लुम्बिनी प्रदेश सरकार आइतबार विस्तार हुने भएको छ। नेकपा माओवादी केन्द्रको तर्फबाट बाँकेबाट निर्वाचित कृष्णा केसी (नमुना) र नेपाली कांग्रेसको तर्फबाट प्यूठानबाट निर्वाचित सरोज थापा मन्त्री बनाइएका हुन्।
केसी सहरी विकास मन्त्री र थापा उद्योग तथा यातायात मन्त्री बनाइएका छन्।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार नै उनीहरूको नाम टुंगो लगाइ प्रद्रेश प्रमुखकहाँ शपथका लागि पठाइसकेका मुख्यमन्त्री सचिवालय स्रोतले सेतोपाटीलाई जानकारी दियो।
'सरकारमा पठाउने दुई व्यक्ति र मन्त्रालयको पनि छिनोफानो भइसकेको छ,' मुख्यमन्त्री सचिवालय स्रोतले भन्यो, 'भोलि नै शपथ हुने छ।'
लुम्बिनी सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डे पनि दुई जना नयाँ मन्त्री थपिएको तथा आइतबार नै शपथको कार्यक्रम तय भइसकेको सेतोपाटीलाई बताए।
लुम्बिनी सरकारमा उद्योग तथा यातायात मन्त्री बन्न लागेका सरोज थापा चलचित्र क्षेत्रमा 'रोज राणा' को नामबाट परिचित छन्। चलचित्र निर्माता उनी अघिल्लो वर्ष मंसिरको संसदीय निर्वाचनमा कांग्रेसबाट चुनाव लडेर निर्वाचित भएका थिए। संस्थापन पक्षधर उनी मन्त्री बनिसकेको र आइतबार शपथ हुने निश्चित भएको स्रोतले जनाएको छ।
कृष्णा केसीलाई मन्त्री बनाउने निर्णय माओवादीले झन्डै आठ महिना पहिल्यै गरिसकेको थियो। माओवादीले बाँकेकी कृष्णासँगै रोल्पाका दीपेन्द्र पुन (सिजल) लाई मन्त्री बनाउन सिफारिस गरेको थियो। तर कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनको अडान र विरोधका कारण दीपेन्द्र मन्त्री बन्ने सम्भावना क्षिण बनेको हो।
अमरसिंह र दीपेन्द्र चुनावी प्रतिस्पर्धमा होमिएका थिए। पार्टीबाट टिकट नपाएपछि दीपेन्द्र विद्रोह गरी गठबन्धनविरूद्ध स्वतन्त्र रूपमा चुनाव लडेर जितेका थिए। निर्वाचित भइसकेपछि मात्रै दीपेन्द्र पुनः माओवादी प्रवेश गरेका थिए।
गठबन्धनविरूद्ध उभिएर गठबन्धन संस्कार लत्याउने व्यक्तिलाई कुनै पनि हालतमा गठबन्धन सरकारले मन्त्री बनाउन नहुने अडान अमरसिंहले लिएको हुँदा दीपेन्द्र मन्त्री हुने सम्भावना तत्काल टरेको हो।
सरोज थापालाई पनि मन्त्री बनाउन नहुने भन्दै भएको विरोधका कारण यसअघि मन्त्रिमण्डल विस्तारमा विलम्ब हुँदै आएको थियो। कांग्रेसभित्र संस्थापन इतर पक्षधर नेता शेखर कोइराला र गगन थापाले पश्चिम नवलपरासीका विश्वप्रेम पाठक र पाल्पाका वीरबहादुर रानालाई मन्त्री बनाउनुपर्ने अडान लिँदै आएका थिए।
मुख्यमन्त्री सचिवालय स्रोतका अनुसार त्यहीकारण सरोज थापालाई मन्त्री बनाउन नहुने भन्दै यसअघि पटकपटक मन्त्रिमण्डल विस्तार गर्न खोजिएको प्रयास सफल हुन नसकेको हो।
'अहिले पनि मुख्यमन्त्रीले कांग्रेसका लुम्बिनी सभापतिलाई आफ्नो तर्फबाट मन्त्रीमा पठाउने व्यक्तिको नाम दिन अनुरोध गर्दै आउनुभएको थियो। तर उहाँले सक्नुभएन,' सचिवालयका एक कर्मचारीले भने, 'पार्टीभित्र विवाद पनि गरिराख्ने र सरकार पनि विस्तार गर्न नदिने प्रवृत्ति ठीक होइन भन्ने ठानेरै मुख्यमन्त्रीले सरकार विस्तार गर्नुभएको हो।'
लुम्बिनी कांग्रेस सभापति अमरसिंह पुनले नाम दिए फेरि एक जनालाई मन्त्री बनाउने सम्भावना भने रहेको उनले जानकारी दिए।
अमरसिंह पुनले मुख्यमन्त्री चौधरीले पार्टीसँग कुनै समन्वय नगरी एकलौटि गरे स्वीकार्य नहुने चेतावनी दिँदै आएका छन्। शुक्रबार मात्रै सभापति उनले मुख्यमन्त्री चौधरीले आफूसँग सरकार विस्तारबारे पछिल्लो समय कुनै सरसल्लाह नगरेको बताएका थिए। मुख्यमन्त्री चौधरी र दाङबाट निर्वाचित स्वास्थ्यमन्त्री राजु खनाल संस्थापन पक्षधर मानिन्छन्। अर्कोतर्फ प्रदेश सभापति अमरसिंह पुन संस्थापन इतर समूहका हुन्।
कांग्रेसको तर्फबाट दाङबाट निर्वाचित चौधरी वैशाख १४ गते मुख्यमन्त्री बनेका थिए। सरकारलाई पूर्णता दिन यसअघि उनले पटक पटक गरेको प्रयास आन्तरिक विवादका कारण नै पूरा हुन सकिरहेको थिएन।
अहिले मन्त्रिमण्डलमा को को छन्?
१. डिल्लीबहादुर चौधरी – नेपाली कांग्रेस – मुख्यमन्त्री, खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय।
२. धनबहादुर मास्की – नेकपा माओवादी केन्द्र – अर्थमन्त्री।
३. राजु खनाल– नेपाली कांग्रेस – स्वास्थ्यमन्त्री।
४. सन्तोषकुमार पाण्डेय– लोकतान्त्रिक समाजवादी पार्टी – गृहमन्त्री।
५.भण्डारीलाल अहिर – जनता समाजवादी पार्टी – कृषि तथा भूमि व्यवस्थामन्त्री।
६. चन्द्रकेश गुप्ता – जनता समाजवादी पार्टी – सामाजिक विकासमन्त्री।
७.धर्मबहादुर चौधरी – नागरिक उन्मुक्ति पार्टी – भौतिक पूर्वाधार विकासमन्त्री।