नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर दुई विषयमा ध्यानाकर्षण गराएका छन्।
मन्त्रालयमा पुगेर महामन्त्री थापा र प्रतिनिधि सभा सांसद सञ्जय गौतमले मन्त्री पाण्डे सचिव लगायतसँग छलफल गरेका हुन्।
हवाई भाडामा भएको अस्वाभाविक वृद्धिलगायतका विषयमा मन्त्री पाण्डेसहित मन्त्रालयका अधिकारीहरूलाई ध्यानाकर्षण गराएको थापाको भनाइ छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरउन्नतीको काम भइरहेको छ।
यसले गर्दा दैनिक रूपमा १० घन्टाका दरले विमानस्थल बन्द गरेर काम भइरहेको छ।
‘अन्तर्राष्ट्रिय हवाई भाडादर अस्वाभाविक रूपमा वृद्धि भएको छ, जसको सिधा असर आममानिसमा परेको छ। हामीले यो सम्बन्धमा मन्त्रालयको धारणा सुन्यौं। यसलाई सुधार गर्न के काम भइरहेको छ भन्ने जानकारी लियौं,’ महामन्त्री थापाले भने।
उनले हवाई भाडा दर महँगो रहेकोले समाधानको लागि सबै उपाय लगाएर भाडादरमा भइरहेको अनियमिततालाई चेक गर्न आवश्यक रहेको सुझाव पनि दिएको बताए।
‘विमानस्थलमा हुने निर्माण कार्यकै कारण देशको हवाई यातायात र भाडादर प्रभावित हुने भएकोले अहिले भइरहेको विमानस्थल निर्माणका कामलाई के-कस्तो उपायहरू लगाएर थप गतिशील बनाएर कसरी निर्माणको अवधि घटाउन सकिन्छ? जसले गर्दा निर्माण अवधि घट्न सक्छ भन्ने हाम्रो चासोको विषयमा मन्त्रालयले काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ, जुन सराह्रनीय छ,’ थापाको भनाइ छ।
कोरियामा जाने श्रमिकहरू महँगो हवाई भाडदरका कारण मारमा परेका छन्।
‘नेपाल वायुसेवालाई नै कोरिया उडान गराएर हुन्छ वा अन्य विकल्प खोजेर हुन्छ जसरी पनि यो समस्या समाधान गर्नुपर्छ भन्ने धारणा राख्यौ,’ थापाले भने, ‘यस सम्बन्धमा मैले अध्ययन गरेर, अन्तरक्रिया गरेर लिएको सबै कुराको जानकारी गराएको छु। यसका लागि मन्त्रालयले परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, इपिएस, नेपाल वायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरण लगायत सम्बन्धित सबै निकायसँग एकै ठाउँमा बसेर, समन्वय गरी तत्काल निचोडमा पुगेर कार्यान्वयनमा लिएर जानुपर्नेछ।’
मन्त्री पाण्डेले तुरून्त काम हुने गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।