नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएलगत्तै तत्कालीन जनमुक्ति सेनाका बटालियन कमिसार रहेका माधव सापकोटा ‘सुवोध’ साढे २ महिना अस्पताल भर्ना हुनुपर्यो।
ललितपुरको बि एण्ड बि अस्पतालमा त्यति लामो समय बस्नुको कारण थियो- शरीरमा लागेका गोलीका छर्राहरू झिक्नु।
२०६३ वैशाख ८ गते सिन्धुपाल्चोकको सदरमुकाम चौतारा आक्रमण गर्नेक्रममा उनी गम्भीर घाइते भए।
२०५५ सालदेखि पूर्णरूपमा भूमिगत भएका सापकोटा साना-ठूला गरी १६ वटा भिडन्तमा सहभागी भएका थिए।
शान्ति प्रक्रिया सुरू हुनासाथ अस्पतालको बास भएकाले लडाकू प्रमाणीकरणमा सहभागी हुने कुरै भएन।
त्यसपछि उनी पार्टी काममा फर्किए। थप क्रियाशील भए।
साढे दुई महिना लामो अस्पताल बसाइका क्रममा ९० भन्दा बढी गोलीका छर्राहरू निकालियो।
केही छर्रा अझै शरीरभित्रै छन्। त्यसले बेलाबखत पीडा नदिने होइन। तर, लामो समय शरीरभित्रै रहेकाले ती पनि उनलाई अंगजस्तै लाग्न थालेका छन्।
सापकोटा अहिले सिन्धुपाल्चोक क्षेत्र नं १ बाट नेकपा (माओवादी केन्द्र)का तर्फबाट निर्वाचित सांसद हुन्।
त्यसो त, उनी शरीरभित्र युद्धको ‘अवशेष’का रूपमा गोली नै बाँकी रहेको बताउँछन्।
‘२०६१ सालको वैशाख २६ गते सिरहाको बन्दिपुरमा भएको भिडन्तमा म गम्भीर घाइते भएँ।त्यो बेलामा मलाई गोली लागेको हो।अहिलेसम्म त्यो गोली लिएर हिँडेको छु,’ उनले भने, ‘देब्रे कोखको मुनिपट्टि गोली छ।’
त्यतिबेला एउटा गोलीले उनको खुट्टा वारपार गरेको थियो।
शरीरमा गोली र छर्रा बोकेर हिँड्न कठिन हुन्छ। कहिलेकाहीँ त असाध्य पीडा दिन्छ।
‘झरी पर्दा, बादल लाग्दा, ठिहीका बेला मात्र होइन, शारीरिकरूपमा कमजोर हुँदा यसले सताउन थाल्छ। धपेडी हुँदा जिउ झमझमाउँछ। असहज महसुस हुन्छ,’ उनले कठिनाइहरू सुनाउँदै भने, ‘चट्याङ पर्दा गोली र छर्रा भएको ठाउँमा झ्यार्र गर्छ। करेन्ट लागेजस्तो भान हुन्छ।’
सापकोटालाई चिकित्सकले बताए अनुसार हड्डी र मासुमा गोली अड्कियो भने निकाल्न मिल्छ। तर, नसामा गएर जोडियो भने त्यहीँ जेलिन्छ। निकाल्दा अरू समस्याहरू देखापर्छन्।
‘मेरो शरीरमा झण्डै सय ओटा छर्राहरू थिए होलान्। मासु र हड्डीमा भएका छर्राहरू त सबै निकालियो। नसामा गएर अडिएकाहरू निकाल्न सकिएको छैन। त्यसलाई चलाउँदा नसा नै काट्नुपर्ने र काटिएको नसा नजोडिने हुँदा शरीरभित्रै रहन गयो,’ उनले भने।
अहिले बेलाबेला एक्स-रे गरेर हेर्ने गरेका छन्। असर गर्न थाल्यो भने विकल्प सोच्ने उनले बताए।
युद्धका दौरानमा उनी धेरैपटक घाइते हुन पुगे। एकपटक कम्मरमा बोकेको बम पड्कियो। त्यसबेला पनि उनी जीवन–मरणको दोसाँधमा पुगेका थिए।
