नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गरेका छन्।
मंगलबार ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा उनले सांगठनिक प्रस्ताव पेश गरेका हुन्। महासमिति बैठकमा योसँगै पाँच वटा प्रस्ताव पेश भएका छन्।
सांगठनिक प्रस्ताव पेश गर्दा अब नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने उनले बताएका छन्।
एक्लै चुनाव लड्ने र रूखमा मात्रै मत हाल्ने सुनिश्चितताको कुरा उनले प्रस्तावमा गरेका छन्। उक्त कुरा वाचन गर्न महासमिति सदस्यहरूले ताली समेत बजाएका थिए।
‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ- हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ उनले भनेका छन्, ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुन:स्थापित गर्नेछौं।’
उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव र प्रवक्ता समेत रहेका प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव पेश गरेका छन्। त्यस्तै, लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेश गरिसकेका छन्।
महामन्त्री गगन थापाले आफ्नो प्रस्तावमा गठबन्धन नगर्ने प्रस्ताव राखेपछि थापालाई रोक्न खोजेका थिए। सोमबार मध्यरातिसम्म भएको छलफलपछि देउवाले उक्त प्रस्ताव प्रिन्ट गर्न सहमत भएका थिए।
यो पनि: अन्ततः गगनको प्रस्तावमा सहमति जनाए देउवाले
पूर्णपाठ: