नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
मंगलबार ललितपुरको गोदावारीमा जारी महासमिति बैठकको दोस्रो दिन महामन्त्री शर्माले प्रतिवेदनमा लोकतन्त्रको विकल्प समुन्न लोकतन्त्र भएको उल्लेख गरेका छन्।
‘संघर्ष र संविधान सभाको मार्गबाट आएको नेपालको वर्तमान संविधान नै सबै चुनौती हल गर्दै मुलुकलाई समुन्नतिको उचाइमा पुराउने भरपर्दो माध्यम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट छ,’ महामन्त्री शर्माले आफ्नो राजनीतिक प्रस्तावमा उल्लेख गरेका छन्।
महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको बताउँदै प्रतिवेदनमा लेखेका छन्, ‘पटकपटकको संसद विघटन र संविधानको रक्षाका लागि मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा होमिएका थिए। त्यो गठबन्धनबाट उपलब्धि हासिल भएको छ तर, पनि असन्तुष्टि र चुनौतीहरू बढ्दै गएको देखिन्छ।’
प्रतिवेदनमा महामन्त्री शर्माले हालको गठबन्धन आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा भएको पनि लेखेका छन्। एकल बहुमत कसैको नभएको संसदमा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभारा कांग्रेसको रहेको समेत उनले प्रतिवेदनमा लेखेका छन्।
महामन्त्री शर्माले सरकारको प्रभावकारिता र कमजोरीमाथि खुलेर छलफल गर्नुपर्ने र कांग्रेसले सम्हालेका मन्त्रालयको प्रगति र कमजोरीको पनि समीक्षा गर्नुपर्ने बताएका छन्।
‘वर्तमान अवस्थामा नेपाली समाजमा देखिएका असन्तुष्टि र पीडाको पहिचान यही समाजले बनाएको सबभन्दा ठूलो दलको महासमिति बैठकले गर्नुपर्छ र त्यसलाई क्रमश: समाधान गरेर जाने संकल्प र दृढता राख्नुपर्छ,’ उनले प्रतिवेदनमा लेखेका छन्।
महामन्त्री शर्माले राजनीतिप्रतिको विकर्षण अन्त्य गरी देशप्रति भरोसा वृद्धि गर्ने, छिमेकी मित्रराष्ट्रहरूसँग बृहत्तर सहकार्य गर्ने, पर्यावरण रक्षासहित भौतिक विकासमा जोड दिने, शिक्षा क्षेत्रमा सुधार गर्ने कार्यभार कांग्रेसको जिम्मेवारी रहेको पनि आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्।
यदाकदा उग्र राष्ट्रवाद देखिने गरेको उल्लेख गर्दै महामन्त्री शर्माले भनेका छन्, ‘उग्र राष्ट्रवादका कारण बाह्य लगानीको वातावरणलाई विगतमा परेका असरहरूले छोडेका प्रभावहरूको पृष्ठभूमिमा फेरि त्यस्तो स्थिति आउन नदिन गम्भीर सर्तकता अपनाउन जरूरी छ।’
पूर्णपाठ: