नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनीय रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मनपरी ढंगले चल्ने र नेकपा (एकीकृत समाजवादी) लाई बेवास्ता गर्ने कुरा निन्दनीय र आलोच्य भएको टिप्पणी गरे।
उनले सबै कुरामा छलफल गर्नका लागि आफ्नो पार्टी तयार रहेको बताए।
उनले राष्ट्रियता, लोकतन्त्र, परिवर्तनको सवालमा कसैले सहकार्य गर्न आफूहरू हातेमालो गर्न तयार रहेको बताए।
उनले संविधानमा संशोधन गर्नुपर्ने भए पनि मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुरा आवश्यक नरहेको बताए।
उनले संशोधनको विषयहरू आएपछि आफूहरू छलफल गर्न तयार हुने पनि बताए।
उनले भने, ‘हिजो मात्रै संविधान दिवस थियो। आज ४ गते हो। संविधान दिवसका सन्दर्भमा संविधानका राम्रो कुराहरू केके हुन्, भन्ने बारेमा व्यापक छलफल भए। हिजो राष्ट्रपतिको सम्बोधन पनि उहाँको भाषण पनि मैले सुनेँ। उहाँले संविधानको पोजिटिभ कुरालाई अघि सार्नुभयो। ती पोजेटिभ कुराको व्यापक प्रचारप्रसार गर्नुपर्छ। नेगेटिभ के छ ? त्यसबारेमा सुधारका लागि लाग्नुपर्ने आवश्यकता छ। अहिले संविधान संशोधनको बहस चलाउन खोजिएको छ। वास्तवमा संविधानमा संशोधन गर्नुपर्ने कुरा नभएका होइनन्। तर त्यसलाई मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुनै आवश्यकता थिएन। त्यसबारेमा धेरै कुराहरू आइरहेका छन्।’
उनले अगाडि भने, ‘नियतमाथि प्रश्न खडा भएको छ। उद्देश्यमाथि प्रश्न खडा भएको छ। म त्यसमा धेरै प्रवेश गर्न चाहन्नँ। पहिला कुरा आओस्, हामी सबै कुरामा छलफल गर्न तयार छौं। तर जनताको अधिकारलाई कमजोर बनाउने गरी, जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी र यसका राम्रा कुरालाई समाप्त पार्नेगरी यस्ता कुनै पनि कुरा आउँछन् भने त्यो हामीलाई स्वीकार्य हुनेछैन। तर यत्तिकै सजिलै गरी कसैले पास पनि गर्न सक्दैन। राष्ट्रिय सभामा हामी एकतावद्ध भयौं भने, त्यहाँ दुई तिहाइ पुग्नेवाला छैन।’
जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने र राम्रा कुरालाई समाप्त पार्नेगरी कुनै पनि संशोधन भए स्वीकार्य नहुने उनले बताए।
उनले भने, ‘त्यसो भएकाले चेतना भया, समयमै यो कुरामा होस् जाओस्। मनपरी ढंगले चल्ने र हाम्रो पार्टीलाई बेवास्ता गर्ने, अण्डरमाइण्ड गर्ने यस्तो प्रवृत्ति अत्यन्तै निन्दनीय छ। आलोच्य छ। हामी सबै कुरामा छलफल गरेको चाहन्छौं। हामीसँग राष्ट्रियताको सवालमा कसैले सहकार्य गर्न चाहनुहुन्छ भने, लोकतन्त्रको सवालमा, परिवर्तनको सवालमा सहकार्य गर्न चाहनुहुन्छ। एकतावद्ध भई हातेमालो गर्न तयार छौं।’
अध्यक्ष नेपालले पार्टीका उपाध्यक्ष मेटमणि चौधरीले लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालकै हो भन्ने मान्यता अघि सारिसकेपछि त्यसलाई अझै गीतको विषय बनाउनुपर्ने आवश्यकता नरहेको बताए।
उनले सामाजिक सञ्जालमा अबदेखि पार्टीका विरूद्ध जथाभावी नलेख्न पार्टीका नेता/कार्यकर्ताहरूलाई निर्देशन दिए।—न्युज एजेन्सी नेपाल