काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितेको छ।
पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं महानगरपालिका—१६ मा जित हात पारेको हो।
रास्वपाकी रोजिना श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरे। तेस्रो स्थानमा आएका नेपाली कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत प्राप्त गरे। एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२ मत ल्याएर चौथो भए।
२०७९को निर्वाचनमा यस वडा नेपाली कांग्रेसले जितेको थियो। कांग्रेसमा मुकुन्द रिजालले त्यतिबेला ४ हजार १९ मत ल्याएर वडाध्यक्ष जितेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३ सय १० मत प्राप्त गरेका थिए।
काठमाडौं महानगरपालिका–१६ निर्वाचन क्षेत्र नम्बर ७ मा पर्छ। यस क्षेत्रबाट २०७९ सालको प्रतिनिधि सभाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित भएका थिए। उनी अहिले रास्वपाको निर्वाचन संयोजन समितिका संयोजक पनि हुन्।
प्रतिनिधि सभा निर्वाचनमा पराजुलीले ८ हजार ७ सय ४३ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का श्यामकुमार घिमिरेले ६ हजार ८०० मत प्राप्त गरेका थिए।
तेस्रो मत मानुषी यमी भट्टराईले प्राप्त गरेकी थिइन्। नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट उम्मेदवारी दिएकी उनले ६ हजार ६३ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवविक्रम मल्लले २ हजार ८६३ र स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले २ हजार ७ सय ८३ मत प्राप्त गरेका थिए।
काठमाडौं ७ मा नेपाली कांग्रेस र माओवादी केन्द्रले साझा उम्मेदवारका रूपमा मानुषी यमीलाई अघि सारेका थिए।
समानुपातिकतर्फ भने रास्वपाले उल्लेख्य मतले एमाले, कांग्रेसलगायत दललाई पछि छाडेको थियो। रास्वपाले काठमाडौं ७ बाट १० हजार ५ सय ८८ मत प्राप्त गरेको थियो। एमालेले ६ हजार २ सय ९९ मत ल्याएको थियो। कांग्रेसले ५ हजार ४० मत प्राप्त गर्दा राप्रपाले ४ हजार ६२९ मत ल्याएको थियो।
एकीकृत समाजवादीले २ हजार २ सय ७८, हाम्रो नेपाली पार्टीले १ हजार ६ सय ७२, माओवादी केन्द्रले १ हजार ६ सय ६८ र जनता समाजवादी पार्टीले १ हजा र ४ सय ७ मत ल्याएका थिए।