नेपाली कांग्रेस प्यूठानले प्यूठानले नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाका व्यवहार र गतिविधिको विरोध गरेको छ।
कांग्रेसका प्यूठान जिल्ला सभापति विष्णु गिरीले विज्ञप्ति जारी गरी सांसद थापाको व्यवहारको विरोध गरेका हुन्।
गिरीले सांसद थापामाथि फागुन १ गते झिमरुक गाउँपालिका – ५ मा भएको नेपाल टेलिकमको टु जी र फोर जी विस्तार कार्यक्रम प्रतिनिधिसभा सदस्य थापा र लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले संयुक्त रुपमा उद्घाटन गर्ने भनेर लेखेको ब्यानर कार्यक्रमस्थलमा टाँस्न नदिएको, टेलिकमका कर्मचारीलाई थर्काएको, सरुवाको धम्की दिने जस्ता अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्नुको साथै हेट स्पिच दिएको आरोप लगाएका छन्।
त्यस्तै गत पुस ११ गते जिल्ला समन्वय समितिको सभामा थापाले समावेशी समानुपातिक प्रणालीविरूद्ध अभिव्यक्ति दिएको, त्यो भन्दा पहिला कार्यक्रमस्थलमै पुगेर माइन्युट च्यात्न लगाएको, कांग्रेसबाट प्रदेशमा मन्त्री भएका व्यक्ति इंगित गरी ‘क्याटवाक् गर्दै हिँडेर विकास हुन्छ,’ भन्ने जस्ता अभिव्यक्ति दिएको आरोप पनि थापामाथि लगाइएको छ।
‘जनप्रतिनिधि गाउँ जाने वा आफ्ना मतदातालाइ भेट्ने र मतदातासँग के बोल्ने भन्ने कुरा सूर्य थापासँग अनुमति लिनुपर्ने हो?,’ विज्ञप्तिमा भनिएको छ।
गिरीले गठबन्धनको गरिमालाई बिखण्डन गर्ने हेटस्पिच बन्द गर्न तथा जितको उन्माद नराख्न ध्यानाकर्षकण गराएका छन्।
जिल्ला सभापति गिरीले एमाले सांसद थापामाथि अनपेक्षित जीतको उन्मादमा फरक विचार राख्ने व्यक्ति र जनप्रतिनिधिलाई पदीय मर्यादाविपरीत चरित्र पर्दशन गरेको तथा वहुदलीय सिद्धान्तलाई अनदेखा गरी निरन्तर असमावेशी स्वभाव पर्दशन गर्ने गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।