नेपाली कांंग्रेसका महामन्त्री गगन थापाले गत फागुनको महासमिति बैठकमा पेस गरेको गठबन्धन नगरी आगामी आमनिर्वाचन लड्ने प्रस्ताव केन्द्रीय समिति बैठकबाट अनुमोदन भएको छ।
महामन्त्री थापाले सांगठनिक प्रस्तावमा समेटेको उक्त विषय रणनीति भन्दै सभापति शेरबहादुर देउवा र उनीनिकट केन्द्रीय सदस्यहरुले अहिल्यै निर्णय गर्न हुन्न भन्ने मत राख्दै आएका थिए। पूर्वउपसभापति विमलेन्द्र निधिले जनकपुरमा आयोजित एक कार्यक्रममा महामन्त्रीद्वयका प्रस्ताव फिर्ता लिनुपर्ने पनि बताएका थिए।
तर आइतबारको केन्द्रीय समिति बैठकले घुमाउरो भाषामा अबको आमनिर्वाचनमा गठबन्धन नगर्ने निर्णयलाई अनुमोदन गरेको छ। निर्णयमा गठबन्धन शब्दको सट्टामा कांग्रेसले 'भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै तागतमा एक्लै लड्ने' वाक्य राखेको हो।
प्रवक्ता प्रकाशशरण महतका अनुसार पार्टी संंगठन बलियो बनाएर लोकप्रिय हुँदै एक्लै बहुमत प्राप्त गर्ने गरी अघि बढ्ने सांगठनिक प्रस्ताव पार्टीले अनुमोदन गरेको हो।
केन्द्रीय समितिले पारित गरेको महामन्त्री थापाको प्रस्तावमा भनिएको छ, `हाम्रो आफ्नो सङ्गठनलाई थप उर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनर्स्थापित गर्नेछौं। हामी भविस्यमा हुने आवधिक निर्वाचनहरुमा आफ्नै तागतमा एक्लै लड्ने छौँ। र हाम्रा मतदातालाई रुख चुनावी चिह्नमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं।´
महामन्त्री थापासहित उपसभापति पूर्णबहादुर खड्का र अर्का महामन्त्री विश्वप्रकाश शर्माले महासमितिमा पेस गरेको प्रस्तावहरूलाई केन्द्रीय समितिले अनुमोदन गरेको हो।
महासमितिमा पेस गरिएका प्रस्तावका कतिपय भाषा परिमार्जन गरेर केन्द्रीय समितिबाट अनुमोदन गरिएको नेताहरूले बताएका छन्।
केन्द्रीय समिति बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०८० फागुण ७ देखि १० गतेसम्म गोदावरी ललितपुरमा सम्पन्न कांग्रेसको महासमिति बैठकमा केन्द्रीय समितिको तर्फबाट उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत “नीति-प्रस्ताव”, महामन्त्री गगन थापाद्वारा प्रस्तुत "सांगठनिक प्रस्ताव" र महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत “समसामयिक राजनैतिक प्रस्ताव” उपर महासमितिको बैठकमा वृहत छलफलबाट प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जन गरी प्रस्तुत परिमार्जित प्रस्ताव केन्द्रीय समितिको आइतबारको बैठकबाट सर्वसम्मत पारित गरियो।’
महामन्त्री शर्माले पेस गरेको एक्जिट पोलिसीसम्बन्धी प्रस्ताव भने संविधान संशोधनका बेला आवश्यक निर्णय गर्ने गरी कांग्रेसभित्र समझदारी बनेको छ।
साथै कांग्रेसले आगामी निर्वाचनहरूमा गठबन्धन नगरी एक्लै लड्ने नीति लिएको छ। २०७९ को चुनावमा कांग्रेसले तत्कालीन सत्ता गठबन्धन माओवादी, एकीकृत समाजवादी लगायतसँग गठबन्धन गरेको थियो।
यो पनि:
'एक्जिट पोलिसी'बारे संविधान संशोधनका बेला निर्णय गर्ने कांग्रेसमा समझदारी
कांग्रेस केन्द्रीय समितिले पारित गर्यो महासमितिमा प्रस्तुत नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रस्ताव
केन्द्रीय समितिमा गगन थापाले भने- गठबन्धन गर्दैनौं, एक्लै बहुमत ल्याउँछौं
विश्वप्रकाशलाई देउवाको जबाफ- अहिल्यै त्याग गर्न सक्दिनँ
विश्वप्रकाश शर्माले केन्द्रीय समितिमै भने- देउवा अब प्रधानमन्त्री बन्नु हुँदैन
देउवालाई पार लगाउन हम्मेहम्मे परेका तीन एजेन्डा
महामन्त्री शर्माले प्रस्ताव गरेको राजनीतिबाट नेता ‘बहिर्गमन नीति’ कति जायज, कति नाजायज?