राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गरे। नागरिकता नपाएर सडकमा उत्रिएका सयौं युवाका लागि त्यो दिन विशेष बन्यो।
त्यही खुसीयालीमा उनीहरूले काठमाडौं माइतीघर मण्डल लगायत देशभरका विभिन्न ठाउँमा सरकारलाई धन्यवाद दिँदै दीप प्रज्ज्वलन गरे। भोलिपल्टै सरकारले राजपत्र सार्वजनिक गर्यो।
राजपत्र सार्वजनिक भएसँगै जेठ २१ गतेदेखि नयाँ नागरिकता कानुनअनुसार जन्मसिद्ध नागरिकका सन्तान तथा आमाको नामबाट नागरिकता वितरण सुरू भयो। कतिपय जिल्लाले वितरण थाले भने कतिले पूर्वतयारी गर्दै थिए।
त्यही साँझ सर्वोच्च अदालतले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दियो।
नागरिकता बनाउन बिहानैदेखि लाइनमा बसेकाहरू निराश हुँदै घर फर्किन बाध्य भए।
लामो समयदेखि नागरिकता पाउन संर्घष गरिरहेका युवालाई मुखैमा आएको चारो खोसेजस्तो भयो। उनीहरूको खुसी क्षणभरमै बिलाइगयो।
यही पीडा बोकेर केही युवाहरू माइतीघर मण्डलमा फेरि आइपुगेका छन्। नागरिकता नपाएका ती युवाहरू जेठ २४ गतदेखि चौबीसै घन्टा धर्ना बसिरहेका छन्। ६ दिनदेखि राम्ररी खान र निदाउन पाएका छैनन्।
नागरिकता नपाउनुको पिरमा उनीहरूले निद्रा मारेको यो पहिलोपटक होइन।
'हामीहरू त वर्षौंदेखि कयौं रात सुत्नै सकेका छैनौं,' उनीहरू भन्छन्।
उनीहरूमध्ये एक हुन् २५ वर्षीय अमित शर्मा।
अमित विगत सात वर्षदेखि नेपाली नागरिकता पाउने आशमा भौंतारिइरहेका छन्। अहिलेसम्म अनागरिक भएर बस्नुपर्दा उनी आफैंलाई धिक्कार्छन्।
धनुषा औरही गाउँपालिका- ५ का अमितले सिभिल सब-इञ्जिनियरिङ सकेको दुई वर्ष भयो। अहिलेसम्म रोजगारी पाएका छैनन्। नागरिकता नभएकै कारण धेरैपटक हातमा आइसकेको जागिर छोड्नुपरेको उनी बताउँँछन्।
'सीप र योग्यता भए पनि नागरिकता नभएकाले जागिर पाएको छैन,' उनले भने।
उनका हजुरबुबासँग जन्मसिद्ध नागरिकता छ। त्यसको आधारमा उनका बुबाको वंशजको नागरिकता बन्नुपर्ने हो। तर सरकारी कर्मचारीको लापरबाहीले जन्मसिद्ध बनेको उनले बताए।
यो कुरा अमितले २०७३ सालमा एसइई सकेर नागरिकता बनाउन जाँदा थाहा पाए। त्यति बेला दुई-तीन महिनामा कानुन संशोधन भएपछि नागरिकता बन्ने भन्दै फर्काइदिएको उनी बताउँछन्।
'दुई-तीन महिनामा बन्ने भएपछि सिटिइभिटीबाट नाम निकालेर सिभिल सब-इञ्जिनियरिङ पढेँ,' उनले भने, 'त्यति बेला जन्मदर्ताले काम चल्यो। तर स्नातक अध्ययन गर्न पाइनँ।'
स्नातक पढ्ने चाहना भए पनि नागरिकताले छेक्यो। अहिलेसम्म पढे-लेखेको सिप पनि कतै काम लागेन।
'इञ्जिनियरिङ पढे पनि बेरोजगार भएर हिँड्नुपरेको छ,' उनले भने, 'यसको असर पूरै परिवारले भोगिरहेको छ।'
अमितका एक भाइ र एक बहिनी छन्। जेठो छोराले घरको जिम्मेवारी उठाउनुपर्ने हो। तर नागरिकता नहुँदा केही गर्न नसकेको गुनोसो पोख्छन्।
