बसेर देउवालाई नै सहयोग गरेको आरोप लाग्यो। पछि देउवाकै प्रस्तावमा पौडेल राष्ट्रपति बने।
१४ औं महाधिवेशनमा नेता धेरै हुँदा संस्थापनइतरलाई सभापति उम्मेदवार टुंगो लगाउन अन्तिम दिनसम्म पापड पेल्नु परेको थियो त्यही नियति अहिले देउवा पक्षमा देखिने सम्भावना छ। सभापति देउवाले अन्तिमसम्म पनि समूहबाट सभापति उठ्ने व्यक्ति नतोक्दा समूह नै छिन्नभिन्न हुने भय पनि संस्थापन पक्षमा छ।
प्रधानमन्त्री भएकै बेला, महाधिवेशन प्रतिनिधिहरूसँग लाइनमै घन्टौं बसेर हात जोडेर मत माग्दासमेत १४ औं महाधिवेशनमा देउवालाई निर्वाचित हुन ८२ मत पुगेको थिएन। उनै देउवाले खडा गरेका उम्मेदवारले अब सभापति जित्छन् कि जित्दैनन् भन्ने व्याकुलता पनि कांग्रेसभित्र छ। त्यसैले संस्थापनइतरका केही नेताहरू देउवाले समर्थन दिएका खण्डमा पनि लिने वा नलिने भन्नेमा छन्।
सभापति देउवाले उत्तराधिकारी आफूले तोक्ने नभई महाधिवेशनबाट चुनिने भनेकोले पनि उनको समर्थनमा मात्रै भन्दा पनि आफ्नै जग बलियो बनाउन अहिले उनीपक्षका '११ भाइ' मध्ये अधिकांश नेता र संस्थापनइतरका नेताहरू जिल्ला दौडाहामा जुटेका हुन्।
कतिपय कांग्रेसका नेताहरू भने १५ औं महाधिवेशनसम्म अहिलेका गुट भत्किने र नयाँ बन्ने बताउँछन्।
महाधिवेशनको पहिलो खुड्किलो क्रियाशील सदस्यता नै टुंगो नलागेको अवस्थामा अहिले नै को कुन समूहबाट सभापति लड्छ प्रष्ट तस्बिर देखा परेको छैन। कांग्रेसभित्र गुट नमिलेका आधारमा पनि क्रियाशील सदस्यता रोक्ने प्रवृत्ति छ। यस्तो प्रवृत्ति हटाउन खोजे पनि १२ औं महाधिवेशनदेखि क्रियाशील सदस्यतामा देखा परेका विवाद हल गर्न कांग्रेसले सकेको छैन।
साथै महिला उपसभापति थप गर्नेजस्ता विभिन्न आवाज पार्टीभित्र उठेको र त्यसबारे विधान अधिवेशनबाट टुंगो लगाउने पक्षमा कांग्रेस छ। पार्टीभित्र यस्ता विभिन्न बहस र सुधार तथा रूपान्तरणका आवाज उठे पनि नेताहरू मञ्च पायो कि चुनावदेखि चुनावसम्म, अधिवेशनदेखि अधिवेशनसम्म मात्रै केन्द्रित हुने गरेकोमा पनि असन्तुष्टिका आवाज सुनिएका छन्।