नागिना यादव प्रतिनिधि सभा सदस्य हुन्। नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेकी यादव अर्थशास्त्रमा पिचएडी गरिरहेकी छन्।
चौथो प्रयासमा यसपालि सांसद बनेकी हुन् नागिना राजनीतिक परिवारमा हुर्किएकी हुन्।
हजुरबुवा रामचरण यादव पञ्चायत कालमै कांग्रेस भएकाले नागिनालाई सानै उमेरमा कांग्रेसको छाप पर्यो।
महोत्तरीको पोखरभिन्डा संग्रामपुरमा नागिनाका हजरबुवा सक्रिय कांग्रेस थिए। २०३६ सालमा जन्मिएकी नागिनालाई पञ्चायतविरूद्ध भएको आन्दोलनको थोरै याद छ। उनका बुवा जयनारायण यादव पनि कांग्रेसमा सक्रिय थिए।
फरेष्ट्री क्याम्पस हेटौंडामा पढाउने जयनारायण प्राध्यापक संघको इकाइ सभापतिसम्म भएका थिए।
२०५३ सालमा नागिना सोही क्याम्पसमा भर्ना भइन्। उनी नेविसंघमा क्रियाशील भइन् तर सक्रिय राजनीति भने गरिनन्। वन विज्ञानमा उनले स्नातक पढिन्।
२०५७ मा महोत्तरी औरहीका मनोजकुमार यादवसँग उनको विवाह भयो। उनका ससुरा चन्देश्वर यादव पनि कांग्रेसमा सक्रिय थिए। उनी कृषक संघ महोत्तरीको सभापति र कांग्रेसको क्षेत्रीय सभापतिसम्म भए।
विवाह, परिवार, दुई सन्तानसँगै उनले आफ्नो पढाइ र जागिरलाई सँगै अघि बढाइन्। उनले अर्थशास्त्रमा स्नातकोत्तर र एमफिल गरेकी छन्।
‘मैले विद्यार्थी राजनीति नेविसंघबाट सुरू गरे। राजनीति सामाजिक कार्य हो, मैले पनि समाजका लागि केही गर्नुपर्छ भन्ने लाग्थ्यो,’ उनले भनिन्,‘बुवादेखि ससुरासम्म कांग्रेसमै विचार राख्ने भएकाले मलाई सजिलो भयो।’
उनी कांग्रेसको सक्रिय राजनीतिमा लागेकोचाहिँ ससुराको निधनपछि हो।
‘ससुराको मृत्युपछि मेरो समुदायले नै मलाई राजनीतिमा लाग्नुपर्छ भनेको हो। त्यसपछि मैले एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको जागिर छोडर सक्रिय राजनीति सुरू गरें,’ उनले भनिन्।
२०६७ मा भएको कांग्रेसको १२ औं महाधिवेशनमा नागिना महासमिति सदस्य चुनिएकी थिइन्।
२०७० को दोस्रो संविधान सभा र २०७४ को संसदीय निर्वाचनमा नागिनाको नाम कांग्रेसको समानुपातिक सूचीमा थियो। तर उनी सांसद बन्न सकिनन्।
२०७६ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशबाट उम्मेदवार बनेकी उनी झिनो मतले पराजित भइन्।
महिलालाई सक्रिय राजनीति गर्न धेरै अफ्ठ्यारो रहेको नागिनाको अनभुव छ।
‘सक्रिय राजनीतिमा आएपछि खुट्टा तान्न खोज्ने हुने रहेछन्। केही गर्न खोज्नेलाई गर्नै दिँदैनन्। महिलालाई त झनै गाह्रो छ,’ उनले भनिन्, ‘महिला जति पढे लेखेको भए पनि उसको नेतृत्व स्वीकार गर्नै खोजिदैन। पुरूषहरूलाई यस्तो लाग्छ कि महिला कमजोर छन्। बायोलोजिकल्ली महिला केही कमजोर होलान तर मेन्टल्ली महिला कमजोर हुँदैनन्।’
उनको बुझाइमा समाजले महिलाको विचारलाई स्वीकार्न गाह्रो मान्छ। महिलाका सीमितता धेरै हुने भएकाले समेत राजनीति गर्न कठिन हुने उनले बताइन्।
