विभिन्न कारणले रिक्त पदका लागि मंसिर १६ गते हुने उपनिर्वाचनमा लुम्बिनी प्रदेशतर्फ सत्तारूढ एमाले र कांग्रेसले अघोषित गठबन्धन गरेको देखिएको छ।
लुम्बिनी प्रदेशअन्तर्गत पाँच जिल्लाका ६ पदमा हुन लागेको निर्वाचनमा एमालेले एक जना पनि उम्मेदवार मैदानमा उतारेन। उपनिर्वाचनका लागि एक उपाध्यक्षसहित पाँच वडाध्यक्ष पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। चुनाव हुन लागेका अधिकांश पद यसअघि नेपाली कांग्रेसले जितेको थियो।
रोल्पामा वडाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी
रोल्पाको रून्टीगढी गाउँपालिका-४ मा ६ दलले मनोनयन दर्ता गराएका छन्।
कांग्रेसबाट भूपमणि पुन मगर, एमालेबाट बेगम पुन मगर, माओवादी केन्द्रबाट नरेशजंग सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पहलबहादुर वली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हिमबहादुर पुन र मंगोल नेसनल अर्गनाइजेसनबाट पूर्णबहादुर बुढा मगरले उम्मेदवारी दर्ता गराएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका कम्प्युटर अप्रेटर गेहेन्द्र कुँवरले जानकारी दिए।
यो वडामा यसअघि कांग्रेसका टंकबहादुर पुन निर्वाचित भएका थिए। उनको उपचार क्रममा काठमाडौंमा मृत्यु भएको थियो।
रूकुम पूर्वमा उपाध्यक्ष पदमा ४ स्वतन्त्रसहित ७ जनाको उम्मेदवारी
रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी परेको छ।
कांग्रेसबाट केशकुमारी तुलाचन, माओवादी केन्द्रबाट नरपुरा बुढा, नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट सुनिता बुढा मगर, स्वतन्त्र रूपमा कोपिला पुन बुढा, भिमकुमारी पुन, मोहनभक्त बुढा र श्रीदेवी सुना (बिक) को उम्मेदवारी परेको छ।
कांग्रेसको रूख चिह्नबाट चुनाव लड्ने गरी उम्मेदवारी दिएका तुलाचन एमाले जिल्ला कमिटी उपसचिव हुन्। रूकुम पूर्वका कांग्रेस महाधिवेशन प्रतिनिधि नन्द बिष्टले मिलेर चुनाव लड्न कार्यकर्ताहरूको दबाब आएकाले आपसी सहमतिमा एमाले नेतालाई उम्मेदवार बनाएको बनाए।
गत स्थानीय तह निर्वाचनमा यहाँ माओवादी केन्द्रकी भूपेन्द्रा बुढा निर्वाचित भएकी थिइन्। उनको भदौ २८ गते सवारी दुर्घटनामा मृत्यु भएको थियो।
रूकुम पूर्व वडाध्यक्षमा ३ जनाको उम्मेदवारी
पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ।
माओवादी केन्द्रबाट जगत घर्ती, नेकपा (एकीकृत समाजवादी) बाट जीवन रोका र स्वतन्त्र रूपमा शुकराज बिकले उम्मेदवारी दिएका छन्।
यो वडामा कांग्रेस, एमालेजस्ता ठूला दलबाट उम्मेदवारी परेको छैन। लुम्बिनीका पाँच जिल्लामा हुन लागेको उपनिर्वाचनमध्ये वडाध्यक्ष पदमा सबभन्दा कम उम्मेदवारी परेको यहीँ हो।
यसअघिको निर्वाचनमा जसबहादुर श्रीपाइली विजयी भएका थिए। उनको गाउँपालिका उपाध्यक्षसँगै सवारी दुर्घटनामा मृत्यु भएको थियो।
बर्दियामा वडाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी
बर्दियाको ठाकुरबाबा नगरपालिका-४ को वडाध्यक्ष पदका लागि ६ दलबाट उम्मेदवारी परेको छ।
कांग्रेसबाट अमिन थारू, माओवादी केन्द्रबाट शेरबहादुर थारू, नागरिक उन्मुक्ति पार्टीबाट प्रीतिलाल थारू, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रत्नबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वासुदेव शर्मा र नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट विष्णुप्रसाद देवकोटाले उम्मेदवारी दर्ता गराएका छन्।
यो वडामा यसअघि कांग्रेसका सूर्यबहादुर बिष्ट निर्वाचित भएका थिए। उनी जिल्ला पार्टी सभापति भएपछि कार्यवाहक वडाध्यक्ष अमिन थारूलाई दिएका थिए। अमिन थारूले केही समयअघि कार्यवाहक वडाध्यक्ष पदबाट राजीनामा दिएर अहिले फेरि वडाध्यक्ष पदका लागि उम्मेदवार बनेका छन्।
गुल्मीमा तीन स्वतन्त्रसहित ८ जनाको उम्मेदवारी
गुल्मीको मुसिकोट नगरपालिका-१ को वडाध्यक्ष पदका लागि तीन स्वतन्त्रसहित आठ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसबाट आनन्द श्रेष्ठ, एमालेबाट दलबहादुर थापा, माओवादी केन्द्रबाट दुर्गाबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ईश्वरी खाती क्षेत्री, स्वतन्त्र रूपमा कुलबहादुर थापा, योगेन्द्र खरेल र पोमानन्द खरेलले उम्मेदवारी दिएका हुन्।
यसअघि यहाँ नेपाली कांग्रेसका मोहन घिमिरे निर्वाचित भएका थिए। उनले आत्महत्या गरेपछि रिक्त स्थानमा पुनः निर्वाचन हुन लागेको हो।
कपिलवस्तुको वडाध्यक्ष पदमा १४ जनाको उम्मेदवारी
कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ को वडाध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी परेको छ।
कांग्रेसबाट दिनेशकुमार यादव, माओवादी केन्द्रबाट रफि मोहम्मद मुसलमान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अवधेशकुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इनताज मोहमद धोबी, जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर कुर्मी चौधरी, जनमत पार्टीबाट सीताराम पटेल कुर्मी, नागरिक उन्मुक्ति पार्टीबाट सूर्यकुमारी चौधरी थारू, जनता समाजवादी पार्टीबाट रमेशकुमार पाण्डे, नेकपा (एकीकृत समाजवादी) बाट सुब्बा थारू र नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट मोहम्मद ताहिर मुसलमानले उम्मेदवारी दर्ता गराएका छन्।
यहाँ स्वतन्त्र रूपमा अब्दुल मुयिद, अब्दुल अब्बल फकिर, पुजारी थारू, सर्वजित मल्लाह गरी चार जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
यसअघि यहाँ कांग्रेसका तिलकराम यादव निर्वाचित भएका थिए। उनको ब्रेनट्युमरका कारण मृत्यु भएको थियो।