स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कबाडी व्यवसायीमाथि ज्यादती गरेको बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सिंहले मेयर बालेन कबाडी व्यवसायीमाथि हिटलरको शैलीमा प्रस्तुत भएको आरोप लगाए।
‘हामी २०७२ को गणतान्त्रिक संविधानमा छौं। काठमाडौं सातै प्रदेशको राजधानी हो र सम्पूर्ण नेपालीको राजधानी हो। जसरी जर्मनीमा नाजीवादको उदय भएको थियो।इलेक्टेड शासक हिटलरबाट। त्यस्तै हिटलरको शैलीमा काठमाडौंका मेयर बालेन शाहले हिजो २७ गते कबाडीमाथि डोजर चलाए। ती गरिब, मजदुर थिए। तिनलाई घाइते बनाइयो। ती मजदुरमा मधेसी पनि छन्, मुस्लिम पनि छन्, दलित पनि छ, सबै गरिब तप्काका छन्,’ उनले भने।
कबाडी व्यवसायीमाथि धरपकड गर्दा बसन्त नेपाली घाइते भएको र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको उनले बताए। त्यस्तै रौतहटका हरिष अन्सारी र हतिष देवानी, सर्लाहीका रञ्जन रौनियार घाइते भएको उनले बताए।
‘यिनीहरू कोही शासक छैनन्, जो घाइते भएका छन्। म बालेन शाहलाई चुनौती दिन्छु, हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ। हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ। हिम्मत छ भने रामशाह पथको सर्वोच्च अदालत भत्काएर देखाऊ। हिम्मत छ भने बालुवाटार र शीतल निवासको राष्ट्रपति भवन भत्काएर देखाऊ। यो नाजीवादको शैली काठमाडौंको मेयरको चल्दैन,’ उनले भने।
उनले नागरिकको एक ठाउँबाट अर्को ठाउँमा बस्ने, जाने, बोल्ने संविधान प्रदत्त मौलिक हक अधिकारको रक्षा गर्न संघीय सरकारलाई आग्रह गरे।
‘यो त कस्तो देश भयो भने, लथालिंग देशको भताभुंग चाला, जसले जहाँ सक्यो त्यहीँ खाला, न्याय नहुने? के न्याय नभएको देश हो? कानुन नभएको देश हो? मेयर खुब तानाशाह भएर निस्किएका छन्,’ उनले भने।