‘हामी महिलाका आफ्ना सीमितता हुन्छन्। हामी कुनै बैठकमा राति अबेरसम्म बस्न सकिँदैन। तर यहाँ त सबै खुराफाती काम राति हुने रहेछ। त्यही बेलामा एकले अर्कालाई उचाल्ने र पछार्ने गरिन्छ,’ उनले भनिन्।
राजनीति गर्ने महिलाका अनेक चुनौती रहेको उनको भोगाइले बताउँछ। मधेसमा त झन् अफ्ठ्यारो छ। मधेसमा महिलालाई घरबाट बाहिर निस्किनसमेत गाह्रो छ। अहिले थोरै भने पनि सुध्रिएको छ।
‘हामी राजनीतिमा जाँदा त धेरै गाह्रो थियो। फलानोको बुहारी फलानोको बुढी त कति लाजै नमानी पुरूषसँग कुरा गर्छे भनेको मैले सुनेको हो,’ उनले भनिन्, ‘एउटा महिला नेता हो भने धेरै पुरूषको बीचमा जानु पर्छ तर यहाँ त उसको चरित्र हत्या गरिन्छ। त्यो म आफैंले भोगेको छु। मेराविरूद्ध कांग्रेसकै नेतासमेत लागेका हुन्। तर मैले यस्ता कुरालाई बेवास्ता गरेको छु।’
बिहे भएपछि उनले घरपरिवारको बलियो साथ पाइन्। त्यसले उनलाई अघि बढ्न सजिलो भयो। बिहेपछि न उनको पढाइ रोकियो न उनले काम गर्न छोड्न पर्यो।
जसले गर्दा उनले अर्थशास्त्रमा एमफिल पास गरिन्। कांग्रेस केन्द्रीय सदस्य र सांसद बन्न सकिन्।
१२ औं महाधिवेशनमा महासमिति सदस्य बनेकी नागिना २०७८ सालमा भएको १४ औं महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य बन्न सफल भइन्।
२०७९ को संसदीय निर्वाचनमा उनले महोत्तरी ४ बाट उम्मेदवार बन्ने प्रयास गरेकी थिइन्। सुरूमा जसपासँग गठबन्धन हुन सक्ने र त्यो क्षेत्र उसैलाई पर्ने भन्दै आफूलाई प्रत्यक्षमा टिकट नदिएर समानुपातिकमा राखिएको नागिनाले बताइन्।
सांसद भएपछि आफ्ना आवाज अझै बलियो बनाउन सकिने उनको बुझाइ छ।
‘जबसम्म ठाउँमा पुगिन्न तबसम्म आफ्नो आवाज उठाउन गाह्रो हुने रहेछ। सांसद भइसकेपछि आफूले बोल्न खोजेका कुरा बोल्न पाइएको छ। सांसदले स्वतन्त्र रूपमा जनताको आवाज बोल्न पाउँछन्। जनताको आवाज र समस्या राख्न पाउँदा सहज भएको छ,’ उनले भनिन्।
सांसद भएर आफ्नो भूमिका आफैंले बनाउनु पर्ने उनको तर्क छ। स्मार्ट सांसद बन्न आफूले प्रयास गरेको र त्यसका लागि धेरै तयारी गर्नुपर्ने उनको भनाइ छ।
‘आफू स्मार्ट सांसद बन्न सक्नुपर्छ। कुनै विषयमा बोल्छु भन्ने लागेको छ भने शून्य समयमा समेत बोल्न सकिन्छ। विधेयकको छलफलमा समेत बोल्न पाइन्छ,’ उनले भनिन्, ‘विषयगत समितिमा जति पनि बोल्न सकिन्छ। संसदमा छोटो समय पाए पनि धेरै कुरा बोल्न सकिन्छ। मैले शून्य समयमा जहिले पनि बोलेको छु। त्यो समयको मैले सधैँ सदुपयोग गरेको छु।’
संविधानले अनिवार्य गरेको ठाउँमा बाहेक महिलालाई अघि बढ्न नदिइएको उनको गुनासो छ।
‘महिलालाई अघि बढाउन समुदाय पनि जागरूक हुनुपर्छ भने पार्टीले पनि महिला नेतालाई हेर्ने दृष्टिकोण फराकिलो बनाउनुपर्छ। पुरूषहरू आफू मिलेर महिलालाई पछाडि पारेका हुन्छन्,’ उनले भनिन्, ‘जब पुरूषले महिलालाई आफ्नो प्रतिस्पर्धी देख्छ त्यसपछि त झनै गाह्रो बनाउँछन्। त्यसैले पार्टीले महिलालाई आरक्षणमा ल्याउँदा सक्षम र क्षमतावानलाई ल्याउनुपर्छ। त्यस्तो भएमा मात्रै महिलाले प्रतिस्पर्धा गर्न सक्छन्।’
