नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीको विवाद उत्कर्षमा पुगेको छ।
सुदूरपश्चिम सरकारमार्फत् सतहमा आएको विवाद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वास मत दिने सन्दर्भमा झन् उत्कर्षमा पुगेको छ।
प्रधानमन्त्री प्रचण्डले बुधबार विश्वासको मत लिँदैछन्।
नाउपा अध्यक्ष चौधरीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन जारी गरेकी छिन्।
‘फागुन ३० गते विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको व्यहोरा अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ।
तर, संरक्षक चौधरी पक्षका पार्टी उपाध्यक्ष दामोदर पण्डितले विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न भन्दै विज्ञप्ती निकालेका छन्।
मंगलबार नाउपाको संस्थापक केन्द्रीय कमिटीको बैठकको निर्णयानुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो।
प्रदेशको हकमा भने विभिन्न दलसँग वार्ता गरी सहकार्य गर्न कार्यदल बनाइएको छ। कार्यदलका संयोजक पण्डित तोकिएका छन्।
‘केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुन, प्रतिपक्षमा बस्ने, सरकारलाई समर्थन नदिने र प्रदेश सकारको हकमा वार्ता समितिले विभिन्न दलहरूसँग सहकार्य र समन्वय गरी संवाद अघि बढाउने निर्णय भएको छ,’ उनले विज्ञप्तिमार्फत भनेका छन्।
यता संरक्षक चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै पत्नी रञ्जितालाई सम्झाउन नसक्नु आफ्नो विवशता भएको बताएका छन्।
‘आज जिते प्रचण्ड, ओली जित्लान्। भोलि फेरि देउवा जित्लान्। सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो। त्यसैले हामी कसैका पछाडि नलागौं,आफ्नो पार्टी निर्माणमा जुटौं,’ उनले भनेका छन्।
उनले यो विषय घर झगडा नभएको बताएका छन्।
‘घर झगडा हुँदै होइन, विषय राजनीतिक हो। मैले जानेको बुझेको यही हो। जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो।
आज पनि हेर्नुस्, एमाले, माओवादी, कांग्रेस। यी ठूला दलका नेता, कार्यकर्ता सांसद कतै चलमलाएका छन र? तर एकीकृत समाजवादी, जसपा, नाउपा, लोसपा, रास्वपा, राप्रपा जस्ता साना दलमा कत्रो भुइँचालो गएको छ? त्यसैले कुरा बुझौं, कुनै पनि गठबन्धनका पछाडि नलागौं,’ उनले भनेका छन्।
संरक्षक चौधरीले नागरिक उन्मुक्ति पार्टी कांग्रेस–कम्युनिस्टजस्ता परम्परागत पार्टी नभएको बताएको छन्।भौगोलिक–सांस्कृतिक पहिचानसहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी भएको बताएका छन।
‘त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौं। आफ्नो नीति सिद्धान्त अनुरूप चलौं। कुरो रह्यो बुढाबुढीको। म उनलाई सम्झाउन कैलाली बाट काठमाडौं आएकै हुँ। दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस को मस भइनन्। उनको भनाइ छ– प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न,’ चौधरीले भनेका छन्।
तर, टीकापुर घटनापछि पनि प्रचण्ड दुइचोटी प्रधानमन्त्री भएको तर मुद्दामा सहानुभूति देखाउँदा देखाउँदै पनि आफू रिहा हुन नसकेको सन्दर्भ पनि उल्लेख गरेका छन्।
‘अहिले पनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन्, दुइ लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाइ भएका हौं र तिमी पनि मन्त्री भएकी हौ। नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उखल्नेवाला छैनौं। जताबाट पनि भलो ठूलो दलको हुने हो, हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिध्धिनु हो,’ उनले भनेको छन्, ‘मैले तिमिलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दिनँ। आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्। मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न। आज जतिले मन दुखाएका छन्, ती हामीलाई हृदयदेखि चाहनेवाला हुन्। मलाई भोट हाल्, मलाई भोट हाल् भन्नेहरू हामीलाई डुबाउनेवाला मात्रै हुन्। मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौं, टण्टै साफ!’
गत फागुन २४ गते निर्वाचन आयोगले नाउपाको पहिलो महाधिवेशनलाई वैधानिकता दिन अस्वीकार गरेको थियो। पहिलो महाधिवेशनबाट चौधरी अध्यक्ष निर्वाचित भएका थिए। उनी हत्या आरोपमा सजाय काटेकाले उनी पार्टीको अध्यक्ष बन्न नसक्ने भन्दै उजुरी परेको थियो।
त्यसबारे चौधरीसँग जवाफ मागेको थियो। चौधरीले निर्वाचन आयोगलाई लिखित जवाफ पठाएका थिए।
तर, निर्वाचन आयोगले चौधरीलाई अध्यक्षको मान्यता दिन अस्वीकार गर्दै उनी संयोजक भएर गरेको महाधिवेशनलाई पनि वैधता दिएन।
नाउपाको पुरानै कमिटीमा फर्किएको थियो। नाउपमा अहिले २१ जना सदस्य रहेका छन्। संघीय संसदमा ४ जना सांसद छन्।
यो पनिः
रेशम–रञ्जिता मतभेद सतहमा, संकटमा सुदूरपश्चिम सरकार