नेकपा (एमाले) ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंका चार वटै उम्मेदवारको टुंगो लगाएको छ।
बुधबार बसेको काठमाडौं जिल्ला कमिटी बैठकले कीर्तिपुर नगरपालिका प्रमुख पदका लागि सुरेन्द्र मानन्धर, सोही नगरपालिकाको वडा नम्बर १ को अध्यक्षका लागि हर्ष महर्जन र ४ का लागि बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदमा लक्ष्मीरत्न तुलाधरको नाम टुंगो लगाएको पोलिटव्युरो सदस्य कृष्ण राईले जानकारी दिए। उनकाअनुसार मातहत कमिटीको सिफारिसका आधारमा सर्वसम्मत रूपमा उम्मेदवारहरू टुंगो लगाइएको हो।
उम्मेदवार टुंगो लगाउने बैठकमा महासचिव शंकर पोखरेल पनि उपस्थित थिए।
एमालेले स्थानीय तह उपनिर्वाचनमा गठबन्धन नगर्ने बताएको छ। उपनिर्वाचन हुने ४४ स्थानमा बिहीबारसम्म उम्मेदवार सिफारिस गर्न पनि एमालेले निर्देशन दिएको छ।
एमालेले उपनिर्वाचनसम्बन्धी छलफल र तयारीका लागि कात्तिक २४ गते सचिवालय बैठक पनि बोलाएको छ।