संघीय संसदमा ३३ प्रतिशत महिलाको प्रावधान पूरा गर्न दलहरूले समानुपातिक र राष्ट्रिय सभाबाट महिलालाई ल्याउँछन्। दलहरूले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचन लड्ने मौका महिलाहरूलाई निकै कम दिएको उनले बताइन्।
‘उहाँहरूलाई महिलाले जित्दै जित्दैनन् भन्ने लाग्छ। महिलाले टिकट लिएर गएपछि समेत सबै पुरूष मिलेर हराउन लाग्छन्,’ उनले भनिन्,‘यसै पटकको निर्वाचनमा हाम्रै पार्टीको हेर्ने हो भने महिलाले थोरैमात्र टिकट पाएका थिए। तर सक्षम र क्षमतावान् महिलाले टिकट पाएका थिए। चित्रलेखा यादव, महालक्ष्मी उपाध्याय डिना र पुष्पा भुसालजस्ता क्षमतावान् महिलालाई चुनाव हराइयो।’
मंसिरमा भएको निर्वाचनमा सिराहा क्षेत्र नं २ बाट यादव, मकवानपुर क्षेत्र नं १ बाट डिना र अर्घखाँचीबाट भुसाल पराजित भएका थिए।
गठबन्धन भएको बेलामा समेत उनीहरूले निर्वाचन हार्नुमा पार्टीकै असहयोग रहेको उनले दाबी गरिन्। उनीहरूले हारेको नभई हराइएको नागिनाको आरोप छ। महिलालाई नेतृत्वमा स्वीकार्न गाह्रो हुने उनको गुनासो छ।
‘अहिले पनि हेर्ने हो भने पार्टीमा एक जनामात्रै पदाधिकारी महिला छन्। ८ जना सहमहामन्त्रीमा एक जनामात्र महिला, दुई महामन्त्रीमा महिला छैनन्, दुई उपसभापतिमा महिला छैनन्। सभापति त महिला हुने कहिले हो कहिले?,’ उनले भनिन्।
संसदमा समेत प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद छ। समानुपातिक सांसदलाई दया-मायाले बनाइएको जस्तो व्यवहार हुने भएकाले नागिनालाई प्रत्यक्ष निर्वाचन लड्ने चाहना छ।
उनले चाहना त यसपटक पनि राखेकी हुन् तर गठबन्धन एउटा दलसँग हुने भनेर पछि अर्कै दलसँग हुँदा त्यो क्षेत्रमा कांग्रेसका अर्का पुरूष नेताले मौका पाएका थिए।
‘आधा आकाश महिलाले ढाकेका छन् भन्ने तर व्यवहारमा देखिएको छैन। संसदमा प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद छ,’ उनले भनिन्,‘अहिले पनि मन्त्री बनाउँदा प्रत्यक्ष जितेको सांसदलाई बनाइन्छ, समानुपातिकलाई खासै प्राथमिकता दिइँदैन। मलाई प्रत्यक्षमा टिकट दिएको भए हुन्थ्यो भन्ने लाग्छ। मागेको पनि हो तर परिस्थिति अर्कै भइदियो।’
सांसद भएपछि यो पदलाई न्याय गर्न सकेको उनको जिकिर छ। पहिलो पटक सांसद भएकोले सिक्ने सँगै सक्रिय भूमिका खेलेको उनले बताइन्।
संसदीय समितिमा सभापति चयन नभएकाले सोचेअनुसार काम गर्न नसकिएको उनको धारणा छ।
‘अहिले संसदीय समितिहरू सक्रिय नहुँदा अफ्ठ्यारो परेको छ। दलहरूको भागबन्डा नमिल्दा मिनी संसद सक्रिय हुन सकेका छैनन्। त्यसले गर्दा ऐन बनाउनसमेत समस्या परेको छ,’ उनले भनिन्।