नेपाली कांग्रेसका सांसद धनराज गुरूङले मितेरी सहकारीसम्बन्धी विषय जोडेर आफूमाथि आरोप लागेकोले छानबिनको माग गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले कुनै आशंका छ भने तुरून्त आफूमाथि छानबिन गर्न माग गरेका हुन्।
‘मितेरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न संस्थाका अध्यक्ष, प्रबन्ध निर्देशक, सञ्चालक समितिका सदस्यहरू, क-कसलाई छानबिन गर्नु पर्ने हो तुरून्तै छानबिन गरियोस्,’ कांग्रेस उपसभापतिसमेत रहेका गुरूङले भने, ‘यदि यस विषयमा कुनै आशंका छ भने तुरून्तै ममाथि छानबिन गरियोस्, गल्ती गर्ने व्यक्तिलाई उन्मुक्ति दिनु हुँदैन।’
उनले आफूमाथि लागेको आरोपका विषयमा निष्पक्ष छानबिनको माग गरेका हुन्।
‘धनराज गुरूङ खुला किताब हो, सभामुख महोदय जसले जताबाट अनुसन्धान थाले पनि हुन्छ,’ उनले भने।
उनले सम्बन्धविच्छेद नक्कली प्रमाणित गर्न पनि चुनौती दिएका छन्।
‘घर परिवारमा दरार आएपछि १० वर्षे बच्चा हुर्काउनुपर्ने पीडा म आफैसँग छ। सम्बन्धविच्छेदपछि पूर्वश्रीमतीबारे जानकारी हुने कुरै भएन,’ उनले भने, ‘केही सांसदले भनेजस्तै म संसदीय छानबिनका लागि पनि तयार छु।’
उनले आफू प्रमाण लुकाउन सक्ने ठाउँमा पनि नभएको बताएका छन्।
‘म निष्ठा र नैतिकतामा विश्वास गर्दछु। मेरामाथि लागेको आरोपमा छानबिन गर्न सभामुख, गृहमन्त्रीलाई आग्रह गर्दछु,’ उनले भने, ‘विगतमा पनि कुनै आरोप लाग्दा अदालतबाट निर्दोष प्रमाणित भएको स्मरण गराउँदछु।’
सहकारी ठगीसम्बन्धी प्रतिवेदन आउनै लाग्दा विषयबस्तुलाई अन्यत्रै मोड्न आफूमाथि आरोप लागेको उनको दाबी छ।
यो पनि: सांसद धनराज गुरूङलाई प्रश्न– कारबाहीबाट बच्न तपाईंले श्रीमतीसँग नक्कली डिभोर्स गरेको आरोप छ नि?