काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दर्ता गरेका दुई स्वतन्त्र उम्मेदवारहरूले सहकार्य गर्ने भएका छन्।
स्वतन्त्र उम्मेदवार राजमान महर्जन र नरेश श्रेष्ठले सहकार्य गर्दै एक जनाले उम्मेदवारी निष्क्रिय तुल्याउन लागेका हुन्।
स्वतन्त्र उम्मेदवार महर्जनले सेतोपाटीसँग कुराकानी गर्दै सहकार्य गर्न लागिएको जानकारी दिए।
‘भोलि (सोमबार) कीर्तिपुरको पाँगास्थित लाछीमा कार्यक्रम गरेर सहकार्यको घोषणा गर्दैछौं,’ महर्जनले भने।
स्वतन्त्र उम्मेदवारी दिएका नरेश श्रेष्ठले स्वतन्त्र उम्मेदवार महर्जनलाई समर्थनको घोषणा गर्न लागेका हुन्।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उपस्थितिमा दुई स्वतन्त्र उम्मेदवारबीच सहकार्यको घोषणा गर्ने कार्यक्रम छ।
स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले सेतोपाटीसँग कुराकानी गर्दै आफूले स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय गर्न लागेको जानकारी दिए।
‘सोमबार बिहान ८ बजे कार्यक्रम गरेर मैले राजमान महर्जनलाई समर्थनको घोषणा गर्न लागेको हो,’ उनले भने, ‘उम्मेदवारी दिएपछि मैले ८० प्रतिशत घरदैलो गरेँ, उहाँ (महर्जन) पनि १५०० घरजतिमा पुग्नुभयो। स्वतन्त्र उम्मेदवार एक भएर आउनु भयो भने जित सुनिश्चित छ भनेर सुझाव आयो, त्यसअनुसार महर्जनलाई मैले समर्थन गर्न लागेको हो।’
उनकाअनुसार कीर्तिपुरको मेयरमा उम्मेदवारी दिएका २० जनामध्ये सात जना स्वतन्त्र उम्मेदवार छन्।
‘यीमध्ये चार जना स्वतन्त्र उम्मेदवारबीच मिलेर अघि बढ्ने भनेर पटकपटक छलफल गरियो। दुई जना छलफलबाट बाहिरिनुभयो, हामी दुईमध्येमा सहमति बनेर महर्जनलाई समर्थन गर्न लागेको हो,’ उनले भने, ‘मेयर जितेमा आपसी सहमतिमा चलाउनेलगायत समझदारी बनेको छ।’
उनले स्वतन्त्रहरू एक भए मात्रै जित हासिल गर्न सक्ने नभए दलका उम्मेदवारले जित्ने भएकोले स्वतन्त्र उम्मेदवारहरू मिल्नु पर्ने तर्क पनि गरेका छन्।
कीर्तिपुरको मेयर र वडा नम्बर १ तथा वडा नम्बर ४ मा यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।
यहाँ प्रमुख पदका लागि २० जना र वडा नम्बर १ मा ९ र ४ मा १३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
कीर्तिपुरमा ३१ हजार १ सय १२ जना मतदाता छन् भने १० वडामा कूल २० मतदान स्थल र ३८ मतदान केन्द्र छ।
यहाँ नेपाली कांग्रेस र नेकपा (एमाले) एक्लाएक्लै प्रतिस्पर्धामा छन् भने नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग गठबन्धन गरेको छ।
कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारहरू पनि 'गठबन्धन' गरेर अघि बढ्न लागेका हुन्।
यो पनि:
कीर्तिपुरमा १५ शय्याको अस्पताल बनाउँछु: कृष्णमान डंगोल (भिडिओ)
१५ करोडमै कीर्तिपुरलाई सांस्कृतिक सहर बनाउँछु: राजमान महर्जन (भिडिओ)
कीर्तिपुरमा सित्तैमा फोहोर उठाउनेदेखि खानेपानी र विद्युत निःशुल्क गर्छु: शिवशरण महर्जन (भिडिओ)
कीर्तिपुरलाई लाख मान्छे बस्नयोग्य सहर बनाउँछु: सुरेन्द्र मानन्धर (भिडिओ)
प्लस टु सकेका विद्यार्थीलाई थप अध्ययन र व्यवसाय गर्न निर्ब्याजी ऋण दिन्छौं: दीपक महर्जन (भिडिओ)