नेकपा (एमाले) गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोह सकिएको छ।
अधिवेशन उद्घाटनमा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहे। मौसम खराबीले ओली पोखरा आउन नपाएका हुन्।
पोखरा आउन ओली सोमबार दिनभरजसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बसे पनि पोखरामा पानी परिरहेकाले विमानस्थल अवरुद्ध हुन पुगेको थियो।
अध्यक्ष ओलीलाई पर्खिएर अधिवेशनको उद्घाटन नगरी नेताहरूले भाषण गरिरहेका थिए। ओली नआएपछि आइतबार नै पोखरा आएका महासचिव शंकर पोखरेल प्रमुख अतिथि बनेर उद्घाटन समारोहमा मन्तव्य राखेका थिए।
पोखरेल पनि उद्घाटन समारोहका सबैजसो नेताले भाषण गरिसक्दा मञ्चमा उपस्थित भएनन्। अन्तिम समयमा आएर उनले उद्घाटन मन्तव्य राखेका थिए।
अधिवेसनको उद्घाटन समारोह सकिएसँगै बन्द सत्र सुरू हुँदैछ। पोखरा सभागृहमा आजै बन्द सत्रको तयारी गरेको एमाले गण्डकीका उपसचिव रश्मी आचार्यले बताए।
उनकाअनुसार मंगलबार नेतृत्व चयन प्रक्रिया सुरू हुनेछ। अधिवेशनमा ११ जिल्लाका ८५ वटा पालिकाबाट ९ सय ७ जना प्रतिनिधि सहभागी हुँदैछन्।
एमाले गण्डकीमा हाल ५ सय ५९ सदस्य रहेकोमा अधिवेशनमार्फत १६५ सदस्यीय कमिटी गठन हुने एमाले गण्डकी इन्चार्ज गोकर्ण विष्टले बताए।