कीर्तिपुर नगरपालिकाको प्रमुख र वडाध्यक्षमा उम्मेदवारी नदिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र प्रश्न उठेको छ।
केन्द्रीय सदस्य विजय जैरूले कीर्तिपुरजस्तो सम्भावित जित्ने ठाउँमा उम्मेदवारी नदिएको भन्दै आगामी केन्द्रीय कमिटीमा छलफलको माग गरेका छन्।
उनले यसका लागि पार्टीमा लिखित निवेदन दर्ता गराएका छन्।
यसका साथै उनले २०८४ सालसम्म रास्वपा प्रतिपक्षमा बस्ने, सरकारमा जाने नजाने विषयमा छलफलको माग गरेका छन्।
त्यस्तै पार्टीका निर्वाचित वडा अध्यक्षलाई गैरदलीय बनाउने विषयमा छलफल गर्न पनि माग गरेका छन्।
‘उपनिर्वाचनको समीक्षा गर्ने, साथै उपनिर्वाचनमा कीर्तिपुरजस्तो सम्भावित स्थानमा उम्मेदवारी नदिएको सम्बन्धमा सम्बन्धित जिम्मेवारीमा रहेकालाई सोधपुछ गर्ने,’ उनले अघि सारेको विषयमा भनिएको छ।
रास्वपाले विस्तारित केन्द्रीय समितिको बैठक यही पुसको १९, २० र २१ आह्वान गरेको छ।
गत मंसिर १६ गतेको स्थानीय तह निर्वाचनमा ४४ स्थानमा चुनाव भएको थियो। उपनिर्वाचनमा रास्वपाले २५ ठाउँमा मात्रै उम्मेदवारी दिएको थियो।
त्यसमध्ये काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा अध्यक्ष जितेको थियो। रोजिना श्रेष्ठले वडाध्यक्ष जितेकी थिइन्।
कीर्तिपुरमा अन्तिम समयमा आएर रास्वपाले उम्मेदवारी दिएको थिएन। त्यहाँ जयराम कार्की प्रमुखमा एकल सिफारिस भएका थिए। उनी रास्वपाको नगर समितिको सभापति पनि हुन्।
मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुख र वडा नम्बर १ तथा ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए।