नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले महासमिति बैठकको समापन सत्रमा ११ बुँदा राखेका छन्।
सोमबारदेखि जारी महासमिति बैठकमा बिहीबार सकिँदैछ। उक्त बैठकको समापन सत्रमा बोल्दै कोइरालाले ११ बुँदे धारणा राखेका हुन्।
कोइरालाले राखेका ११ बुँदे धारणा जस्ताको तस्तै:
१. देश विदेशबाट ऊर्जा, उत्साह र नयाँ कांग्रेसको सम्भावना बोकेर आउनुभएका महासमिति सदस्यहरूलाई न्यानो जय नेपालको अभिवादन गर्दै भविष्यको कांग्रेस कस्तो र कसरी निर्माण गर्ने भन्ने सन्दर्भमा यो बैठकले एउटा ठोस दिशा प्राप्त गरोस् भनी बृहत् छलफल, बहस र विवादले कांग्रेसको आन्तरिक जीवनमा जीवन्तता प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु। र लोकतान्त्रिक आन्दोलनमा लागेर अनेकन् दुःख कष्ट, बलिदान, प्रवासको कठोर जीवन, जेलनेलको यातना र आन्दोलनको क्रममा अविचलित भएका साथीहरूप्रति श्रद्धा, सम्मान र गौरव गर्दछु।
२. महासमितिको यो बैठक समापन भइरहँदा आन्दोलनमा लागेर यथोचित सम्मान पाउन नसकेकाको खोजी गरेर तिनको उचित मूल्यांकन गर्ने कार्य र त्यस्ता व्यक्ति, घटना र मोडहरूको खोजी, अनुसन्धान गरी लिपिबद्ध गरेर राख्ने कामको थालनी होस्।
३. इतिहासका ती गौरवशाली क्षण र त्यसलाई दिशा निर्देश गर्ने नेताहरूको स्मरण गर्दै हाम्रा अग्रजहरूले राष्ट्र निर्माणको लागि हामीलाई सुम्पिएका अभिभारा सफलतापूर्वक सम्पन्न गर्न सकौं भनी हामी सबै आफ्नो कर्म क्षेत्रमा संकल्पका साथ फर्कंदै छौं।
४. मलाई विश्वास छ महासमितिको बैठकपछि हामी नयाँ कांग्रेसको भावनासहित ऊर्जावान भएर आफ्नो राजनीतिक कर्मभूमिमा फर्कने छौं र कांग्रेसको आदर्श, मूल्य र मान्यतालाई आम नागरिकबीच स्थापित गराउन कुनै कसर बाँकी राख्ने छैनौं। यो अठोट गर्दा हामी कहाँ चुक्यौं र किन हामीले राष्ट्रको अपेक्षा अनुसार हाम्रो देश नेपाललाई बस्न योग्य बनाउन सकिरहेका छैनौं भनी चिन्ता मात्र होइन चिन्तन गर्न यो महासमितिबाट हामीलाई प्रेरणा मिलेको छ।
५. कांग्रेस पार्टी आफ्नो इतिहासप्रति गौरव गर्दै वर्तमानलाई आकार दिएर भविष्यन्मुख भएरै अगाडि बढ्ने सन्देश महासमितिबाट प्राप्त भएको छ। एकातिर इतिहासप्रतिको जिम्मेवारी अर्कोतिर वर्तमान पुस्ताको समस्या सम्बोधन गर्दै भावी पुस्तालाई पार्टी विचार, मूल्य र आदर्शसँग अवगत गराउने सोच नै कांग्रेस भावना हो, बिपी विचार हो भनी म बुझ्दछु। तसर्थ पार्टीको गुमेको मूल्य, पद्धति, विचार र आदर्शलाई पुनर्स्थापित गर्दै पार्टीको आन्तरिक जीवनमा कसरी पुनर्जागरण प्रवाह गर्ने भन्ने चिन्तालाई सम्पूर्ण कांग्रेसजनको सामूहिक चिन्ता मात्र होइन चिन्तन बनाएर लैजानुपर्ने आजको चुनौती छ। यसको लागि एकताबद्ध हुँदै अब अगाडि बढ्नुको विकल्प छैन। एकताका आधारहरू निर्माण गर्नुपर्ने दायित्व अझै हामी सबैको काँधमा छ। मेरो सारा प्रयत्न यसैमा छ र म चाहन्छु एकपटक इतिहासतर्फ फर्केर हाम्रा दिवगंत नेताहरूलाई साक्षी राखेर संकल्पका साथ अगाडि बढ्दा हामी एकताबद्ध भएर ठीक बाटो पहिल्याउन सक्छौं।
६. देशभित्र उठेका मुद्दाहरू र पार्टीलाई सुधार गर्ने विषयहरूमाथि हामीले गम्भीर बहस र विचार राख्यौं। कांग्रेसको गौरवशाली इतिहासलाई अक्षुण्य राख्न साथीहरूबाट अनेकन सुझावहरू पनि आए। भविष्यको कांग्रेस कस्तो हुने र कसरी अगाडि बढ्ने भन्नेबारे पनि सकारात्मक सुझाव आए।
७. मैले धेरै पहिलेदेखि भन्दै आइरहेको छु। कांग्रेस आफ्नो मौलिक पहिचानबाट पर जान हुँदैन। त्यो भनेको कांग्रेसले आफ्नो मूल्यमान्यता र आदर्शप्रति अविचलित रहेर देश र देशवासीको रूपान्तरण गर्ने हो। कांग्रेसको समर्थन क्षेत्रलाई विस्तार गर्ने हो। कांग्रेस खुम्चिनु भनेको देशमा लोकतन्त्रको विस्तार अवरूद्ध हुनु हो। म ती साथीहरूको भावना र विचारसँग सहमत हुँदै कांग्रेस देशव्यापी रूपमा सशक्त भएर आफ्नै विचार, संगठन र कार्यकर्ताको विश्वास र भरोसामा लोकप्रिय रूपमा स्थापित गर्न सकिन्छ भन्ने विचार राख्दछु। अर्थात् मुख्य कुरा आम नागरिकलाई लोकतन्त्रको माध्यमबाट देशमा सुख, समृद्धि र सुशासन हुन्छ भन्ने प्रत्याभूति दिलाउनु रहेको छ। लोकतन्त्रको पर्यायवाची कांग्रेस भएकोले स्वभाविक रूपमा यो कार्यभार कांग्रेसको काँधमा आएको छ।
यो बैठकमा ४ वटै समूहमा व्यापक छलफल भएको छ। महासमिति साथीहरूको भावनालाई प्रतिबिम्बित हुने गरी केन्द्रीय कार्यसमितिबाट परिमार्जन गरिने छ। यसै सन्दर्भमा हालको निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सबै राजनीतिक दलहरूसँग संवादको लागि नेपाली कांग्रेसले पहल गर्नेछ।
८. आम नागरिक आर्थिक कठिनाइ, महंगी, बेरोजगारी, दण्डहीनता, भ्रष्टाचार र कुशासनले आक्रान्त छन्। निश्चय नै यस्तो कोलाहलपूर्ण अवस्थाले हामीलाई सुध्रिने र सच्चिने दबाब दिइरहेको छ भनी मैले बारम्बार भन्ने गरेको छु। कांग्रेसले इतिहासमा कैयन् पटक आफूलाई नागरिक भाव अनुसार परिमार्जन र सुधार गर्दै मुलुकको आर्थिक र सामाजिक चेतनालाई सम्बोधन गरेको छ र यो पटक पनि कांग्रेसले आफूभित्रको लोकतान्त्रिक चरित्रलाई नेपाली जनतामाझ प्रस्तुत गरेको छ।
९. तर मैले यसो भनिरहँदा विगत साढे तीन दशकको लोकतान्त्रिक समय हामीले पूर्ण रूपमा खेर फालेका छौं भनी शिर झुकाउनु पर्ने कुनै कारण छैन। यसबीचमा लोकतान्त्रिक समाजवाद निर्माणको यात्रामा हामीले केही सफलता प्राप्त गरेका छौं भनेर भन्ने आधार छन्। खासगरी सामाजिक पूर्वाधारको क्षेत्रमा र नागरिकको सचेतनाको वृद्धिलाई लिएर दक्षिण एसियामा हामी खराब अवस्थामा छैनौं।
१०. पार्टीमा निष्ठावान, निस्वार्थ र संघर्षशील साथीहरू ओझेलमा परे भन्ने आम गुनासो छ। पार्टीमा अवसरको न्यायोचित वितरण हाम्रोसामु चुनौतीको रूपमा खडा भएको छ। यसलाई उचित ढंगले सम्बोधन गर्दा पार्टीमा ऊर्जा प्रस्फुटन हुन्छ भन्ने कुरा मैले बुझेको छु।
११. पार्टी संगठन मेसिन हो, मेसिन चलाउने कार्यकर्ताहरू पार्टीको रिडका हड्डी हुन्। नेताहरू पार्टीका मूल्य, मान्यता, विचार र आदर्श बोक्ने सन्देश प्रवाह गर्ने संवाहक हुन्। यी पक्षहरूको संयोजन र व्यवस्थापन गरेर अगाडि बढ्दा पार्टीको चक्का अगाडि बढ्छ। हामी जो नेतृत्व तहमा छौं। हाम्रा विचार, व्यवहार र जीवनशैलीबाट कार्यकर्ताहरूले ऊर्जा र उमंग प्राप्त गर्छन्। महासमितिको यो बैठकमा यसबारे साथीहरूले गम्भीरतापूर्वक आफ्नो विचारहरू प्रकट गर्नुभयो।
अन्तमा,
आम जनतामा गम्भीर रूपमा 'यो देशमा केही हुँदैन' भन्ने न्यारेटिभ निर्माण भएको छ। यो निराशाको न्यारेटिभलाई चिर्न राज्य संयन्त्रमात्र पर्याप्त छैन, पार्टी संगठन व्यापक रूपमा परिचालित भई यो देशवासीको सुन्दर भविष्य निर्माण गर्ने कांग्रेस हो भन्ने अभियानमा हामी सबै आजैबाट जुटौं।
महासमिति बैठकमा उपस्थित भएर आफ्नो अमूल्य मत र सहभागिता जनाउनुभएका सबैलाई म हृदयदेखि आभार व्यक्त गर्दछु, साथै कांग्रेस रूपान्तरणको मेरो अविचलित यात्रा जारी छ भन्ने प्रण पनि तपाईंहरू समक्ष गर्दछु। जय नेपाल।
डा. शेखर कोइराला