‘लगाएका कपडा सबै जल्यो,’ त्यतिबेलाको घटना सम्झँदै उनले भने, ‘आफूले बोकेको बम जिलेटिन नभएर बारूद मात्रै भएकाले बाँच्न सफल भएँ।’
सशस्त्र संघर्षलाई शान्ति प्रक्रियामार्फत अवतरण गरेको माओवादी केन्द्रका लागि यो संसद् पाँचौं कार्यकाल हो।
उसले चारवटा संसदीय निर्वाचनमा भाग लिइसकेको छ। ४२ वर्षीय सापकोटाको भने यो पहिलो कार्यकाल हो। पहिलो पटकमै उनले आफ्नो उपस्थितिलाई जबरजस्तरूपमा चिनाएका छन्।
आफ्नो पार्टी र पार्टी नेतृत्वको सरकारमाथि प्रहार गर्न खोजिए, निशाना केन्द्रित गरिए उनी तुरून्तै प्रतिवादमा उत्रिन्छन्।
‘मुख्य कुरा खोज-अनुसन्धान र अध्ययन नै रहेछ। विषयवस्तुबारे ज्ञान राख्ने तथ्य-तथ्यांकहरू संकलन गर्ने, ती विषयलाई विज्ञ-विशेषज्ञहरूसँग दोहोरो परामर्श र अन्तरक्रिया गरेर प्रमाणित गर्ने हो भने आफूलाई सहज हुँदो रहेछ,’ उनले सुनाए।
आफ्नो ज्ञानमा निखारता ल्याउने र त्यस आधारमा तर्क र तथ्यांकहरू संसदमा प्रस्तुत गर्दा प्रभावकारितामा बढोत्तरी आउने उनको अनुभव छ।
‘अध्ययन गर्ने, विषयवस्तु खोज गर्ने र अन्तरक्रिया गर्ने तथा तथ्य अन्वेषण गर्ने कुरामा बढ्ता समय खर्च हुने रहेछ,’ उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘तर, हाम्रो संसद तथ्यसंगत बहस गर्ने थलो भन्दा पनि तर्क-वितर्क र तत्काल प्रतिक्रिया जनाइहाल्ने खालको भएको छ।’
जति धेरै खोज-अनुसन्धान गर्न सकियो, संसदमा त्यति प्रभावकारिता बढ्ने उनी बताउँछन्।
त्यसो त, उनलाई संसद ज्ञान आर्जन गर्ने मात्र होइन विषयवस्तुको गहिराइमा पुग्न मद्दत गर्ने थलो पनि भएको पनि छ।
सापकोटा यस्तो ठाउँबाट निर्वाचित भएका हुन्, जुन ठाउँमा उनकै पार्टीका वरिष्ठ नेता र बहालवाला सभामुख अग्नि सापकोटाले तीनपटक निर्वाचन जितेका थिए। त्यती मात्रै होइन, नेपाली कांग्रेससँग गठन्धन गरेकाले त्यो क्षेत्र कसको भागमा पर्ने पनि निश्चित थिएन।
कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेत, जो पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र पनि हुन्। उनको पनि त्यही क्षेत्र भएको र उनले अन्तिमसम्म दाबी नछाडेकाले यसैले पाउँछ भन्ने निश्चित हुने कुरा पनि भएन।
शीर्ष तहमा सहमति भयो। बस्ने क्षेत्र नम्बर दुई जान राजी भए।
क्षेत्र नम्बर १ माओवादी केन्द्रकै भागमा पर्यो।
पार्टीको भागमा क्षेत्र परे पनि टिकट माधवले नै पाउँछन् भन्ने थिएन।
अग्नि सापकोटा सहोदर काका पर्ने भएकाले माधवले उनलाई मनाए। टिकट आफ्नो नाममा ल्याए।
‘म अग्नि सापकोटाको भतिजो हुँदै हो। सँगसँगै उहाँ र मेरोबीचमा कमरेडली सम्बन्धसमेत छ। उहाँ मेरो नेता हो, म उहाँको कार्यकर्ता हुँ,’ उनले भने, ‘अघिल्लोपटक सांसद भएको भए म मन्त्रीसम्म हुन्थें होला। तर, उहाँ सभामुख बन्नुभयो। यसपटक मलाई ठाउँ छाडेर त्यागको सुरूआतसमेत गर्नुभयो।’
