टाउकोमा छत्रे टोपी। सधैं पिठ्युँमा झोला। पानीको बोत्तल, मकै-भटमास पनि झोलामा टुट्दैन।
त्यही झोलामा कहिलेकाहीँ सातु, सम्भव भएसम्म स्थानीय फलफूल पनि हुन्छन्। हिउँद होस् या बर्खा छाता पनि टुट्दैन।
अझ झोलाभित्र रेडियो नै राखेर हिँड्ने हुँदा रोल्पामा उनको पहिचान बेग्लै थियो। साथमा चकलेट पनि बोकेर हिँड्ने गरेकाले केटाकेटी उनका पछि लाग्थे।
बाटामा हिँड्दा पनि रेडियोमा कान थापिरहने हुनाले मानिसहरूले पनि चाख मानेर हेर्थे। यो पहिचान हो- रोल्पाका कृष्णबहादुर घर्ती मगरको। जो सोमबार लुम्बिनी प्रदेशको प्रमुख प्रमुखमा सिफारिस भएका छन्।
उनको परिचय यतिमै सीमित छैन।
आमसभामा मन्तव्य सुरू गर्ने पनि उनको आफ्नै शैली छ। गीत, कविताका फाँकीबाट सुरू गर्छन्। कृष्णबहादुरको परिचयका अनेकन आयाम छ।
एक साहित्य अनुरागी। एक कवि। रंगमञ्चमा रम्न चाहने स्वभाव। गीत, संगीत र नृत्यमा पनि उनको लगाब थियो, कृष्णबहादुरको।
कलाकारका रूपमा राष्ट्रिय नृत्य प्रतियोगिताको पुरस्कार पनि थापेका थिए।
उनलाई चिन्ने–जान्नेहरू भन्छन्– उनी साहित्यानुरागी मात्र नभएर विद्रोही छविका थिए। उनले बाबुकै विरूद्ध राजनीतितिर पाइला सोझ्याएर नेपाली कांग्रेसमा आबद्ध भए।
त्यसो उनी शिक्षासँग पनि गाँसिएका थिए। उनले २०४३ सालमै निजी विद्यालय खोलेर समुदायमा शिक्षाको आभा फिँजाउने काम गरेका थिए।
तुलसी आवासीय इङ्लिस बोर्डिङका संस्थापक हुन् उनी।
‘रोल्पामा कांग्रेसको संगठन गर्ने, अप्ठ्यारोमा संगठन जोगाउनेहरूमध्ये कृष्णबहादुर घर्ती मगर पनि एक हुन्,’ कांग्रेस नेता ज्ञानबहादुर वलीले भने, ‘उहाँजत्तिको व्यक्तिलाई अहिले आएर पार्टीले न्याय गर्यो। विगतमा उहाँले गरेको निष्ठाको राजनीतिलाई अहिले पार्टीले पुरस्कृत गर्दा मलाई पनि निकै खुसी लागेको छ। कार्यकर्ताको योगदानको यसैगरी कदर भए पार्टी संगठन आउँदा दिनमा थप बलियो हुनेछ।’
कृष्णबहादुरको अभिरुचि सांस्कृतिक फाँटमा पनि भएकाले त्यसले संगठन गर्न र मानिसहरूका बीचमा पुग्न झन् सघाउ पुग्यो। ज्ञानबहादुर नेविसंघको रोल्पा जिल्लाको संस्थापक अध्यक्ष पनि हुन्।
‘सांस्कृतिक कार्यक्रम भनेपछि उहाँ हुरुक्कै हुनुहुन्थ्यो। हामीलाई पनि साथमै लिएर जानु हुन्थ्यो,’ उनले भने ‘उहाँले त्यस्ता कार्यक्रमहरूमा गीत गाउने र नाच्ने गर्न थालेपछि रौनकै बेग्लै हुन्थ्यो।’
तत्कालीन नेकपा (माओवादी) को सशस्त्र ‘जनयुद्ध’ उत्कर्षमा पुग्दै गर्दा २०५६/०५७ सालतिर कृष्णबहादुरलाई तत्कालीन विद्रोही पक्षले अपहरण पनि गरेको थियो। उनलाई माओवादीले एक साता नियन्त्रणमा राखेका थिए।
