मानव इतिहासमा शताब्दियौंदेखि छोरीभन्दा छोराको चाहना धेरै रहँदै आएको छ।
पितृसत्तात्मक समाजमा केही अघिसम्म पनि बुबाको सम्पत्तिमा छोराको मात्र अधिकार हुन्थ्यो। प्राकृतिक हिसाबले छोरा पाउने कि छोरी भनेर हस्तक्षेप गर्न नमिल्ने हुँदा पहिले छोरा र छोरी झन्डै उस्तै संख्यामा जन्मन्थे। तर आफ्नै सन्तान भए पनि छोरीलाई हेला गर्ने र छोरालाई पुल्पुल्याएर हुर्काउने प्रवृत्ति थियो।
हाम्रै समाजमा छोरालाई राम्रो शिक्षा दिन अंग्रेजी स्कुलमा पढाइन्थ्यो भने छोरीलाई सरकारी स्कुल भर्ना गरिन्थ्यो। कतिले त छोरीलाई 'अर्काको घर जाने' भन्दै स्कुल नै पठाउँदैन थिए। घरकै कामकाज गराएर राख्थे।
बीसौं शताब्दीमा परिवार नियोजन विज्ञान विकास भएपछि पहिले छोरा भए छोरी नपाउने तर छोरी भए छोरा नपाउञ्जेल बच्चा जन्माइरहने चलन संसारभरि नै रह्यो। सन् १९८० दशकमा अल्ट्रासाउन्ड प्रविधिबाट गर्भावस्थामै बच्चाको लिंग पत्ता लगाउन मिल्ने भएपछि त गर्भपतन गरेर धेरै छोरीलाई जन्मनै दिइएन।
सुरूमा विकसित देशहरूमा उपलब्ध यो प्रविधि बिस्तारै विकासशील र अविकसित देशमा पनि उपलब्ध हुन थालेपछि यस्तो अपराध त्यता पनि फैलियो। विश्वमा सबभन्दा धेरै जनसंख्या भएको चीन र भारतमा करोडौं संख्यामा छोरीहरू गर्भपतनका सिकार भए।
गरिब चीनको कम्युनिस्ट सरकारले जनसंख्या नियन्त्रण गर्न सन् १९७९ देखि एक बच्चा मात्र जन्माउन पाउने नीति कडाइसाथ लागू गर्यो। यो नीतिले छोरीको गर्भपतन झन् ठूलो संख्यामा भयो। भारतमा यस्तो सरकारी नीति नभए पनि सामाजिक रूपमै छोरीभन्दा छोराको चाहना धेरै थियो। छोरी भए बिहे गर्दा दाइजो दिनुपर्ने र छोरा भए वंश अघि बढ्ने परम्परागत मान्यताका कारण भारतमा छोरीको गर्भपतन बढ्यो।
यसरी गर्भमै छोरीको हत्या हुन थालेपछि छोराको संख्या धेरै हुन थाल्यो।
प्राकृतिक रूपमा १०० जना छोरी जन्मँदा करिब १०५ जना छोरा जन्मिन्छन् भनिन्छ। हुर्काउने क्रममा छोरीभन्दा छोराको मृत्यु तुलनात्मक धेरै हुने र अझ त्यति बेलाको समाजमा युद्ध धेरै हुने भएकाले ठूलो संख्यामा पुरूषहरूको मृत्यु हुन्थ्यो। त्यही भएर प्रकृतिले नै प्रजननका लागि महिला र पुरूष बराबर होऊन् भनेर यस्तो हिसाब मिलाएको मान्यता थियो।
सन् २००६ मा चीनमा १०० जना छोरी जन्मँदा ११८ छोरा जन्मेका थिए। भारतमा सन् २०१० मा १०० जना छोरी जन्मँदा ११० छोरा जन्मेका थिए।
चीनमा त छोरा हुर्केपछि विवाह गर्न केटी नपाएर समस्या नै भयो। भारतकै कतिपय समुदायमा पनि केटालाई बेहुली पाउन गाह्रो भयो। दक्षिण कोरियामा त यस्तो समस्या केही अघि नै सुरू भइसकेको थियो। त्यहाँ सन् १९९० मा १०० जना छोरी जन्मँदा ११६ जना छोरा जन्मेका थिए।