उनले यसलाई अमूल्य अवसरकारूपमा बुझेका छन्। सकेसम्म राम्रो काम गर्ने, संसदको भूमिकालाई प्रभावकारी बनाउने, नागरिकसँगको सम्बन्धलाई अझ प्रगाढ बनाएर लैजाने अठोट लिएका छन्।
निर्वाचनमा उनले गठबन्धन मात्र होइन, विपक्षी पार्टीका कार्यकर्ता शुभेच्छुकहरूको समेत भोट पाए। निर्वाचन जित्न सहज भयो।
उनको बुझाएमा निर्वाचनमा जित हान पार्नुको अर्को कारण पनि छ-
त्यसक्षेत्रबाट अग्नि सापकोटाले लगातार चुनाव जिते। माधवले भुइँमा रहेर काम गरिरहे। केन्द्रसम्मको पहुँच र प्रभावका आधारमा उनले संगठनलाई कमजोर हुन दिएनन्। पार्टी काम व्यवस्थित गर्न भूमिका खेलेको उनले बताए।
‘त्यहाँबाट चुनाव जितेर आएपछि अग्नि कमरेडले राष्ट्रको लागि योगदान पुर्याउनुभयो। उहाँकै पहुँच र प्रभावका आधारमा सिन्धुपाल्चोकको विकासका लागि काम गर्न सक्यौं,’ सांसद हुनेको श्रेय अग्नि सापकोटालाई दिँदै उनले भने, ‘मूल कुरा त त्याग गर्ने नेतृत्व हस्तान्तरण गर्नुपर्छ नभनेको भए वरिष्ठताको आधारमा उहाँले पाउनुहुन्थ्यो। मेरो केही लाग्दैनथ्यो।
शान्ति प्रक्रियापछि सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी, जिल्ला अध्यक्ष, क्षेत्रीय इन्चार्ज, जिल्ला सह-इन्चार्ज हुँदै अहिले उनी पार्टीको केन्द्रीय सदस्य छन् । उनी अहिले जिल्ला इन्चार्ज पनि हुन्।
भूमिगतकालीन भन्दा खुला राजनीति झनै चुनौतीपूर्ण बनेको उनले बताए।
‘यसको तनाव फरक छ। युद्धकालमा कि मारिन्थ्यो कि मरिन्थ्यो। त्यो एउटा सहज विकल्प थियो। अहिले भौतिकरूपमा मरिँदैन। तर पटकपटक मरेको अनूभूति हुन्छ,’ उनले भने, ‘युद्धमा साहस र हिम्मत बटुलेपछि धेरै कुरा फत्ते गर्न सकिन्थ्यो। अहिले साहसले मात्र पुग्दैन विवेक र ज्ञानको आयातन उत्तिकै बढाउनुपर्छ।’
२०६४ सालमा पहिलो संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ देशको आधा भूगोल जितेको माओवादी अहिले प्रत्यक्ष र समानुपातिक गरी ३२ सिटमा खुम्चिएको छ।
३२ सिट भए पनि माओवादीकै नेतृत्वमा सरकार छ। सरकारले सुशासनका पक्षमा गरिरहेको कामलाई अझै व्यापक र विस्तारित गर्नसके निर्वाचनमा माओवादीले गठबन्धनको साथ लिन नपर्ने दाबी उनको छ।
सांगठनिकरूपमा समेत माओवादी कमजोर बनेको छ। उसका संगठनहरू चलायमान छैनन्।
‘पार्टीका बैठक नियमित छैनन्। केन्द्रले अभियान तोक्यो भने उत्साह देखिन्छ। तर, आफ्नो आवश्यकताका आधारमा नियमित बैठक भने बस्न सकेका छैनन्। जनताको अपेक्षा र माओवादीका सीमाको बीचमा सन्तुलन हुन नसक्दा हामी कमजोर भएको हो। विनम्रताका साथ जनसंगठनलाई सुदृढ गर्यौं भने हामी सक्छौं,’ उनले अन्तिममा भने।
सबै तस्बिर/नवीनबाबु गुरूङ