नेता वलीका अनुसार कृष्णबहादुरका बुवा अमृतबहादुर घर्ती पञ्चायत कालका जिल्ला सभापति थिए। तर कृष्णबहादुर भने बाबुको बाटोमा हिँडेनन्। उनी कांग्रेसतिर सोझिए।
‘बुवा अमृतबहादुर पञ्चायतको सभापति छँदा पनि कृष्णदाइले एक प्रकारको विद्रोह घरबाटै सुरू गर्नुभएको थियो,’ वलीले भने ‘त्यसैले उहाँ क्रान्तिकारी छविको नेता पनि हो।’
सोही विद्रोही स्वभावका कारण कृष्ण दुई पटक पञ्चायतकालमा पक्राउ परेको उनले बताए। जनमत संग्रहका पक्षमा उभिँदा २०३६ सालमा २६ दिन र २०३८ सालमा २० दिन कृष्ण जेल परेको उनको स्मरण गरे।
भारतको गोरखपुरबाट बिएसम्मको पढाइ उत्तीर्ण गरेका कृष्णबहादुर घर्ती लगातार १३ वर्षसम्म जिल्ला सभापति बनेका थिए।
२०५९ सालमा पार्टी विभाजन भएपछि प्रजातान्त्रिक कांग्रेसको नेतृत्व गरेका थिए। पार्टी एकता हुँदा पनि उनी जिल्ला सभापति बनाइएका थिए।
पार्टी एकता हुनुभन्दा पहिला रोल्पामा तत्कालीन संस्थापन पक्षका सभापति माधवप्रसाद आचार्य थिए। तर महाधिवेशनले क्षमता र क्रियाशीलताका आधारमा तत्कालीन प्रजातान्त्रिक कांग्रेसका जिल्ला सभापति कृष्णबहादुरलाई नै पार्टी एकता पछिको जिल्ला सभापति बनाएको थियो ।
उनी २०४७ मा पार्टी जिल्ला कार्यसमिति सदस्य, २०४९ मा जिल्ला पार्टी सचिव भएका थिए। २०५४ सालमा वडामा जनप्रतिनिधि निर्वाचित भइ काम पनि गरेका थिए।
उनी २०४८– ०७२ सालसम्म पार्टीको महासमिति सदस्यको जिम्मेवारीमा थिए ।
कृष्णलाई पार्टीले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकको बन्दसूचीमा राखेको थियो।
पञ्चायतकालका सभापति भए पनि छोरा कृष्णकै कारण बुवा अमृतबहादुर पनि २०४६ सालमा बहुदल पुनस्थापना भएपछि कांग्रेस प्रवेश गरेका थिए।
उनका बुवालाई २०४८ सालको आम निर्वाचनमा कांग्रेसले संसदको टिकट पनि दिएको थियो। तर उनी त्यतिबेला हाल माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग निर्वाचनमा पराजित भएका थिए। त्यतिखेर महरा संयुक्त जनमोर्चाबाट चुनाव लडेका थिए।
रोल्पामा कृष्णबहादुरले लगातार १३ वर्ष जिल्लामा नेतृत्व गरेपछि फेरि त्यहीँ रहन चाहेनन्। उनीपछि अहिलेका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जिल्ला सभापति बनेका थिए।
उनै कृष्णबहादुरलाई सोमबारको मन्त्रिपरिषदको बैठकले लुम्बिनी प्रदेश प्रमुख बनाउन सिफारिस गरेको छ।
पार्टीको निर्णय कस्तो लाग्यो भन्ने सेतोपाटीको जिज्ञासामा आफू पार्टीको सिपाही भएको बताए। पार्टीले दिएको जिम्मेवारी निष्ठाका साथ पूरा गर्ने प्रतिक्रिया दिए।
पञ्चायत कालमा कुष्णबहादुर घर्ती मगर ठेक्कापट्टाको काम गर्थे।