गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी गरेको तथ्य भेटिए कारबाही हुने बताएका छन्।
मुस्ताङको कोराला नाकामा बनाइएको अध्यागमन भवनको उद्घाटन गरेर फर्किएपछि पोखरामा पत्रकारसँग कुरा गर्दै लेखकले उक्त कुरा बताएका हुन्।
‘उपसभापति धनराज गुरुङको कुरा उठाउनु भयो। म के आग्रह गर्न चाहन्छु भने धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ, यदी प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने कारबाही हुन्छ,' गृहमन्त्री लेखकले भने।
तथ्य, प्रमाणका आधारमा सरकारले अनुसन्धान र कारबाही अघि बढाएको छ। सहकारी ठगी, अपचलन र हिनामिनामा संलग्न कसैलाई नछाड्ने उनले बताए।
‘कोही व्यक्तिको नाम लिनै पर्दैन। तथ्य प्रमाणले जे देखिन्छ, त्यही ढंगले अघि बढ्छ,’ उनले भने, ‘ज-जसले गल्ती गर्नुभएको छ उनीहरूमाथि कारबाही हुन्छ। गल्ती गर्नु भएको छैन भने हुँदैन।’
सरकारले मुख हेरेर अनुसन्धान गर्ने नभई तथ्य र प्रमाण हेरेर अनुसन्धान तथा कारबाही गर्छ। जता जता तथ्य र प्रमाण जान्छ अनुसन्धान पनि त्यतै जाने उनको भनाई छ।
रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर कारबाही गरेको हो भन्ने प्रश्नमा गृहमन्त्री लेखकले एक जना व्यक्तिलाई मात्र अनुसन्धानको दायरामा नल्याएको बताए।
सहकारी ठगीका विषयमा गठित संसदीय छानविन समितिले अनुसन्धान गरेर कारबाही सिफारिस गरेका सबै व्यक्ति अनुसन्धानको दायरामा आइसकेको उनले बताए।
‘संसदीय समितिले अनुसन्धान गरेर कारबाही गर भनेर जिबी राई, रवि लामिछाने, छविलाल जोशी र कुमार रम्तेलको नाम सिफारिस गरेको थियो। जिबी राई बाहिर हुनुहुन्छ। रवि जी र छविजी अनुसन्धानको प्रक्रियामा हुनुहुन्छ। रम्तेल जी पहिल्यै जेलमा हुनुहुन्छ,’ उनले भने।
संसदीय समितिको निर्देशन अनुसार सरकारले प्रतिवेदन कार्यान्वयनमा लगेको भन्दै उनले एउटा व्यक्तिमाथि मात्र केन्द्रित भएको भन्ने आरोप झुटो भएको बताए।
सरकारले सहकारी ठगी, अपचलन, हिनामिना र संगठित अपराधका दोषीलाई कारबाही गर्ने मात्र नभएर सहकारीको बचत फिर्ता गर्ने र सहकारीलाई सुधार्न पनि लागेको बताए।
‘हामीले ठगी र संगठित अपराधको कारबाही मात्र अघि बढाएको होइन। सहकारीको बचत फिर्ता गराउन संवेदनशील भएर लागेका छौ। सहकारीको समग्र सुधारका लागि कानुन संशोधन गरेर हुन्छ कि के गरेर हुन्छ समस्या समाधान गर्ने गरी अघि बढेका छौ,’ उनले भने।