सहकारी संस्था बचत अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले सोमबार प्रतिवेदन पेस गरेको छ।
सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको ६५ करोड रुपैयाँ रकमको सम्बन्धमा रवि लामिछाने पनि जिम्मेवार रहने ठहर गरेको छ। गोर्खा मिडिया नेटवकर्कको सेयर खरिद ब्रिकी गर्दा किर्ते कागजका आधारमा गरिएको निष्कर्ष पनि समितिले निकालेको छ।
त्यस्तै समितिले कांग्रेस नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरूङको विषयमा प्रारम्भिक अनुसन्धान गरेको तर निष्कर्षमा पुगिनसकेको बताएको छ।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै समिति सदस्य लेखनाथ दाहालले धनराज गुरूङको विषयमा निष्कर्षमा पुग्न नसकेको र थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको जानकारी दिए।
'प्रारम्भिक अनुसन्धान गर्दा आर्थिक अपचलनमा संलग्नता देखिन्छ। उहाँको श्रीमतीसँग सम्बन्ध विच्छेद पनि कानुनसम्मत तर नक्कली देखिन्छ। २०७६ सालमा उहाँले सम्बन्ध विच्छेद गर्नुभएको छ। फेरि २०७७ सालमा उहाँले श्रीमतीलाई साक्षी राखेर ऋण लिनु भएको छ। केही समयअघि श्रीमतीको ऋणको किस्ता पनि तिर्नुभएको देखिन्छ। तार्किक निष्कर्षमा पुग्न थप अनुसन्धान गर्न बाँकी छ। थप अनुसन्धान गर्न हामीले नेपाल सरकारलाई निवेदन गरेका छौं,' दाहालले भने।
धनराज गुरूङ र उनकी पूर्वश्रीमती ज्योति गुरूङमाथि सहकारीको १४ करोड ८१ लाख रूपैयाँ अपचलनको आरोप लागेको छ।
ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरूङले सहकारीको बचत दुरूपयोगको छानबिन गर्न गठित संसदीय छानबिन समितिमा धनराज र ज्योति सगोलमा रहँदाकै बखत रकम दुरूपयोग भएको बयान दिएका हुन्।
पढ्नुस्- सांसद धनराज गुरूङलाई प्रश्न– कारबाहीबाट बच्न तपाईंले श्रीमतीसँग नक्कली डिभोर्स गरेको आरोप छ नि?