त्यसै क्रममा जब छोराको चाहनाले छोरीको गर्भपतन गर्ने प्रवृत्ति बढ्यो, समाजमा अरू समस्या पनि देखिन थाले। विवाहका लागि पर्याप्त महिला नहुँदा हिंसा र बलात्कारका घटना बढे।
शिक्षा र चेतना स्तर विकास हुँदै गएपछि विकसित देशहरूमा सन् २००० देखि र विकासशील देशमा पछिल्ला केही वर्षयता छोरीको गर्भपतन दर घट्न थालेको छ। सन् २०२३ मा चीनमा १०० जना छोरी जन्मँदा ११० जना छोरा जन्मेका थिए भने भारतमा १०० जना छोरी जन्मँदा १०७ जना छोरा जन्मेका थिए। दक्षिण कोरियामा त यो प्राकृतिक दरमै आइपुगिसकेको छ। विश्व बैंकका अनुसार नेपालमा पनि सन् २०२३ मा छोरी र छोराको अनुपात झन्डै प्राकृतिक दरकै हाराहारी रह्यो।
पछिल्लो समय हाम्रै समाजमा पनि एक जना मात्र बच्चा छोरी भएका धेरै उदाहरण छन्। नेपाली समाज अझै पितृसत्तात्मक रहे पनि छोरा नहुनुलाई सामान्य मानिन थालेको छ। छोरी भनेको बिहे गरेर अर्काको घर जाने हो, आमाबुबा पाल्ने त छोराले हो भन्ने मान्यता नेपाली समाजबाट पनि बिस्तारै हराउँदै गएको देखिन्छ। बरू छोरी नभएका आमाबुबाले बुढेसकालमा दु:ख पाउँछन् भनेर चर्चा हुन्छ।
यस्तो चर्चा आमाबुबालाई बुढेसकालमा सन्तानले पाल्नुपर्ने नेपाल लगायत एसियाली समाजमा मात्र हुँदैन। आमाबुबा पाल्नुपर्ने सामाजिक दायित्व नभएको विकसित पश्चिमा समाजमा पनि यस्तो चर्चा हुन थालेको भनेर पछिल्लो समय समाचारहरू आएका छन्।
बेलायती पत्रिका 'द इकोनोमिस्ट' ले यो साताको संस्करणमा 'छोरा पाउने इच्छामा अचम्मलाग्दो गिरावट' भनेर खुसी मनाउँदै आवरण कथा नै लेखेको छ।
उक्त पत्रिकाले छोरा पाउने इच्छा छ कि छोरी भनेर विश्वका धेरै देशमा गरेको सर्वेक्षण र गर्भावस्थामै बच्चाको लिंग थाहा भएपछि आमाबुबाले दिएको प्रतिक्रियाका आधारमा उक्त आवरण कथा लेखेको हो। यी दुई आधारमा संसारभरि छोराभन्दा छोरीको चाहना बढ्न थालेको इकोनोमिस्टले जनाएको छ।
उक्त पत्रिकाका अनुसार सन्तान नभएका दम्पतीले अरूको बच्चा अपनाउँदा पनि छोरी नै रोज्ने गरेका छन्। उनीहरू छोराभन्दा छोरीका लागि धेरै पैसा तिर्न तयार हुन्छन्। अमेरिका लगायत पश्चिमा देशमा टेस्टट्युब बेबी (आइभिएफ) जन्माउने क्रममा लिंग छान्ने विकल्प दिँदा छोरी रोज्ने क्रम धेरै देखिएको छ।
यति मात्र होइन, धेरै देशमा पहिलो सन्तान छोरा भयो भने छोरीको चाहनामा अर्को बच्चा जन्माउने, तर पहिलो सन्तान नै छोरी भयो भने अर्को बच्चा नपाउने चलन देखिन थालेको छ। यो केही दशकअघिको अवस्थाभन्दा ठ्याक्कै उल्टो हो।
यति हुँदाहुँदै पहिले जसरी छोरीमाथि भेदभाव गरिन्थ्यो र गर्भमै हत्या गर्ने प्रवृत्ति थियो, छोराका हकमा त्यस्तो छैन। अहिले छोरीको चाहना धेरै हुँदा पनि छोरा हुँदैछ भन्ने थाहा पाएर गर्भपतन गर्ने वा जन्मेपछि हेला गरेको पाइँदैन।
यसरी छोरा र छोरीलाई लिएर संसारभरि नै सोच बदलिनुको कारण के त?
