सर्वोच्च अदालतमा गोला प्रथाद्वारा न्यायाधीशले मुद्दा हेर्छन् भन्ने हामीले सुन्दै आएका छौं।
न्यायाधीशकहाँ मुद्दा कसरी पुग्छ, यसको प्रक्रिया के हो र सर्वोच्चमा कति मुद्दा हेर्न बाँकी छन् यसबारे हामी यहाँ विस्तृतमा चर्चा गर्दैछौं।
सर्वोच्चमा बिहीबार ५६ वटा नयाँ मुद्दा दर्ता भए। शुक्रबार पनि विभिन्न मुद्दा परेका छन्, तथ्यांक आइसकेको छैन। समग्रमा अहिलेसम्म सर्वोच्चमा २६ हजार ५१ वटा मुद्दा छिनोफानो गर्न बाँकी देखिन्छ।
सर्वोच्चमा ८ वर्ष पुराना मुद्दा पनि छन्। आठ वर्ष नाघेका त्यस्ता मुद्दा १५४ वटा छिनोफानो गर्न बाँकी छ। ५ वर्ष नाघेका त धेरै मुद्दा छन्। त्यस्ता २ हजार ७ सय ९८ वटा मुद्दा फैसला हुन बाँकी देखिन्छ।
यति धेरै मुद्दा हुँदा पनि किन सर्वोच्चले फटाफट फैसला नगरेको होला, प्रश्न स्वाभाविक छ। तर मुद्दा हेर्न सर्वोच्चमा दरबन्दीअनुसार न्यायाधीश छैनन्। सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने व्यवस्था छ।
सर्वोच्चमा अहिले १७ जना न्यायाधीश छन्। ती न्यायाधीशहरूले एकैदिन यी सबै मुद्दा हेर्न सक्ने कुरा पनि भएन। कुन मुद्दा कहिले र कुन न्यायाधीशले हेर्ने भन्नेबारे सर्वोच्चले नियम बनाएको छ र त्यसअनुसार व्यवस्थापन मिलाएको छ।
अब हामी सर्वोच्च अदालतको मुद्दा व्यवस्थापनबारे कुरा गर्दैछौं।
सर्वोच्च अदालतमा कुन मुद्दा, कुन दिन हेरिन्छ? भन्नेबारे एक साताअघि नै टुंगो हुन्छ। तर त्यो मुद्दा कुन न्यायाधीशले हेर्छन् भन्ने निर्क्यौल इजलास बस्ने दिनमा मात्रै हुन्छ। त्यसका दैनिक लागि गोलाप्रथा गरिन्छ।
यहाँ गोलाप्रथाको कुरा आयो। गोला प्रथाद्वारा मुद्दा छान्ने गरेको धेरै समय भइसकेको छैन।
सर्वोच्चमा २०७८ मंसिर १५ गतेदेखि गोलाप्रथा गरी इजलास गठन गर्ने प्रक्रिया सुरू भएको थियो। किन गरियो त गोला प्रथाको प्रक्रिया? सर्वोच्चले पारदर्शीताको लागि भनेर गोलाप्रथा गरी इजलास गठन गरेको हो।
आर्थिक चलखेलका आधारमा ‘बेञ्च सपिङ’ गरेर मुद्दाहरू हेरिन्छ भन्ने आरोप न्यायालयमाथि लाग्ने गरेको थियो। यही आरोप चिर्न सर्वोच्चले गोलाप्रथा सुरू गर्यो र यसबारे उसले सेवाग्राहीहरूलाई पनि बुझाउँदै आएको छ।
सर्वोच्चले शुक्रबार यस्तै विभिन्न विषयमा पत्रकारहरूलाई बोलाएर जानकारी पनि दिएको छ।
सर्वोच्चमा हरेक दिन बिहान १० बजेर १० मिनेटमा गोलाप्रथाको प्रक्रिया सुरू हुन्छ। त्यसका लागि न्यायाधीशहरू एउटा बैठक कक्षमा जम्मा हुन्छन्।
