राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले नेपाली कांग्रेसका सांसद धनराज गुरूङ र ज्योति गुरूङविरूद्ध सहकारी बचत ठगीमा अनुसन्धान माग गर्दै उजुरी परेको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले सहकारी बचत ठगीमा संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कांग्रेस सांसदविरूद्ध नै सहकारी बचत रकम ठगीको उजुरी सिआइबीमा परेको खबर सञ्चारमाध्यमहरूमा आएको बताए।
‘उजुरी नपर्दा र प्रमाण नहुँदा पनि रास्वपा सभापति रवि लामिछानेलाई सदनमा के-के सम्म गरियो? मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरूङले आफ्नो संस्थाको करिब १५ करोड रकम हिनामिना गरेकोमा धनराज गुरूङ र ज्योति गुरूङविरूद्ध ठगी गरेको दाबीसहित उजुरी दर्ता गराउनु भएको रहेछ,’ उनले भने, ‘अब धनराज गुरूङका बारेमा छानबिन हुन्छ कि हुन्न? सहकारी ठगी लुकाउन सम्बन्धविच्छेद गरेको सुन्न आएको छ।’
उनले एपीवान टिभीमा जिबी राईले लगानी गरेको भन्दै त्यो लगानी सहकारीबाट लगेको हो कि होइन भनेर छानबिन गरिनुपर्ने बताए।
‘सरकार बनाउने भूमिका खेल्ने एपीवान टिभीका मालिकलाई सरकारले छानबिन गर्ने हिम्मत राख्छ कि राख्दैन। म गृहमन्त्रीलाई प्रश्न सोध्न चाहन्छु,’ उनले भने।