बेलायती पत्रिका 'द इकोनोमिस्ट' ले यसमा शिक्षा र चेतनाको विकासबाहेक केही थप कारण उल्लेख गरेको छ।
पहिलो कारण, पछिल्लो समय संसारभरि छोरीले पनि काम गरेर कमाउन थालेका छन्। समाजमा प्रतिष्ठा आर्जन गरेका छन्। यसले छोरा नै पाउनुपर्छ भन्ने मान्यता अन्त्य गरिदिएको छ।
दोस्रो, संसारभरि र खासगरी पश्चिमा देशमा छोराभन्दा छोरी शिक्षामा अगाडि छन्। हुन त सरकारदेखि हरेक क्षेत्रको नेतृत्वमा पुरूषकै हालिमुहाली छ। तैपनि शिक्षामा छोरीहरू छोराभन्दा धेरै अगाडि छन्। यसले भविष्यमा महिलाहरू आफ्नो क्षेत्रको शिखरमा पुग्ने क्रम अझ बढ्ने छ।
तेस्रो, विश्वभरि अपराध गर्नेमा लगभग सबै पुरूष हुन्छन्। विश्वभरिका जेलमा रहेका कैदीमध्ये ९३ प्रतिशत पुरूष भएको 'द इकोनोमिस्ट' ले जनाएको छ। यस्तोमा छोराको तुलनामा छोरीहरू अपराध गरेर जेल जाने खतरा नहुने र छोराकै हाराहारी कमाउन पनि सक्षम भएकाले छोरीको चाहना बढेको देखिन्छ। कतिपय पश्चिमा देशमा त किशोरहरू शिक्षामा अगाडि बढून् र अपराधमा नलागून् भनेर नीति ल्याउनुपर्नेबारे बहस हुन थालेको छ।
चौथो, छोराको तुलनामा छोरी हुर्काउन तुलनात्मक सजिलो भएकाले पनि कामकाजी दम्पतीमा छोरीको चाहना बढेको मानिन्छ। चीन र भारतजस्ता धेरै जनसंख्या भएका देशमा बिहे गर्न केटीको संख्या पर्याप्त नभएकाले समाजमा जुन खालको विकृति देखिएको छ, त्यसलाई निराकरण गर्न पनि छोरीप्रतिको सोचाइमा परिवर्तन आएको मानिन्छ।
पाँचौं, पछिल्ला वर्ष विश्वभरि नै शक्तिशाली पुरूषहरूले गरेको यौन शोषणका घटना सार्वजनिक भएर 'मिटू' अभियान चलेको थियो। यसले पनि छोराप्रति आकर्षण घटेको मानिन्छ।
छैठौं, महिलाहरू प्राकृतिक रूपमै दयालु र हेरचाह गर्न कुशल हुन्छन्। त्यही भएर बुढेसकालमा छोरीले राम्रो हेरविचार गर्लान् भन्ने लोभले छोरीप्रति आकर्षण बढेको हुनसक्छ। आमाबुबाको हेरचाह गर्नुपर्ने चलन नभएको पश्चिमा समाजमा पनि यसले प्रभाव पारेको देखिन्छ।
जे जस्तो कारणले भए पनि छोरीको गर्भमै हत्या हुन छाड्नु र प्राकृतिक दरमै छोरा र छोरीको जन्म हुनु मानव जातिकै लागि खुसीको कुरा हो।
यो बदलिँदो सोचले आगामी दिनमा छोराभन्दा छोरीको संख्या बढी भयो भने पनि छोराको संख्या धेरै हुँदा समाजमा जस्तो गम्भीर समस्या आउन सक्थ्यो, छोरीहरू धेरै हुँदा त्यो सम्भावना कमै हुन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)