यदि गोलाप्रथा गर्ने दिन संवैधानिक इजलास बस्नु पर्ने रहेछ भने सुरूआतमा इजलास गठन हुन्छ। विशेषगरी बुधबार र शुक्रबारको दिन संवैधानिक इजलास बस्छ।
यसमा प्रधानन्यायाधीशसहित वरिष्ठतमको आधारमा न्यायाधीश बस्छन्। त्यसपछि क्रमश: बृहत पूर्ण वा पूर्ण, संयुक्त र एकल इजलास गठन हुन्छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशहरू रहन्छन्।
शुक्रबार एउटा बृहत पूर्ण इजलास परेको छ। त्यसका लागि निर्णय सुनाउने दिन भनेर अघिल्लो पेसीमै तोकिसकेको थियो।
तर नयाँ बृहत पूर्ण इजलास तोक्नुपर्ने अवस्थामा १ देखि १८ सम्म नम्बर रहेको गोटाको प्रयोग गरिन्छ। त्यसलाई कालो झोलामा राखिन्छ।
पूर्ण बृहत इजलासका लागि एक देखि ५ अंकित गोटी तान्ने न्यायाधीशहरू छानिन्छन्। यसमा पाँच जना न्यायाधीश बस्ने भएकाले पाँच वटा गोटी छान्ने भएको हो।
पाँचभन्दा थोरै वा धेरै संख्यामा पूर्ण इजलास गठन गर्नुपरेमा पनि यही प्रक्रियाले अघि बढ्ने गरेको छ।
त्यसपछि एकल इजलासका लागि २० वटाभन्दा बढी मुद्दा रहेको अवस्थामा दुई वटा एकल इजलास गठन हुने गर्छ। तर त्यो भन्दा कम रहेकाले शुक्रबार एउटाका लागि मात्रै प्रक्रिया अघि बढ्यो।
एकल इजलासका लागि रातो रङका १६ वटा गोटा र एउटा ‘अ’ लेखिएको गोटा हुन्छ। जुन न्यायाधीशले ‘अ’ लेखिएको गोटा छान्छन् त्यही न्यायाधीशले एकल इजलास हेर्नेछन्। यो प्रक्रिया पनि वरिष्ठतताका आधारमा गरिन्छ।
शुक्रबार भने संयोगवश: प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नै 'अ' लेखिएको गोटा छाने। प्रधानन्यायाधीश राउतको एकल इजलास बन्यो।
यदि प्रधानन्यायाधीश राउतले ‘अ’ लेखिएको गोटा नछानेको भए ‘अ’ लेखिएको गोटा नआएसम्मका लागि यो प्रक्रिया अघि बढ्थ्यो।
‘अ लेखिएको गोटा कसलाई पर्छ भन्ने कसैलाई पनि थाहा थिएन। यहीँ आएर छानेपछि मात्रै सम्माननीय प्रधानन्यायाधीशलाई 'अ' लेखिएको गोटा पर्यो भनेर थाहा हुन्छ,’ रजिष्ट्रार भद्रकाली पोखरेलले गोलाप्रथाद्वारा मुद्दा छान्ने प्रक्रिया बुझाउँदै भने।
एकल इजलासको टुंगो लागेपछि संयुक्त इजलास गठनको गोलाप्रथा सुरू हुन्छ। आज मंसिर २१ दिन पेसी सूचीबाट आठ वटा समूह प्रस्ताव गरिएका छन्।
१६ वटा गोटाबाट अब आठ वटा इजलासका लागि कुन-कुन न्यायाधीशले कोसँग संयुक्त इजलासमा बस्ने भनेर छनौट गर्ने प्रक्रिया अघि बढ्छ।