'नागरिकता नभएकैले मेरो परिवार लथालिंग भएको छ,' उनले भने।
नागरिकता हुन्थ्यो भने उनले जागिर खाइसकेका हुन्थे। भाइलाई विदेश पठाउने योजना थियो। बहिनी स्नातक पढिरहेको हुन्थिन्। तर त्यस्तो भएन।
घरको जिम्मेवारी बेहोर्नुपर्ने मान्छे नै निरीह भएपछि अस्तव्यस्त हुने भइहाल्यो।
निराश हुँदै अमितले भने, 'अहिले भाइ लागुऔषध सेवन गर्ने भएको छ। बहिनीले १२ पास गरेर छोडेकी छे।'
नागरिकता नभएकै कारण उनको जीवन पनि स्थिर छैन। समाज र साथीभाइबाट पनि इज्जत नपाएको गुनासो पोख्छन् उनी।
अमितको जस्तै पीडा छ २३ वर्षीय ललितकुमार यादवको पनि। धनुषाको गणेशमान चारनाथ नगरपालिका- ४ का ललित ६ दिनदेखि माइतीघर मण्डलमा बसेर आफ्ना माग राखिरहेका छन्।
उनले चार वर्षअघि नै सिएमए पढाइ सकेका हुन्। अहिलेसम्म लाइसेन्स भने बन्न सकेको छैन।
'पढ्न जन्मदर्ताले काम चल्यो। काम गर्न त लाइसेन्स चाहिन्छ। नागरिकता नभएपछि त्यो पनि बनेन,' ललितले भने।
उनका हजुरबुबा र बुबाको जन्मसिद्ध नागरिकता छ।
'म भने अनागरिक नै भएँ,' उनले दुःख पोखे।
अर्का युवक उत्तमप्रसाद साह पनि नागरिकता नपाएकै कारण भविष्य अन्यौलमा परेको दुखेसो पोख्छन्।
'नागरिकता व्यक्तिको राष्ट्रिय पहिचान हो, त्यही छैन,' उनले भने, 'नागरिकता नहुँदा हरेक सेवा-सुविधाबाट बञ्चित हुनुपरेको छ।'
नागरिकता नभएकाले रोजगारीबाट मात्र होइन। नेपाली नै होइन भन्ने आरोपसमेत झेल्नुपरेको उनी बताउँछन्। उनी पनि जन्मसिद्ध नागरिकका सन्तान हुन्।
संविधानले जन्मसिद्ध नागरिकता लिएकाका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था गरेको छ। तर संविधानबमोजिम कानुन नबन्दा २०६३ सालपछि २०७२ सम्म जन्मसिद्धका आधारमा नागरिकता लिएका एक लाख ३२ हजार ८८ जनाको परिवारका सदस्यहरू नागरिक बन्न नपाएको नागरिकताबिहीन संघर्ष समितिका अध्यक्ष इन्द्रजीत साफी बताउँछन्।
'अहिले न्यायालय तथा केही सासंदहरू यी व्यक्तिहरूलाई नागरिकता दिनु हुँदैन भन्दै बहस गरिरहेका छन्,' उनले भने, 'एक दिन अनागरिक बनेर हेर, अनि बुझ्छौ हाम्रो पीडा!'
नागरिकता गोजीमा बोकेर हिँड्नेले अनागरिक हुनुको पीडा नबुझ्ने उनी बताउँछन्।
शिक्षा-स्वास्थ्यदेखि लिएर जागिर खानसम्म नागरिकता चाहिन्छ। त्यही नहुँदा हजारौं युवाको भविष्य अन्यौलमा छ।
संघर्ष समितिमा झन्डै १० हजार नागरिकताबिहीन युवाहरू जोडिएका छन्। सबै पीडित भने नजोडिएको उनले बताए।
'नागरिकता छैन भन्दा फरक दृष्टिकोणले हेर्ने भएकाले धेरै जना सार्वजनिक रूपमा भन्न आउँदैनन्,' अध्यक्ष साफीले भने, 'नागरिकता नपाउनेमा धेरै मधेशी र दलित छन्।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी