लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित आठ जना मन्त्रीले साउन ९ गते बुधबार बिहान पद तथा गोपनीयताको शपथ लिए।
साउन ७ गते नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यसहित सबै मन्त्रीहरूले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा गई प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।
शपथ लिएकै दिन मुख्यमन्त्रीसहित आठै मन्त्रीहरू दाङस्थित राजधानीमा आई मुख्यमन्त्रीकै कार्यकक्षमा बैठक गरे।
लुम्बिनीमा आचार्य मुख्यमन्त्री भइसकेपछिको पहिलो क्याबिनेट बैठक त्यही थियो। तर, हप्ता दिन बितिसक्दा पनि आठै जना मन्त्रीहरूको मन्त्रालयको टुंगो लागिसकेको छैन। मन्त्रालयको टुंगो नलाग्दा मन्त्रीहरू कामविहीन छन्।
एक जना बिनाबिभागीय मन्त्री प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु) ले मन्त्रालयको टुंगो नलाग्दा आफूहरू त्यस्तै बस्नु परेको बताए।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता समेत रहेका न्यौपानेले जिम्मेवारी बाँडफाँट भई मन्त्रालयको टुंगो नलाग्दै कसरी प्रदेश कार्यालय जानु भन्ने प्रश्न गरे।
‘मन्त्रालयको टुंगो लागेको हुन्थ्यो भने हामी आफ्नो मन्त्रालय जाने थियौं, आफ्नो योजनाहरू बनाउने थियौं, कर्मचारीहरूसँग छलफल परामर्श गरी आफ्नो काम सुरू गरिन्थ्यो नि त,’ उनले भने, ‘मन्त्रालयको टुंगो नलाग्दा हामी कतै जानै सकेका छैनौं।’
अब नयाँ प्रदेश प्रमुखको शपथ र नियुक्तिपछि मात्रै आफूहरूको मन्त्रालयको बाँडफाँट हुने उनले बताए।
मुख्यमन्त्री आचार्यले पनि प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुपर्ने भएका कारण मन्त्रीहरूलाई जिम्मेवारी दिन ढिलाइ भएको बताए।
प्रदेश प्रमुख परिवर्तन भएको हुँदा नयाँ प्रदेश प्रमुखले शपथ ग्रहण गरी आइसकेपछि बल्ल मन्त्रीहरूलाई जिम्मेवारी तोक्ने काम हुने मुख्यमन्त्री आचार्यले बताए।
‘आठै जना मन्त्रीहरूको करिब टुंगो लागिसकेको छ,’ उनले भने, ‘हामी जिम्मेवारी तोकेकै दिन त्यो कसलाई कुन मन्त्रालय हो भन्ने सार्वजनिक गर्नेछौं।’
कांग्रेसले एक जना मन्त्री पठाउनै बाँकी रहेको र त्यसको तयारी पनि गरिसकेको भन्ने सूचना आफूले पाएको मुख्यमन्त्री आचार्यले बताए।
कांग्रेसका अर्का एक नयाँ मन्त्रीको शपथ कार्यक्रम पनि निवर्तमानले गराउन नमिल्ने हुँदा रोकिएको मुख्यमन्त्री आचार्यले बताएका थिए।
कांग्रेसको तर्फबाट नेतृत्व गर्ने भनेर चर्चा परिचर्चा भए पनि बर्दियाबाट प्रतिनिधित्व गर्ने प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नाम अन्तिममा काटिएपछि उनी भने मन्त्री हुन पाएका थिएनन्।
दुई वटा साना दललाई पनि अब एक/एक मन्त्री दिने तयारी भइरहेको उनले बताए। त्यसपछि थप केहीलाई (दुई जना अन्य साना दलहरूलाई) पनि मन्त्री दिन सक्ने सम्भावना आचार्यले व्यक्त गरेका थिए।
‘हामी यसअघिको मन्त्रालयको संख्या बाह्र जना पुर्याउने सोचमा छौं,’ उनले भने, ‘त्यही अनुरूप अन्य साना दलहरूलाई समावेश गरिने छ।’
साउन ९ गते एमालेबाट रूपन्देहीका भूमिश्वर ढकाल, पाल्पाका खेमबहादुर सारू, गुल्मीका दिनेश पन्थी र दाङकी सीता चौधरी शर्मा मन्त्रीको रूपमा शपथ लिएका थिए।
त्यस्तै, कांग्रेसबाट दाङका प्रचण्ड विक्रम न्यौपाने (गुन्टु), प्युठानका सरोज थापा, बाँकेका बादसाह कुर्मी र गुल्मीका धनेन्द्र कार्कीले पनि शपथ लिएका थिए।
गत बुधबार सबैले बिनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए। शपथ ग्रहणकै दिन मुख्यमन्त्री आचार्यले मात्रै पदभार ग्रहण गरेका थिए।
यसैबीच लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बिहीबारदेखि जिम्मेवारीबाट बिदा लिएका छन्।
मंगलबार मात्रै उनले पत्रकार सम्मेलन गरी आफूलाई हटाउन थालेकोप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
सोमबारको मन्त्रिपरिषद् बैठकले नेकपा माओवादी निकटका शेरचनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
मन्त्रिपरिषद् बैठकले शेरचनको ठाउँमा रोल्पाका कांग्रेस नेता कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख बनाउने निर्णय गरिसकेको छ।
नयाँ प्रदेश प्रमुखको शपथ कहिले हुने अझै टुंगो लागिसकेको छैन। नयाँ प्रदेश प्रमुख मगरले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिने व्यवस्था छ। मगरले काठमाडौं गई शपथ लिई जिम्मेवारी सम्हालेपछि मात्रै लुम्बिनीका मन्त्रीहरूको मन्त्रालयको टुंगो लाग्नेछ।