‘प्रधानन्यायाधीशको लागि तारा राखिएको गोटा बनाइएको छ भने बाँकी १६ वटा एक देखि १६ सम्म नम्बर राखिएको छ। आज प्रधानन्यायाधीशको एकल इजलास गठन भइसकेको हुँदा उहाँको गोटा झिकिन्छ,’ पोखरेलले भने, ‘१ देखि १६ वटा नम्बरका गोटा पनि वरिष्ठताका आधारमा छान्न दिइन्छ। इजलासका लागि साथी छनौट गर्दा बिजोड दिन वरिष्ठ न्यायाधीशहरूको नम्बर रहेको गोटाहरू कालो झोलामा राखिन्छ, बाँकीलाई बाहिरै। ती बाँकी बाहिर राखिएका न्यायाधीशहरूले आफ्ना साथी छान्नुहुन्छ।’
शुक्रबार न्यायाधीश सारंगा सुवेदीले गोलाप्रथाबाट चार नम्बर गोटा छानेकी थिइन्। वरिष्ठताका आधारमा चार नम्बरमा न्यायाधीश मनोजकुमार शर्मा छन्। जसअनुसार दुई जनाको संयुक्त इजलास गठन भएको हो।
न्यायाधीश महेश शर्मा पौडेलले हरिप्रसाद फुयाल, सुनिलकुमार पोखलेरले कुमार चुडाल, नृपध्वज निरौलाले कुमार चुडाल, अब्दुल अजीज मुसलमानले नहकुल सुवेदी गरी क्रमश: यसरी संयुक्त इजलास गठन हुने गरेको छ।
यसरी आठ वटा इजलास गठन प्रक्रिया तयार भयो। तर अझै पनि मुद्दाहरू आठ वटा इजलासका लागि विभाजन गरी राखिएका मुद्दाहरू कसको इजलासमा पर्छ भन्ने छान्न बाँकी नै हुन्छ।
ती आठ इजलासले मुद्दा कुन हेर्ने भन्ने निर्क्यौल गर्न कदेखि जसम्म र झदेखि तसम्मका गोटा राखिन्छ। बिजोर दिनमा वरिष्ठ आठ न्यायाधीशहरूले मुद्दा कुन हेर्ने भनेर छान्ने गरिन्छ। यी मुद्दाहरू कदेखि जसम्मका लागि पहिल्यै विभाजन गरिएको हुन्छ।
यसबारे प्रधानन्यायाधीश राउतले मुद्दाको सूची साप्ताहिक रूपमै तयार भइसक्ने बताए।
‘मुद्दाको समूह कदेखि जसम्म आठ वटा समूह छन्। त्यसको मुद्दाहरू यी-यी यो दिन पर्छन् भनेर पहिल्यै निस्किसकेको हुन्छ,’ उनले भने, ‘सपना श्रीमानलाई टेक श्रीमानले छनौट गर्नुभएको थियो। तर सपना श्रीमानले यो गोटाबाट कुन लिनुहुन्छ त्यसपछि मात्रै मुद्दाहरू भएको कजलिस्ट दिइन्छ।’
न्यायाधीश मल्लले ङ तानेकी थिइन्। उक्त ङमा भएको मुद्दा सूची शुक्रबार न्यायाधीश मल्लले हेर्ने भएको हो। त्यसपछि मात्रै उनले हेर्ने मुद्दाहरूबारे थाहा हुने बताइएको छ।
यसरी गोलाप्रथा गरिसकेपछि अघिल्लो दिनमा भएका प्रगति विवरण, मुद्दाको स्थिति र नयाँ दर्ता प्रक्रियाबारे सहरजिष्ट्रार एवं प्रवक्ता अच्युत कुईंकेलले ब्रिफिङ गर्छन्।
कुनै मुद्दाहरूको छिनोफानो गरी फैसला दिइसकेको अवस्थामा बैठकमा ताली बजाएर फैसला गर्ने न्यायाधीशहरूलाई तारिफ गर्ने प्रचलन पनि छ।